छिमेकी युवकबाट बालिका बलात्कृत

छिमेकी युवकबाट बालिका बलात्कृत


■ एस. क्षेत्री, कपिलवस्तु

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४ ठुलो गौरामा बिहीबार (१३ चैत) राति १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई छिमकी एक युवाले जबर्जस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।

बिहीबार राति आफ्नै घरको अघिल्तिर धारामा पानी भर्ने क्रममा छिमेकी २५ वर्षीय एजाज मुसलमानले आफ्नो छोरीलाई मुख छोपेर घरमा लगी बलात्कार गरेको पीडितकी आमाले आरोप लगाइन्।

पीडित बालिकालाई उपचारको लागि तौलिहवा अस्पताल लगिएको छ। बलात्कारको आरोप लागेका मुसालमान फरार रहेको प्रहरीले जनाएको छ। पीडित बालिकाको घरमा आमा मात्र रहेको, बाबु रोजगारीको क्रममा भारतमा भएका बुझिएको छ ।

प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बालिका बलात्कृत भएको विषयमा जानकारी आएको बताउँदै पीडित बालिकाको परिवार र गाउँलेहरु प्रहरी कार्यालयमा आएको उल्लेख गरे ।

बलात्कृत बालिकाको घाउ जाँच तथा उपचार भइरहेको छ । उपचारपछि घटना दर्ता प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक मल्लले घटनामा आरोपी युवा फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।