किट्स पठाउन कोरियामा सहयोग अभियान

किट्स पठाउन कोरियामा सहयोग अभियान


■ सविना कार्की, दक्षिण कोरिया

चीनको वुहान क्षेत्रबाट सुरु हुँदै विश्वभरी फैलिरहेको महामारी कोरोना भाइरसको संक्रमित बिरामीहरू नेपालमा पनि देखिन थालेपछि रोकथाम गर्न सबैतिरबाट उच्च सतर्कता अपनाइएको छ । नयाँ प्रकारको भाइरस भएकाले यसबाट संक्रमितहरूको नमुना परीक्षण गर्न नेपालमा उपकरण तथा प्रविधिको चरम अभाव रहेको छ । यही अभावलाई मध्यनजर गदै दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूले सहयोग अभियान सुरु गरेका छन् ।

नेपालीहरूको सहयोगबाट जम्मा भएको रकमले आवश्यक केही उपकरण खरिद गरी नेपाल सरकारलाई वितरण गर्ने सहयोग अभियानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको छ । एनआरएनए दक्षिण कोरियाको अभियानमा अन्य सामाजिक स्वतन्त्र अभियन्ताहरूले पनि साथ दिने भएका छन् ।

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित बनेको दक्षिण कोरियाले पछिल्लो समय नयाँ संक्रमितहरू घटाएको छ । नयाँ सक्रमित दर घटाएपछि अहिले कोरियाको प्रविधि र सतर्कताको संसारभर प्रशंसा भैरहेको छ । कोरियामा हालसम्म एक जना नेपाली पनि सक्रमित भएका छैनन् । करिव चालिसदेखि पचास हजारको हाराहारीमा नेपाली बसोबास गदै आएको दक्षिण कोरियाबाट नेपाली नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने हेतुले सहयोग उठाउन थालेको आयोजकले जनाएको छ ।

एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानकोे संयोजकत्वमा सहयोग संकलन समिति बनाई अभियान शुरु हन लागेको हो । यस्तै, अभियानलाई सघाउन स्वतन्त्र अभियन्ताहरूका तर्फबाट गुरुदत्त न्यौपाने, मीन बिक, राजु श्री, डोलिन केसी, अर्जुन बराल समेत छन् । अभियान पूरा गरी जतिसक्दो चाँडो सहयोग जम्मा गरेर नेपालमा आवश्यक सामग्रीहरू पठाइने आयोजकको भनाई छ ।

‘हामीले सहयोगको लागि अनुरोध गर्ने भनेको यहाँका नेपाली दाजु भाइहरुलाई हो, उहाँहरूकै सहयोगमा संकलित रकमले सामग्री किनेर जतिसक्यो चाँडै नेपाल पठाउने छौँ’, अभियानका संयोजक लामिछाने बताए । कोरियाको कोरोना परिक्षणमा काम लाग्ने किट्स निकै प्रभावकारी मानिदै आएको छ ।

कोरोना चेकजाँच गर्ने किट्सको मूल्य प्रतिकिट्स २० डलर पर्ने एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार कोरियाबाट नेपाल किट्स पठाउँदाको कानुनी प्रक्रियादेखि यसको प्रयोगको बारेमा समेत सम्बन्धित निकायसँग कुराकानी भैसकेको छ ।

कोरियामा कार्यरत नेपालीहरुले यसअघि पनि नेपालमा हुने विभिन्न प्रकारका प्रकोपहरुमा ठुलो राहत सहयोग गदै आएका छन् । जति सक्यो धेरै कोरोना भाइरसको परीक्षणमा प्रयोग हुने सामग्रीहरु नेपाल पठाउन पाए नेपाली नागरिकलाई राहत हुने अपेक्षा आयोजकले लिएको छ । हाल नेपालका विभिन्न अस्पतालहरुमा चेकजाँच सामग्रीहरुको अभावका कारणले बिरामीको परीक्षणमा समस्या आएको खबरहरु आइरहेका छन् ।