इटालीले गरेको गल्ती नेपालले नदोहोर्‍याओस् !

इटालीले गरेको गल्ती नेपालले नदोहोर्‍याओस् !


■ सागर सुवेदी, भियना (अष्ट्रिया)

‘कोभिड–१९’ के, कहाँ र कसरी भन्नेतर्फ गएर सबै विषयहरू अब दोहोर्‍याइरहन परेन । विश्वभर हर व्यक्ति तथा समुदायलार्ई यसको उत्पत्ति तथा फैलाओट बारेको विषय नयाँ भएन । सोझै विषय प्रवेश गरौँ ।

इटालीमा सङ्क्रमण यति छिटो किन भयो त ?

इटालीको सङ्क्रमण संख्या यसरी नियन्त्रण–रेखाभन्दा बाहिर किन गयो भन्ने उत्सुकता सबैमा भएजस्तै पङ्क्तिकारलार्ई पनि हुनु स्वाभाविक थियो । युरोपियन देश इटालीको शहरको अवस्था अरु युरोपियन देशजस्तै छ । विशेषगरी इटालीको उत्तरी क्षेत्र दक्षिणी क्षेत्रभन्दा सबल अनि सम्पन्न पनि छ । साथै, उत्तरी गाउँहरूको अवस्था भने लगभग नेपालमै जस्तै रहेछ, जसमा तीन पुस्ताका परिवार सँगै बसोबास गर्दा रहेछन् । कोरोना भाइरसको सङ्क्रमण छिट्टै हुनुको एक कारण यो बन्न गयो । साथै, चीनमा नोभेम्बेर २०१९ मै पत्ता लागिसकेको घातक भाइरसको विषयमा चीनले विश्व स्वास्थ संगठनलार्ई समयमा जानकारी गराउन आलटाल गर्नु अर्को कारण हो । भाइरस नियन्त्रणभन्दा बाहिर गएपछि मात्र चीनले विश्व–समुदायलार्ई जानकारी गराउनु अनि यूरोपियन देशहरूले चाहिँ हिजोको इबोला जस्तै यो पनि युरोपसम्म आइपुग्दैन भनेर ढुक्कसाथ आवश्यक तयारी नगर्नु या बेवास्ता गर्नु जस्ता कारणले विशेष इटाली तथा यूरोपमा महामारीको रूप धारण गरिरहेको छ ।

त्यसमाथि त्यहाँ सबैभन्दा ठूलो गल्ती यो हुन गयो कि सबै विषयमा जानकारी हुँदाहुँदै पनि आफ्ना नगारिकलार्ई सही समयमा भाइरसबाट बच्न कस्ता विधि अपनाउने भन्ने सूचना–सन्देश या निर्देश जारी गर्न ढिलो गरियो । चीनबाट दैनिक आउने हजारौँ सङ्क्रमिततर्फ पटक्कै चासो दिइएन, साथै त्यस्ता व्यक्तिलाई पहिचान गरी क्यारेन्टाइनमा राख्नेतर्फ ध्यान दिइएन । नागरिकहरूले समयमा सही सूचना नपाउँदा घरमा भएका आफ्ना बुबा–हजुरबुबा जस्ता जेष्ठनागरिकहरूमा देखिएको सङ्क्रमणलाई यस्तो भयावह होला भन्ने नसोची सिधै अस्पातल लैजानु अनि डाक्टर तथा नर्शहरू पनि यस्ता सङ्क्रमितलाई शुरुमै कसरी उपचार गरिने, कस्ता सुरक्षाका प्रावधान अपनाउने भन्नेमा दुविधामा पर्नुलगायतका कारण सङ्क्रमण एकबाट दश, दशबाट हजारको दरमा फैलिँदै गयो ।

आज विश्वको राम्रो भनिने मुलुक इटालीका अस्पतालहरूको अवस्था भयावह बनेको छ । जीवनको अन्तिम समयमा परिवारले आफ्नो नजिकका व्यक्तिको साथ नपाउनु, मृत्यु भएपछिको अन्त्यष्टि संस्कारसमेत सङ्क्रमणका कारण सम्बन्धित निकायले गरिदिएको भिडियोबाट मात्र हेर्न बाध्य भएका छन् परिवारका सदस्य गुमाएका पीडित परिजनहरू । नियन्त्रणमा त आउला तर त्यो दिनसम्म इटालीले आफ्ना धेरै मान्छे गुमाउनुपर्ने अवस्था छ, ठूलो आर्थिक सङ्कटसँग लडेर मात्र आगामी दिनमा सहज परिस्थितितर्फ फर्कनुपर्ने हुन सक्छ, जो निकै दुःखदायी विषय हो ।

अष्ट्रियामा आजका दिनसम्म महामारीको रुप किन लिएन ?

