झुलाघाटमा अलपत्र नेपालीको उद्धार

झुलाघाटमा अलपत्र नेपालीको उद्धार


बैतडीसंँग सीमा जोडिएको भारतको झुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । लकडाउनछि गत मंगलबारदेखि सीमानाका झुलाघाटमा अलपत्र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकको शुक्रबार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उद्धार गरिनेमा बैतडीका विभिन्न स्थानीय तहका साथै बझाङ र डडेल्धुराका नागरिक छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको उनले बताए ।

यसअघि शुक्रबार (१४ चैत) झुलाघाटमा अलपत्र नेपाली नागरिकको उद्धार भएन भन्ने शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भएको थियो । सोही समाचारपछि जिल्ला प्रशासन कार्यालय बैतडीले अलपत्र नागरिकको उद्धारका लागि पहल गरेको हो ।

भारतको पिथौरागढका डिएमलाई अनुरोध गरेपछि अलपत्र नेपालीको उद्धार भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उद्धार गरिएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

यसैबीच जिल्लाका १० वटै स्थानीय तहमा गरि ४५४ शय्याका क्वारेन्टाइन स्थापना गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्थानीय तहहरुले क्वारेन्टाइन बनाएर भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई बस्न भन पनि क्वारेन्टाइनमा बस्न नमानेको पाइएको छ ।

बैतडी जिल्लाभरि हालसम दुई शिशुसहित ५८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका चार स्थानीय तहमा एक जना पनि क्वारेन्टाइनमा नबसेको देखिएको छ । चेतनाको कमीले क्वारेन्टाइनमा बस्न नमानेको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीलाई उद्धृत गर्दै राससले जनाएको छ ।