विश्व-महाशक्ति सन्तुलन एसियातर्फ मोडिन सक्ने संकेत !

विश्व-महाशक्ति सन्तुलन एसियातर्फ मोडिन सक्ने संकेत !


■ राजेन्द्रप्रसाद पाठक

सन् ‘९० को दशकअगाडि विश्वको राजनीतिक शक्ति सन्तुलन दुई ध्रुवमा बाँडिएको थियो । त्यसभन्दा अगाडिको हिसाब गर्ने हो भने रोमन साम्राज्य, फ्रेन्च साम्राज्य, वबलायती उपनिवेश कालका बारेमा व्याख्या–विश्लेषण गरिरहनु नपर्ला ।

शीतयुद्धकालीन अवस्थामा अमेरिकन र रसियन ध्रुवमा विश्वका सबैजसो देशहरू विभाजित थिए । जब रुसको शासन व्यावस्थामा मिखाइल गोर्भाचोभको उदय भयो, त्यसपछि तात्कालीन युएसएसआर भनेर चिनिने रुसी गणराज्य पन्ध्र टुक्रामा विभाजित भएसँगसँगै रुसी शक्तिमा प्रश्नचिह्न खडा भयो । त्यसपछाडि विश्व राजनीतिमा महाशक्तिको रूपमा अमेरिकी एकलौटीपन देखापऱ्यो । आजसम्म त्यो यथाअवस्थामै छ ।

दोश्रो विश्वयुद्धपश्चात प्राप्त शक्तिको सदुपयोग गर्दै अमेरिका आजसम्म उभिएको छ भने रसियाले त्यो गुमाइसकेको भन्न सकिन्छ । विश्वमा देखापरेको भोकमरी र रोगव्याधिको महामारीले पनि विश्व राजनीतिक शक्ति सन्तुलनमा फेरबदल ल्याउने गरेको इतिहास छ । यस्ता प्रकारका सामाजिक र मानवीय संकटले यथास्थितिवादी शासक समुदायलाई बचेखुचेका जनताले निकम्मा ठान्ने गर्दछन् । महामारीको बेला जनतामा देखाउन नसकेको सदासयता र निकम्मापनले शासक वर्गप्रति जनताको आस्था र विश्वास हराउने कारण त्यसपछिको राजनीतिक परिवर्तन समेतको लगाम त्यस्ता शासकहरूले गुमाउने सम्भावना प्रवल रहने गर्दछ ।

कोरोनाको सङ्क्रमणले धनी र सम्पन्नशाली देशलार्ई नै बढी टार्गेट गरेको देखिँदैछ । जतिसुकै सक्षम र सम्पन्न देखिएता पनि प्रकृतिको अगाडि झनै कमजोर सावित हुँदैछन् ती देशहरू ।

हालै देखापरेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट एक–दुई राष्ट्रबाहेक संसारका सबैजसो देश संक्रमित भैसकेका छन् । सर्वप्रथम एसियाको चीनबाट शुरु भएको महामारी आज युरोप र अमेरिकी देशहरूमा केन्द्रविन्दु तय गर्दैछ । दृढ आत्मविश्वास र निरन्तरको प्रयास साथै कडा अनुशासनसहितको शासन व्यावस्था भएकाले पनि होला चीन त्यसमा लगाम लगाउन सक्षम भएको छ । तर, सोही रोग संमृद्ध युरोप र अमेरिकासम्म फैलँदा युरोपेली देशहरूले केहीले हात उठाइसके र केहीले उठाउन बाँकी मात्र छ भन्दा फरक नपर्ला ।