संसारमा जे हुँदै थियो अष्ट्रियाले सुक्ष्म ढंगले हेरिरहेको थियो । त्यसमाथि पनि मित्रराष्ट्र इटालीमा भैरहेका गतिविधिसँग चासो नहुने भन्ने भएन । जुन दिन इटालीको एक सङ्क्रमित नागरिक अष्ट्रियाको संघीय राज्य टिरोलमा फेला परिन्, त्यही दिनदेखि अष्ट्रियाले आफ्ना क्रियाकलापहरू अगाडि बढायो । रातारात विविध विषय समेटिएको विशेष कानुन निर्माण गर्‍यो । आइतबारका दिन संघीय संसदको आकस्मिक बैठक बसाल्यो अनि बनाइएका कानुनहरू पास गर्दै अष्ट्रियासँग जोडिएका इटालीका नाकाहरूलार्ई विविध प्रावधानअनुरुप सिल गर्‍यो । केही दिनमा बाँकी मित्रराष्ट्रहरूका नाका पनि सिल गर्‍यो । आफ्ना नागरिकलाई हरतवरले यो भाइरसको बारेमा जानकारी गरायो । हटलाइन नम्बरमा कोरोना भाइरससँग सम्बन्धित प्रश्न सोध्ने व्यवस्था ग¥यो । विशेष हटलाइन नम्बर उपलब्ध गराएर कुनै सङ्क्रमण देखिएको अवस्थामा जानकारी तथा सहयोग कसरी भन्ने विषयमा प्रष्ट पार्‍यो । सङ्क्रमित व्यक्ति कुनै पनि हालतमा अस्पतालमा नआउनु भन्ने सूचना जनतामा बाँड्यो । सञ्चारकर्मीलाई प्रत्यक्ष समाचार संकलनमा रोक लगायो । र, विस्तारै देश नै ‘लकडाउन’ गर्‍यो ।

यो लेख तयार गर्दैगर्दा अष्ट्रियामा ३६ हजार टेस्ट गर्दा पाँच हजार आठ सय अठासी सङ्क्रमण पुिष्ट भैसकेको छ भने त्यसमध्ये करिव ९० जना व्यक्ति विशेष केयर युनिटको निगरानीमा छन् । लगभग पाँच सय सङ्क्रमित अस्पताल (साधारण केयर) मा भर्ना भएका छन् भने ४० जनाको मृत्यु भैसकेको छ । ती बाहेकका सङ्क्रमित व्यक्तिहरू घरमै आइसोलेसनमा बसेर उपचार गराउँदै छन् । त्यसका निमित्त सरकारले विशेष घुम्ती टिम बनाएको छ । घुम्ती टिमले हरेक दिन ती घरहरूमा पुगेर निगरानी गरिरहेका छन् । त्यसैमा अष्ट्रियन स्वास्थ्यमन्त्रीले हरेक दिन दुई या तीन पटक लाइभ आएर स्वास्थकर्मीको मनोबल बढाउने गरेका छन् । साथै, जनताका प्रश्नहरूको जवाफ अनि सरकारले गरिरहेका क्रियाकलापहरू बारे जनतालाई जानकारी दिँदै आएका छन् ।

अष्ट्रियन चान्सलर (प्रधानमन्त्री)ले हिजो (२५ मार्च) ‘एपीए’लाई बताएअनुसार हिजोबाट दैनिक १५ हजार टेस्ट गर्न सकिने लाबोरहरू तयार गरी सञ्चालनमा ल्याइसकिएको छ, साथै आगामी महिनादेखि अष्ट्रियामा बसोबास गर्ने सम्पूर्ण जनसंख्यामा कोरोना टेस्ट गरिने जनाइएको छ ।

यतिका बुझेर पनि किन अल्मलिएको छ नेपाल ?

