विदेशबाट आएका पर्वत र बाग्लुङका २२७ होम क्वारेन्टाइनमा

विदेशबाट आएका पर्वत र बाग्लुङका २२७ होम क्वारेन्टाइनमा


कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन पर्वतमा विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।

पर्वत जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । उहाँका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०, जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् । विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् ।

उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । प्रजिअ नेपालका अनुसार विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरुलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको छ ।

बाग्लुङमा ४५ जना ‘होम क्वारेण्टाइनमा’

बाग्लुङ जिल्लाका विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ४५ जनालाई ‘होम क्वारेण्टाइन’मा पठाइएको छ । कोरोना भाइरसप्रभावित देशबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद् व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको हो ।

विशेष गरेर भारत र खाडी मुलुक तथा मलेसियाबाट फर्किएकाहरुलाई सुरक्षित रहन र अन्य कसैको सम्पर्कभन्दा टाढा रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । होम क्वारेनटाइनमा पठाइएकामध्ये निसीखोला गाउँपालिकामा चार, काठेखोला गाउँपालिकामा ३०, ताराखोला गाउँपालिकामा ११, बडिगाड गाउँपालिकामा एक र ढोरपाटन नगरपालिकामा तीन जना छन् । उनीहरुमध्ये बडिगाड गाउँपालिकाका एक जना भने वैदेशिक रोजगारीमा गएको नभई उच्च ज्वरो आएका कारण औषधोपचारसहित होम क्वारेन्टाइनमा राखिएको हो ।

कोरोनाको सङ्क्रमण भित्रिन नदिन जिल्लाका तीन स्थानमा स्थापना गरिएका हेल्थ डेस्कबाट ३११ जनाको ज्वरो परीक्षण गरिएको थियो । बुर्तिबाङ हेल्थ डेस्कमा परीक्षण गरिएका १८ मध्ये दुई जनामा ज्वरो देखा परे पनि अन्य कसैमा समस्या देखा नपरेको गुरौले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला भित्रिने मुख्य नाका मालढुङ्गा हेल्थ डेस्कमा २८९ र बडिगाड गाउँपालिकाको खरबाङ बजारमा स्थापना भएको हेल्थ डेसकमा चार जनाले जाँच गराएका थिए । ज्वरो देखा परेका दुवैलाई आवश्यक परामर्श र औषधि सिफारिस गरिएको चिाकित्सकले जनाएका छन् ।

यसैबीच जिल्लामा रहेका सरोकार भएकाहरुको बैठकले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १३ सदस्यीय कमाण्ड पोष्ट गठन गरेको छ । गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा प्रजिअ गौलोचन सैंजुको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सवारी पासलाई समेत व्यवस्थित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताउनुभयो । कोरोनाका बारेमा सत्यतथ्य पुष्टि भएको खबर मात्र सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गर्ने र गलत समाचार सम्प्रेषण गर्नेलाई कानूनबमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको पन्तले बताउनुभयो ।

rss