कोरोनाप्रभावित युवती अपमानित तुल्याउनेलाई ‘साइबर क्राइम’

कोरोनाप्रभावित युवती अपमानित तुल्याउनेलाई ‘साइबर क्राइम’


कोरना भाइरसको सङ्क्रमण देखिएकी युवतीविरुद्ध सामाजिक सञ्जालमार्फत अपमानजनक र आपत्तिपूर्ण कुराहरू लेख्नेलाई साइबर क्राइमअन्तर्गत कार्वाही गरियोस् भनी नेपाल प्रहरीमा निवेदन परेको छ । उक्त उजुरी–निवेदन सिर्जना सिंह योञ्जन, रानी झा, रक्षा दाहाल र कन्चन लामाले इमेलमार्फत दायर गरेका हुन् ।

यही चैत्र १२ गते नेपाल प्रहरीको साइबर क्राइम ब्रान्चमा परेको निवेदनमा भनिएको छ– ‘हामी सचेत नागरिकका हैसियतले यो निवेदनमार्फत सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएका केही अति नै आपत्तिजनक सार्वजनिक कमेन्टप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ । एक नेपाली युवतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि विभिन्न व्यक्तिका जथाभावी र पत्यारै लाग्न नसक्ने प्रतिक्रियाहरू देखेर हामीलाई सहन गाह्रो भएको छ । हाल विश्व नै एक भयानक महामारीबाट गुज्रिरहेको बेला विभिन्न देशका नागरिक एकजुट भई एकअर्कामा ढाडस बाँडिरहेका बेला एक नेपालीलाई नेपालीले नै यस्तो प्रकारको नीच व्यवहार गरेको देख्दा हामीलाई आफ्नो शीर लाजले झुकाउनु परेको भान भएको छ ।’

आवेदकहरूले उजुरी-निवेदनसँगै सामाजिक सञ्जालमा ती महिलालाई लिएर गरिएका आपत्तिजनक प्रतिक्रियाहरू पनि समावेश गरेका छन् ।

निवेदन परेपछि नेपाल प्रहरीको साइबर क्राइम ब्रान्चले यो विषयलाई गम्भीरतापूर्वक लिएको बुझिएको छ ।

घटना र विचारसँग कुरा गर्दै निवेदकमध्येकी सिर्जना सिंह योञ्जनले भनिन्– ‘हामी महिलाअधिकारवादीहरूबाट उजुरी परोस् भन्ने चाहन्थ्यौँ, तर कसैले पनि उजुरी गरेको पाइएन । त्यति धेरै अपमानका शब्द प्रयोग हुँदा पनि चुपचाप बस्न स्वाभिमानले दिएन, त्यसैले उजुरी दायर गरेका हौँ ।’

कुनै विषय आउँदा महिलालाई दोष थुपार्ने प्रवृत्ति हामीकहाँ नयाँ नभएको भन्दै योञ्जनले अगाडि भनिन्– ‘यस्तो आपतको बेला उनको नैतिक साहसलाई बढाउनुपर्नेमा उल्टै जथाभावी लेखेर यसरी बेइज्जती गरिएको छ, मानौँ उनले जानी–जानी रोग लिएर आएकी हुन् ।’

भविष्यमा यस प्रकारका शब्दहरू सामाजिक सन्जालमा प्रयोग गर्न कसैले पनि हिम्मत नगरुन् भनेर पनि दोषीको पहिचान गरी कार्वाही गर्न आवश्यक रहेको उनको भनाई छ । ती आपत्तिजनक शब्दहरूमा कतिपय पुरुषले पनि खेद ब्यक्त गरेका जानकारी गराउँदै योञ्जनले भनिन्– ‘हाम्रो निवेदनलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक लिएर कार्वाही अगाडी बढाउने छ भन्ने मैले विश्वास लिएकी छु ।’