विवाहको बदलिँदो रूप : पितृसत्तालाई चुनौती

■ सावित्रा ढकाल



संयोग भनौँ विवाहसम्बन्धी केही लेख्ने सोच बनाइरहेको बेला बिहानै ट्वीटरमा ‘आजको यक्ष प्रश्न’ भन्दै चलेको बहस देखेँ । प्रश्न थियो– बिहे नै नगरी संसार कसरी चल्छ ?

बहसमा देखिएका केही प्रतिक्रिया निकै रोचक थिए, जस्तै– संसार राम्रोसँग चलाउन विवाहभन्दा अरु धेरै कुरा छन्, संसारमा मानवजातिको अस्तित्वको लागि जन्म अनिवार्य छ र जन्मको लागि विवाहभन्दा राम्रो उपाय अरु छ जस्तो लाग्दैन, संसार चलाउन विवाह नै चाहिने भए अन्य प्राणीको अस्तित्व कसरी सम्भव भएको होला ?

बहसमा आएका यी प्रतिक्रियाले विवाह र पितृसत्ताको सम्बन्ध र यसको बदलिँदो चित्रलाई प्रतिनिधित्व गरेको आभास गरायो र मलाई यो लेख लेख्न प्रेरित गर्‍यो ।

विवाह पितृसत्तालाई निरन्तरता दिने सबैभन्दा बलियो संस्था हो, यसले पितृसत्ताको धेरै चरित्र बोकेको छ । पितृसत्ताले विवाहअगाडिको यौन सम्बन्धलार्ई स्वीकार गर्दैन । त्यसकारण हामी सोच्छौँ– बच्चा जन्माउनका लागि विवाह सबैभन्दा उत्तम उपाय हो । बच्चा जन्माउने प्राकृतिक भूमिका हो भने विवाह सामाजिक संस्था हो, तर हाम्रो समाज पितृसत्तात्मक मुल्य मान्यतामा यति धेरै बाँधिएको छ कि सामाजिक संस्था विवाह र बच्चा जन्माउने प्राकृतिक भूमिका पर्यायवाची जस्ता बनेका छन् । त्यसैले पितृसत्ताले विवाहको लागि महिला र पुरुष अपरिहार्य मान्ने गरेको छ ।

पितृवंशको निरन्तरता पितृसत्ताको केन्द्रिय अवधारणा हो भने विवाह यो अवधारणालाई सार्थकता दिने रणनीति । त्यसैले पितृसत्ताले वंश चलाउनका लागि छोरा नै चाहिने मान्यता राख्दछ । परिवारसँग जोडिएका हरेक सामाजिक र सांस्कृतिक कार्यमा पुरुष (छोरा)को उपस्थिति अनिवार्य जस्तो बनाइएको छ । त्यसकारण विवाहपश्चात महिलामाथि छोरा जन्माउने दबाब शुरु हुन्छ । यसले महिलाको छनौट र स्वनिर्णयको अधिकारलाई खुम्च्याएको छ । लिङ्ग पहिचानको आधारमा भ्रुण–हत्या छोरा चाहने पितृसत्तात्मक मान्यताको अर्को क्रुर अभ्यास हो । पहिचान, सम्पत्ति, बच्चाको जिम्मा र रेखदेख, सम्बन्धविच्छेद विवाहसँग जोडिएका अन्य महत्वपूर्ण विषय हुन् जसलाई राज्यले पारिवारिक कानुनमार्फत समबोधन गर्ने प्रयास गरेको देखिन्छ ।

विवाह भएर जाने घरलाई हाम्रो समुदायमा ‘कर्मघर’ भन्ने चलन छ, यसले महिलालाई पतिको घरमा श्रमिकको रूपमा स्थापित गर्न खोजेको कुरा प्रष्ट्याउँछ । छोरीको परिवारले समेत छोरी हुर्काउँदा हरेक कोणबाट विवाहको लागि योग्य बनाउने तरिकाले हुर्काउँछन् । त्यसकारण छोरीहरूलाई ‘घर गरी खान’को लागि पोख्त बनाउने तालिम जन्मघरदेखि नै शुरु हुन्छ ।

विवाहले समाजमा विद्यमान असन्तुलित शक्ति सम्बन्धलाई जोगाइराख्न मद्दत गरेको छ । विवाहपश्चात् महिलाले घर, गोत्र, थर परिवर्तन गर्नुपर्ने मान्यताबाट शुरु हुन्छ विवाहको पितृसत्तात्मक रणनीति । विवाहको लागि कुरा चलाउने बेलादेखि नै पुरुषलाई मालिक र महिलालाई उसको सहयोगी बनाउने प्रक्रिया शुरु हुन्छ । नेपालमा प्रचलित विवाहका प्रकारमा मागी–विवाह, प्रेम–विवाह र अदालती–विवाह मुख्य रहेका छन् जसमा मागी–विवाह सबैभन्दा संस्कारी विवाहको रुपमा स्थापित छ । मागी–विवाह मुख्यतः सजातीय विवाह हो, जुन पितृवंशको शुद्धता जोगाउने सबैभन्दा बलियो रणनीति हो । विवाहका प्रकार जे भए पनि विवाहसँग जोडिएका हरेक मुल्य–मान्यता पुरुषकेन्द्रित छन् ।

