‘प्रलय प्रारम्भ’

‘प्रलय प्रारम्भ’


■ देवप्रकाश त्रिपाठी

पृथ्वीको अवान्छित तापमानलाई नियन्त्रण गर्न सार्थक प्रयास भएको दशकौँ नाघिसकेको थियो । कम्तीमा आधा शताब्दीअघिदेखि नै मानिसले बढ्दो तापमानको बारेमा चिन्ता जाहेर गर्दै आएका थिए । विनास आफैंमा एउटा कुरुप सिर्जना हो भने यसले धर्तीमा आफ्नो सम्पूर्ण ‘सामर्थ्य’ दर्शाउन थालिसकेको थियो ।

वातावरणीय परिवर्तनको सबभन्दा सुक्ष्म रूप त्रासदीपूर्ण प्रतिक्रिया हरित संसारले दर्शाएको थियो । बाली नउम्रिने, उम्रिए पनि बढ्न नसक्ने, बढिहाले पनि बाली नलाग्ने र बाली लागे पनि अत्यन्त कम मात्र । पूलका बिरुवाहरूमा नियमित फूल नफुल्ने, फुले पनि पहिलेझैँ बोटमा लामो समयसम्म नबस्ने !

फलहरूमध्ये स्याउ फल्नै छोडेको, आँपका बोटमा लटरम्म फल लागे पनि नपाक्दै ओइलिएर झर्ने गरेको, केराको बोटमा केरा निस्कने तर कलिलैमा कुहिएर झर्ने, नासपातीमा फूल फुल्ने तर फल नलाग्ने, अङ्गुरका लहरा फल नलागिकनै सुक्ने, भुइँकटहर, कटहर, लिचीजस्ता फलका बोटमा फल लाग्ने तर नपाक्दै ओइलाएर झर्ने, काँक्राका बोटमा फूलसम्म पनि नफुल्ने, सुन्तलाका बिरुवाहरू बढ्दै नबढ्ने, दुई–तीन फिटसम्मको उचाईमा पुगेर वृद्धि रोकिने, फूल फुल्ने र फल पनि लाग्ने, सानो कागती आकारमा सुन्तला फल्ने तर स्वाद पनि कागतीकै जस्तो, निबुवा र कागतीका बोटहरू पहिलेभन्दा खिइएका, तिनमा फल लागे पनि ज्यादै कम । खरबुजो जस्ता फलहरू पहिलेको भन्दा बढि फल्ने तर नपाक्दै ओइलिने र कुहिने । मकैका बोटहरूमा घोगा लाग्ने तर दाना नलाग्ने, धानका बोटहरूमा बाला नै पैदा नहुने, भए पनि चामल नलाग्ने केवल भुस मात्र !

जंगलका ठूला–ठूला रूखका पातहरूमा हरियोपन घट्दो र पँहेलोपन बढ्दो थियो । वनस्पतिविद्हरूका अनुसार रूखका जरामा पानी सोस्न सक्ने क्षमता कम हुँदै गएको थियो । त्यसो त धर्तीको भित्री सतहमै पानीको मात्रा कम भएपछि रूखहरू जीवीत नरहने परिस्थिति सिर्जना हुनु स्वाभाविक थियो ।

समय–समयमा आँधी चल्दथ्यो, रूखहरू ढल्थे, मानिसका घरहरूमा समेत क्षति पुग्दथ्यो । आकाशमा बादल देखिँदैनथ्यो, धुलाका कणले आकाश ढाक्दा दिउँसो पनि उज्यालो देख्न पाइँदैनथ्यो । हिउँदमा हिउँ पर्दैनथ्यो, परे पनि तुरुन्त पग्लिएर जान्थ्यो । हिमालहरू पूरै नाङ्गिएका थिए, काला अस्थिपञ्जर जस्तो बनेको थियो हिमाली पहाड ।

पहाडहरूमा बस्ती रित्तिएका थिए– पानीको समस्याका कारण नदी, ताल र सागर किनारका वासिन्दाहरू पनि ब्याकुल बनेका थिए । पिउनयोग्य पानीको अभावमा सिङ्गो पृथ्वीग्रह एउटा सुख्खा पिण्डमा रुपान्तरित हुँदैछ कि भन्ने भान हुन्थ्यो । मानिसले पहिले स्थापना गरेका सांस्कृतिक परम्परा अब किताबका पानाहरूमा मात्र सीमित हुँदै गएका थिए । सन्तान जन्माउने चाहना मानिसहरूमा घट्दै गएको थियो । केही अति विपन्न र अशिक्षितहरूले मात्र बच्चा जन्माउने गरेका थिए । विवाहप्रति मानिसहरूको आकर्षण घटेको थियो । युवा–युवतीहरू क्षणिक मनोरञ्जन लिएर खुशी प्राप्त गर्न उत्सुक हुने गर्दथे ।

