‘लकडाउन’मा यात्रु तस्करी !

‘लकडाउन’मा यात्रु तस्करी !


■ विकास रौनियार, गजुरी (धादिङ)

इलाका प्रहरी कार्यालय गजुरीका सुरक्षाकर्मीहरु शुक्रबार (१४ चैत) राति १० बजे मालवाहक ट्रक चेकजाँच गर्ने क्रममा छक्कै परे । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीबजारमा नियन्त्रणमा लिइएका ट्रकमा के सामान लोड भएको रहेछ त भनी जाँच गर्दा ट्रकमा त्रिपालले ढाकेर ओसारिँदै गरेका दुई सय मानिस फेला परेपछि सुरक्षाकर्मी नै आश्चर्यचकित बनेका हुन् ।

लकडाउन अवज्ञा गर्दै यसरी यात्रु तस्करी गर्ने नौ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती सबै यात्रु बोकेर काठमाडौंबाट वीरगञ्जततर्फ जाँदै गरेका खुलासा भएको प्रहरीले जनाएको छ ।

समातिएका ट्रक र सबै यात्रुलाई काठमाडौंतर्फ फर्काइएको बताइएको छ ।

लकडाउनका कारण यतिबेला हाई वेमा सवारी साधन ठप्प छ । पैदल हिँड्नसमेत कडाइ गरिएको अवस्थामा रातको मौका पारेर ट्रकचालकले यसरी सुरक्षाकर्मीको आँखा छल्दै चर्को भाडा असुलेर यात्रुहरु ओसारिरहेका खुलेको छ ।

ट्रकमा फेलापरेका यात्रुहरुले काठमाडौंमा खानासमेत खान नपाई नाजुक अवस्था भएकोले चर्को भाडा तिरेर भए पनि काठमाडौं छोड्न बाध्य भएर घरतिर हिँडेको प्रतिक्रिया दिए ।

अन्य सवारी साधन ठप्प भएपछि शुक्रबार राति पृथ्वी राजमार्गमा सय भन्दा बढी मालवाहक ट्रक आवतजावत गरेका थिए ।