शक्ति सम्पन्न समृद्ध देश इटालीले पकडभन्दा बाहिर गएको स्विकारेको छ । उता एसियन देशहरू समेत संक्रमित भएका छन् तर युरोपेली देशहरूको तुलनामा चीन, दक्षिण कोरिया, जापान सिंगापुर, थाइलैण्ड, भारत आदिले यसलाई तुलनात्मक रूपले पकडमा राख्न सकेका छन् । संक्रमित हुने र मृत्यु हुनेको दर वा संख्यामा समेत एसियाली देशमा कमी देखिनुले यसबाट हुन आउने आगामी असर भनेको राजनीतिक शक्ति सन्तुलन नै हो भन्न सकिन्छ ।

अमेरिकी र युरोपेली देशमा युवा उत्पादकत्व एकदमै कम मात्रामा छ । तिनै एसियाली देशका बेरोजगारीका कारण भड्किएका युवा जनशक्तिको भरमा ती देशहरूले विकास र शक्ति सम्पन्नता प्रदर्शन गरेर गरिव देशका ‘स्कील’ जनशक्तिलार्ई आकर्षण गर्दै आएको थियो । कोरोनाको सङ्क्रमणले धनी र सम्पन्नशाली देशलार्ई नै बढी टार्गेट गरेको देखिँदैछ । जतिसुकै सक्षम र सम्पन्न देखिएता पनि प्रकृतिको अगाडि झनै कमजोर सावित हुँदैछन् ती देशहरू । यसैकारण पनि आगामी पुस्ताको आकर्षण त्यतातिर नहुन पनि सक्छ । साथै रोगको सङ्क्रमण पछाडि आउने आर्थिक सङ्कटका कारण आकर्षित जनशक्ति पलायन हुनसक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

पूर्वीय संस्कारमा एउटा अनुशासन र दूरी कायम गरिन्छ । खानपान र अन्य चालचलनसमेत नितान्त फरक छन् । यहाँको यस्तो प्रकारको ब्यवहारले समेत जुनसुकै सरुवा रोगहरू छिटो–छिटो सङ्क्रमित हुँदैनन् ।

हाल एसियाली देशहरूले देखाएको प्रतिबद्धता र उत्साहले पलायन युवा जनशक्तिलार्ई स्वदेशतर्फ आकर्षित गर्न सक्यो भने उनीहरूसँग रहेको क्षमता र श्रोतसाधन समेत साथै फर्कनेछ । त्यति मात्रै नभई पश्चिमा छाडा संस्कारका कारण पनि कोरोनाको महामारीको पक्षपोषण गरेको छ । एकअर्कामा भेट्नासाथ हात मिलाउने, गला मिलाउने चुम्बन गर्ने अँगालो हाल्ने जस्ता संस्कारले एड्स इवोला जस्ता अन्य सरुवा रोगहरू समेत छिटोछिटो सङ्क्रमण हुने गरेको छ ।

पूर्वीय संस्कारमा एउटा अनुशासन र दूरी कायम गरिन्छ । खानपान र अन्य चालचलनसमेत नितान्त फरक छन् । यहाँको यस्तो प्रकारको ब्यवहारले समेत जुनसुकै सरुवा रोगहरू छिटो–छिटो सङ्क्रमित हुँदैनन् । चीन, कोरिया, जापानले जस्तै भारतले समेत रोगमाथि लगाम लिन सक्यो भने आगामी विश्व राजनीतिक र आर्थिक विश्व महाशक्ति परिवर्तन भएर एसियातर्फ मोडिन सक्ने संकेत देखापर्दैछ ।

जसरी आज चीनले संसारभरिका देशहरूलार्ई आवश्यकताअनुरुप सहयोग दिन सक्ने घोषणा गरेको छ, त्यसैगरी जापान, सिंगापुर, थाइलैण्ड, दक्षिण कोरियालगायत भारतलेसमेत यस्तो घोषणा गर्न सक्ने सम्भाव्यता बढ्दै गर्दा आगामी विश्व राजनीतिक परिवेश बदलिएर फेरि एसियातर्फ मोडिने सम्भावना प्रवल देखिँदै छ । सबैको कल्याण होस् ।