युरोपमा मात्रै दुई लाख ५० हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

युरोपमा बिहीबार (२६ मार्च) सम्म दुई लाख पचास हजार जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १ सय ८८ जना सङ्क्रमित भएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएको छ । यसअघि बुधबार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो ।

स्पेनमा मार्च १३ देखि सङ्कटकाल र ‘लकडाउन’ घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने ७ हजारभन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।



पछिल्लो विवरण अनुसार संसारभर चार लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् भने २२ हजार १६५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख १८ हजार ६० जना निको भएर घर फर्किसकेका छन् । एएनआइका अनुसार बिरामी अवस्थामै रहेका तीन लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत बिरामीको अवस्था सामान्य रहेको छ भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ ।

प्रतिक्रिया