डर-त्रास नराखी ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह

डर-त्रास नराखी ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह


सरकारले घोषणा गरेको कोरोना कोषमा संघीय प्रतिनिधिसभा सदस्य भुमिप्रसाद त्रिपाठीले आर्थिक सहयोग गर्ने भएका छन् । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सासंद् त्रिपाठीले सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तयारी रहनु आवश्यक रहेको बताउँदै सांसद् त्रिपाठीले कोरोना भाइरसको संक्रमणबाट आतंकित नभई सावधानी अपनाउन धादिङबासीलगायत सबैलाई आग्रह गर्नुभएको छ । उहाँले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाइनमा बस्न समेत आग्रह गर्नुभएको छ ।

मन्त्रिपरिषदको गत आइतबारको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोष बनाउने निर्णय गर्दै कोषमा सहयोग गर्न सबैमा आग्रह गरेको थियो । जसमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरेको थियो । आवश्यक परे सांसदहरुलाई पनि सो कोषमा रकम राख्नका लागि आग्रह गर्ने निर्णय भएको थियो । सोहीअनुसार त्रिपाठीलेसो कोषमा एक महिनाको आफ्नो तलब राख्ने घोषणा गर्नुभएको हो ।

कोरोना नियन्त्रणका लागि सबै पक्षबाट भएको सहयोगको उच्च प्रशंसा गर्दै सांसद त्रिपाठीले सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकमी लगायत सम्बद्ध सबैलाई धन्यवाद पनि दिनुभएको छ ।