महिलाको हकमा विवाहपश्चात् पुरुषको घरमा भित्रनुपर्ने सामाजिक मान्यता र नयाँ घरमा समायोजन हुनका लागि परिवारका हरेक सदस्यलाई रिझाउनु पर्ने बाध्यताले वैवाहिक सम्बन्ध व्यक्तिगत कम र पारिवारिक बढि जस्तो लाग्छ । विवाह भएर जाने घरलाई हाम्रो समुदायमा ‘कर्मघर’ भन्ने चलन छ, यसले महिलालाई पतिको घरमा श्रमिकको रूपमा स्थापित गर्न खोजेको कुरा प्रष्ट्याउँछ । छोरीको परिवारले समेत छोरी हुर्काउँदा हरेक कोणबाट विवाहको लागि योग्य बनाउने तरिकाले हुर्काउँछन् । त्यसकारण छोरीहरूलाई ‘घर गरी खान’को लागि पोख्त बनाउने तालिम जन्मघरदेखि नै शुरु हुन्छ ।

नेपाली समाजमा कम उमेरका केटाकेटीहरू भागेर विवाह गर्ने क्रम बढ्दै गएको गुनासो सुनिन थालेको छ । समाजशास्त्री र विज्ञहरूले समेत कम उमेरका केटाकेटीहरूमा भागी–विवाह बढ्नुलाई मोबाइल फोन र सामाजिक सञ्जाललाई दोषी ठहर्‍याएका छन् । तर यो निकै सतही र पुर्वाग्रही विश्लेषण जस्तो लाग्छ, भागी–विवाहको कारण एउटै मात्र हुनै सक्दैन । कम उमेरका केटाकेटीको भागी–विवाह बढ्नुमा यौनप्रतिको पितृसत्तात्मक सोच जिम्मेवार भएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । जानी–नजानी यौन सम्बन्ध स्थापित भएपछि कलिलो उमेरका केटाकेटीहरू त्यसलाई वैधानिकता दिने एक मात्र उपाय विवाहलाई देख्छन् । संवेदनशील अवस्थामा उनीहरूले विवाहपश्चात् आउने नकारात्मक परिणामको विश्लेषण नै गर्न सक्दैनन् । समुदाय र घर–परिवारबाट हुन सक्ने वहिष्करणको विकल्प विवाह ठान्छन् र भागेर विवाह गर्न बाध्य हुन्छन् ।

अहिलेको छोरी–पुस्ता सम्मानपूर्ण जीवन जिउन चाहन्छन्, मानवअधिकारको पूर्ण रूपमा उपभोग गर्न चाहन्छन् । उनीहरू विवाहको लागि व्यक्तिगत स्वायत्तता, स्वतन्त्रता र स्वनिर्णयको अधिकारमा सम्झौता गर्न तयार छैनन् । त्यसैले पनि नयाँ पुस्ता विवाहप्रति उदासिन बन्दै छन् ।

पछिल्लो समय विवाहको अवधारणा र स्वरुपमा परिवर्तन देखिन थालेको छ; नयाँ पुस्तामा प्रेम–विवाह सामान्य बनिसकेको अवस्था छ । विवाहको लागि जोडी छनौटमा प्रेम–विवाहले महिलाको निर्णयलाई थोरै भए पनि स्थान दिएको देखिन्छ, तर विवाहपश्चातको हैसियतमा भने यसले खासै परिवर्तन ल्याउन सकेको छैन । छोरीहरूलाई हुर्काउने तरिकामा व्यापक परिवर्तन आएसँगै शिक्षा र रोजगारीमा उनीहरूको पहुँच बढेको छ । तर, बुहारीप्रतिको दृष्टिकोण र व्यवहारमा परीवर्तन आउन सकेको छैन ।

हालसालै सामाजिक सञ्जालमा विवाह मण्डपमा बहिनीले दिदीलाई बोकेको फोटो निकै भाइरल भएको थियो । विवाहको मण्डपमा दिदीबहिनी अन्माउनका लागिसमेत दाजुभाइ चाहिने विवाहको विधिलाई यसले चुनौती पक्कै दिएको छ । तर युवा पुस्ताको यस्ता प्रयासले विवाहको संस्थागत रुपान्तरणमा साँच्चै योगदान पुर्‍याउँछ त ? सामाजिक सञ्जालका प्रतिक्रिया हेर्दा यो अर्को गम्भीर प्रश्नको रुपमा उठेको देखिन्छ ।