पृथ्वीमाथिको आकाश ठाउँ–ठाउँमा च्यातिएर सूर्यका विकृत किरणहरू पोखिएका कारण मानिसमा छालाको क्यान्सर, दृष्टिहरण र मस्तिष्कसम्बन्धी रोगको प्रकोप बढेको थियो । पृथ्वीको वातावरण असन्तुलित र अनपेक्षित थियो । कतिबेला तातो हावा बग्ने र कतिबेला कम्पन पैदा गराउने चिसोले अँठ्याउने हो त्यसको निश्चितता थिएन । केही कालअघि असमयमा आएको भीषण बाढीले लाखौँको ज्यान लिएको थियो भने कतिपय स्थानमा नामले गृष्म या वर्षा भनिने ऋतुहरूमा पानीको थोपै नचुहिएको पनि कैयन वर्ष भइसकेको थियो ।

कतै महाभूकम्पको निरन्तर धक्का, कतै सुनामी, अतिवृष्टि र अनावृष्टि, कहीँ भीषण आँधीबेहरी र कतै सुख्खा पहिरो, ज्वालामुखी विष्फोटन, नयाँ–नयाँ भयङ्कर डरलाग्दा रोगहरूको प्रादुर्भाव, खाद्यान्न सङ्कट, लाखौँको मृत्यु, शवदहनको समस्या, मानिस र अन्य जीवजन्तुका शवहरूको दुर्गन्धले बाँकी प्राणीहरूलाई पारेको प्रभाव ! संसारभरिका सञ्चारमाध्यमको समाचार सामग्री केही वर्षदेखि यिनै विषयहरूमा केन्द्रित थिए ।

मृत्युसँग युद्ध लड्न विज्ञानले गरेका अनेक प्रयासहरू पनि असफल हुँदै गइरहेका थिए । त्यसैले सिङ्गै पृथ्वी एउटा मृत्युपिण्डमा रुपान्तरित हुँदै गएको महसुस बाँचेकाहरूले गर्न थालेका थिए ।

हरेक मानिसभित्र जिजीविषा यसरी हाबी हुँदै थियो कि मृत्यूसँगको यो लडाइँमा पूर्वस्थापित सबै मूल्य र मान्यता विस्मृतिमा गएका थिए । राष्ट्र, राजनीति, सिद्धान्त र दर्शनजस्ता विषयहरू विध्वंश र विनासले हैरान मानिसहरूका लागि तुच्छ भएका थिए । केवल बाँच्नु उनीहरूको लागि एक मात्र उदेकलाग्दो अभीष्ट हुँदै थियो ।

विगत एक दशकदेखि प्रकृतिले हानेको विध्वंशकारी थप्पडले मानिस र उभयचरहरूको सङ्ख्यामा निकै ठूलो ह्रास ल्याइसकेको थियो । यस्तै स्थिति अर्को एक दशकसम्म रह्यो भने पृथ्वी प्राणीविहीन ग्रह बन्ने अनुमान वैज्ञानिकहरूले गरिरहेका बेला अस्वाभाविक किसिमबाट भइरहेको थप तापक्रम वृद्धिको कारण पत्ता लगाउन वैज्ञानिकहरूबाट निर्णायक प्रयास पनि भएको हो । तर, अस्वाभाविक तापक्रमकै कारण कतिपय वैज्ञानिक उपकरणहरूले समेत राम्ररी काम गर्न छाडे । त्यसैले प्रकृतिका सामु आत्मसमर्पण गर्नु वैज्ञानिकहरूका लागि पनि बाध्यता बन्दै गरेको थियो । (क्रमशः)

(वरिष्ठ पत्रकार, विश्लेषक एवम् लेखक देवप्रकाश त्रिपाठीको सात वर्षअघि प्रकाशित उपन्यास ‘प्रलय प्रारम्भ’को एक अंश । प्रकृतिमाथि मानिसले गर्दै आएको ज्यादति, अनुचित दोहन एवम् लापर्वाहीका कारण विश्व–वातावरणमा देखिन थालेको अस्वाभाविक परिवर्तन, विभिन्न रूप र तहका प्रलय–महाप्रलय एवम् यसबाट पृथ्वीको अस्तित्वमाथि मडारिएको खतरालाई मूल विषय बनाएर कल्पना गरिएको यस उपन्यासका बाँकी भाग श्रृङ्खलाबद्ध रूपमा प्रकाशित गरिने छ । सं.)