स्वास्थ्य उपकरण खरिदसम्बन्धमा भ्रम फैलाइएको भन्दै स्वास्थ्य मन्त्रालयको गुनासो

स्वास्थ्य उपकरण खरिदसम्बन्धमा भ्रम फैलाइएको भन्दै स्वास्थ्य मन्त्रालयको गुनासो


कोरोना भाइरसको सम्भावित संक्रमणको त्रासले पैदा गरेको असहज माहोलबीच स्वास्थ्य उपकरण खरिदमा स्वास्थ्य मन्त्रालय तथा सम्बद्ध निकायले अनियमितता गर्न लागेको भन्ने आरोप लगाई केही मिडियाद्वारा सम्प्रेषित समाचारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति प्रकट गरेको छ ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक÷वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक÷वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक–पटक बोलपत्र आह्वान गर्दासमेत कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता गरेर उक्त सामग्री चीनबाट ल्याउन लागिएको जानकारी दिएका हुन् ।

सामग्री ल्याउनका लागि शनिबार नै नेपाल वायुसेवा निगमको जहाज चीन प्रस्थान गरेको छ भने राति १ बजे जहाजले सामग्री नेपाल ल्याउने बताइएको छ ।

प्रवक्ता देवकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय शुरुदेखि नै क्रियाशील रहेको उल्लेख गर्दै सामग्री ल्याउने विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेको भनी दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित÷पोष्ट भइरहेको परिप्रेक्ष्यमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्रीहरु मात्र प्रचारप्रसार गर्न सबैमा अनुरोध छ ।’

संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च बनाउन र जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन सञ्चारमाध्यमलाई सोही विज्ञप्तिमार्फत् उनले अनुरोध गरेका छन् ।