विवाहपश्चात् श्रीमानको घरको पूर्णकालीन सदस्य बन्नुपर्ने, आफ्ना आमाबाबुप्रतिको जिम्मेवारी निभाउनसमेत विवाह भएर गएको परिवारको प्रत्यक्ष वा अप्रत्यक्ष अनुमति लिनुपर्ने, आफ्नो आम्दानीमा समेत आफ्नो नियन्त्रण कम रहने जस्ता पितृसत्तात्मक मान्यताले छोरी–पुस्तामा विवाहप्रतिको वितृष्णा बढ्दो छ । अहिलेको छोरी–पुस्ता सम्मानपूर्ण जीवन जिउन चाहन्छन्, मानवअधिकारको पूर्ण रूपमा उपभोग गर्न चाहन्छन् । उनीहरू विवाहको लागि व्यक्तिगत स्वायत्तता, स्वतन्त्रता र स्वनिर्णयको अधिकारमा सम्झौता गर्न तयार छैनन् । त्यसैले पनि नयाँ पुस्ता विवाहप्रति उदासिन बन्दै छन् ।

विवाहविना संसार चल्छ कि चल्दैन– त्यो त समयले देखाउला, तर विवाह र यौनिकतामा आएको परिवर्तनले पितृसत्तामा ठूलो उथलपुथल ल्याउने भने पक्का छ । संसार गतिशील छ, हामीलाई चित्त बुझ्ने वा नबुझ्ने कुराले परिवर्तनलार्ई रोक्न सक्दैन ।

विवाहका अन्य स्वरुप पनि प्रचलनमा आउन थालेका छन् । विवाहअघि नै केटा–केटी सँगै बस्ने र दुवैको आनिबानी व्यवहार चित्त बुझेमा मात्र विवाह गर्ने प्रचलन पनि सामान्य बन्दै छ । बिस्तारै करार–विवाह, समलिङ्गी–विवाह पनि प्रचलनमा आउन थालेका छन् । यसले विवाहको आधारभूत मान्यतालाई नै परिवर्तन गरीदिएको छ । अब वंशको निरन्तरताको लागि सन्तान उत्पादन गर्ने कुरामा मात्र सीमित छैन विवाह । समलिङ्गी विवाहले समाज महिला र पुरुषले बनेको छ भन्ने अवधारणा र यसलाई आधार मानेर बनाइएका सामाजिक मुल्य–मान्यतालाई नै चुनौती दिएको छ । यसबाट विवाहको लागि केटा र केटी चाहिन्छ भन्ने आधारभूत मान्यता नै कमजोर सावित हुँदैछ ।

गत वर्ष दक्षिण एशियास्तरीय फेमिनिष्ट नेतृत्वसम्बन्धी तालिममा सहभागी हुँदा खेलेको एउटा खेल मेरो मस्तिष्कमा ताजै छ । खेलमा प्रशिक्षकहरूले सबै सहभागीलाई एउटा गोलो घेरामा उभिन लगाए र पहिलो चरणमा विपरीतलिङ्गीसँग मात्र आकर्षित हुनेहरूलाई एक पाइला अगाडि बढ्न र बाँकीलाई बाहिर निस्कन अनुरोध गरे । केही सहभागी बाहिर निस्किए र बाँकी भित्री घेरामा उभिए । दोश्रो चरणमा प्रशिक्षकहरूले आफ्नै देशभित्र आफ्नै समुदायमा सजातीय विवाह गर्नेहरूलालाई एक पाइला अगाडि बढ्न र बाँकीलाई बाहिर निस्कन भने । तेश्रो घेरामा आइपुग्दा करिव एक तिहाई सहभागी बाँकी थिए । अर्को चरणमा प्रशिक्षकहरूले आफैं बच्चा जन्माएका आमाहरूलाई एक पाइला अगाडि जान र बाँकी सहभागीलाई बाहिर निस्कन अनुरोध गरे । यो चरणमा आइपुग्दा भित्री घेरामा म मात्र बाँकी थिएँ, खेलको अन्तमा म पितृसत्तात्मक मुल्य–मान्यताको पक्षधर सावित भएँ !

यो सामान्य खेल थियो, तर यसले परिवर्तनप्रतिको मेरो बुझाइमाथि नै प्रश्नचिह्न खडा गरिदियो । जब हामी पितृसत्तात्मक मूल्य–मान्यताबाट बाहिर निस्किएर सोच्दैनौँ, हामीले जे कुरालाई परिवर्तन भनिरहेका छौँ त्यो परम्पराको निरन्तरता मात्र पनि हुन सक्छ । तर हाम्रै समाजमा यस्ता व्यक्तिहरू छन् जसले विवाह र यौनिकताको परम्परागत मूल्य–मान्यतालाई चुनौती दिँदै फरक मान्यता स्थापित गर्न सकेका छन् । विवाहविना संसार चल्छ कि चल्दैन– त्यो त समयले देखाउला, तर विवाह र यौनिकतामा आएको परिवर्तनले पितृसत्तामा ठूलो उथलपुथल ल्याउने भने पक्का छ । संसार गतिशील छ, हामीलाई चित्त बुझ्ने वा नबुझ्ने कुराले परिवर्तनलाई रोक्न सक्दैन ।

प्रतिक्रिया