कोरोनाबाट बच्न र बचाउन कार्यकर्तालाई अध्यक्षद्वयको निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश (सर्कुलर) गरेको छ ।



अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । पार्टीले अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय सङ्गठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने र लकडाउनको पालना गरी स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुने भनी निर्देशन दिएको छ ।

सर्कुलरमा हवाई वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइशोलेसन वा क्वारेन्टाइनमा रहन प्रेरित गरी त्यस्ता व्यक्तिको लगत सङ्कलनमा सघाइ नजिको स्वास्थ्य चौकीलाई सूचीत र स्थानीय तहमा आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणमा सहयोग गर्न भनिएको छ ।

प्रतिक्रिया