अब आयो विषय नेपालको ! आखिर सबै–सबै देखेर यतिका तयारी गर्न सकिने अवस्था हुँदाहुँदै पनि नेपालले पर्याप्त तयारी गर्न सकिरहेको छैन । हुन त प्रधानमन्त्री तथा सरकारलाई मात्र दोष दिन पङ्क्तिकार चाहँदैन, आशा गरौँ महामारीलाई नेपाली जनताले एकजुट बनेर सामना गर्ने नै छन्, तर सामाजिक सञ्जालमा जे देखिएको छ– यस कार्यबाट महामारी झन् बढ्ने आँकलन गर्न सकिन्छ ।

सरकारले विशेष कानुन निर्माणका लागि किन संसद बैठक बसाल्न सकेको छैन ? कालोबजारियालाई नियन्त्रण गर्न किन सकिरहेको छैन ? सम्पूर्ण प्राइभेट अस्पतालहरू सङ्क्रमण अवधिभार सरकारमातहत रहेर निःशुल्क सेवाको प्रावधान ऐनमा निर्धारण गरिनु अपरिहार्य छ । अस्पताल बन्द गरेर हिँड्ने नाफाखोर अस्पतालको चाबी तोडी सरकारमातहत ल्याएर चालाउनुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा मेडिया पनि नियमन हुन जरुरी छ । च्याउभन्दा बढी खोलिएका सञ्चारमाध्यमले जनतालाई भ्रम छर्ने सामग्री सम्प्रेषण गरेकोप्रति राज्यको सख्त ध्यान पुग्नु जरुरी छ । सेनाले निर्माण गरेका स्थलहरूमा चर्पी, पानी अनि सरसफाईको ब्यवस्था नहुने हो भने माहामारी नियन्त्रणभन्दा बाहिर जाने भन्नेमा समयमै ध्यान पुग्नु जरुरी छ ।

रेणु दाहालहरू जस्ताले बनाएका अस्पतालमा कोरोना सङ्क्रमित राखेर उपचार गर्न सम्भव हुँदैन, टाढैबाट सही– सबै नेपालका स्वस्थकर्मीले आजसम्म प्रत्यक्ष सुने पनि महसुस गर्न सकेका छैनन् । के आवश्यक पर्दछ ती उपकरण निर्यात तथा जडान गरी तयारी गर्नुपर्ने देखिन्छ । सिएमए, नर्सिङ पढेका साथै मेडिसिन तेस्रो वर्षभन्दा माथि अध्ययन गरेकाहरूलाई डाक्टरसँगै स्वयमसेवकको रूपमा प्रयोग गर्न सकिन्छ । स्वस्थ बेरोजगार युवाहरूलार्ई सरकारले प्रयोग गर्नुपर्ने बेला आएको छ, विशेष गरी स्वास्थ्यकर्मी तथा प्रहरी कर्मचारीले सुरक्षाका विधिहरू कसरी पालन गर्ने भन्ने विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ । समाजसेवाका नाममा कपडाका मास्क उत्पादन तथा वितरण गर्ने कार्य पूर्ण नियन्त्रण गरिनुपर्ने देखिन्छ भने यी सम्पूर्ण क्रियाकलापलाई निर्देशन तथा समन्वय गर्नका निमित्त गृह, रक्षा र स्वास्थ्य मन्त्रालय सम्मिलित (मातहत) एक विशेष टिम गठन गर्नुपर्ने देखिन्छ ।

नेपालको जनसंख्याको अनुपातमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको अत्यन्त कमी छ । स्वास्थ्यकर्मीको मनोबलतर्फ ध्यान दिँदै सरकारले विशेष प्याकेज ल्याउनुपर्ने हुन्छ ।

अन्त्यमा, इटालीले भोगेको समस्या नेपालले नाभोगोस् । इटालीले गरेको गल्ती नेपालले नगरोस् । आराध्यदेव पशुपतिनाथले नेपाल सरकारलाई समयमै सद्बुद्धि प्रदान गरुन् ।

हाम्रा विशेष प्रतिनीधि सुवेदीलाई Twitter मा follow गर्नका लागि–
https://twitter.com/sagaraustria

यो पनि हेर्नुहोस्-

कोरोनासँग कसरी लड्दै छ अष्ट्रिया ?