एनआरएनए पोर्चुगलद्धारा थापा र धितालविरुद्धको कार्वाही फुकुवा

एनआरएनए पोर्चुगलद्धारा थापा र धितालविरुद्धको कार्वाही फुकुवा


  • छविलाल बगाले, यूरोप

गैह्र आवासीय नेपाली संघ पोर्चुगलले कार्यसमितिका दुईजना पदाधिकारीविरुद्धको कार्वाही फुकुवा गरेको छ । बिहीबार बसेको संघको बैठकले बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र कार्यसमिति सदस्य सबिन धिताललाई लगाइएको एक महिने मौन अवधि फुकुवा गरेको हो ।

संघका बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र कार्यसमिति सदस्य सबिन धितालबीचको असमझदारी एवं भनाभनपछिको परिस्थितीले एनआरएनए पोर्चुगल अनिर्णयको बन्दी भएको र नियमित काम कारबाहीमा समेत समस्या पैदा भएको बैठ्कले निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए । संघले शनिबार एक विज्ञप्ति प्रकाशित गरी अबदेखि संघको मर्यादा र गरिमा ख्याल गर्दै संघको नीतिसंग मेल नखाने क्रियाकलाप नगर्न, संयमता अपनाउन, कमजोरी सच्याउन सचेत गराएको छ । यस्तै सम्बधित व्यक्तिहरुले गहनरूपमा मनन गरी गल्ती कमजोरी नगर्ने र हुन नदिने प्रतिवद्दता गरेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘बैठकले बहुमतबाट दुवै जनालाई संघको सबै गतिविधिमा पूर्ण सहभागी र सक्रिय हुन सक्ने निर्णय गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । यो संगै थापा र धिताललाई एक महिनासम्म लगाइएको सबै प्रतिबन्ध फुकुवा भएको संघका अध्यक्ष तिलक गैह्रेले जानकारी दिएका छन् । संघले घटनाबारे छानविन गर्न एनआरएनए पोर्चुगलका आइसिसी सदस्य तथा पूर्व अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष थापाले यसअघि भएको असमझदारीलाई बिर्सिएर आफूहरु एकसाथ अघि बढ्ने प्रतिवद्दता गरेका छन् । उनले समितिले गरेको जस्तोसुकै निर्णय मान्न र विपद्का बेला एक भएर अघि बढ्न आफू तयार भएको बताएका छन् । उता, कार्यसमिति सदस्य धितालले भने संघको निर्णय र जारी विज्ञप्तिमाथि असहमति राखेका छन् । उनले आफूलाई समितिले न्याय नदिएको गुनासो गरेका छन् ।