रौतहटमा बालिका बलात्कृत

रौतहटमा बालिका बलात्कृत


■ आरके श्रीवास्तव, रौतहट

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको एकहप्ते लकडाउनको अवधिमै रौतहटमा एक बालिका बलात्कृत भएकी छिन् ।

स्थानीय कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एकजना १७ वर्षीया बालिकालाई २८ वर्षीय पुरुषले बलात्कार गरेका हुन् ।

स्थानिय भाग्यनारायण साहले दुई दिनअघि घरका अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी आफ्नै छिमेकीको छोरीलाई केही काम छ भनी घरमा बोलाइ दिउँसै ढोका थुनेर बलात्कार गरेका थिए ।

बलात्कार गरेको भिडिओ बनाएर घटनाबारे कसैलाई भनेमा भिडिओ सामाजिक सञ्जालमा राख्ने भन्दै आरोपीले पटक पटक धम्की दिएको पनि खुलासा भएको छ ।

पीडितले घटनाबारे बाबुआमालाई बताएपछि घटना प्रकाशमा आएको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले भाग्यनारायण साहमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भएको र भिडिओबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको घटनाबारे पीडितले आफ्ना अभिभावकलाई जानकारी दिएलगत्तै आरोपी फरार भएका थिए ।

यसैबीच स्थानीय महिलानेतृ बबिता चौधरीले आरोपी साहमाथि कडा कारवाही हुनुपर्ने र पीडितले क्षतीपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।