टोकियोमा पनि ‘लक डाउन’को सम्भावना

टोकियोमा पनि ‘लक डाउन’को सम्भावना


■ श्याम क्षेत्री, टोकियो (जापान)

टोकियो गभर्नर युरिको कोइकेले राजधानीमा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा देखिएकोले आगामी अप्रिल १२ सम्म विशेष परिस्थितिमा बाहेक बाहिर ननिस्कन महानगरवासीलाई आग्रह गरेकी छन् ।

बुधबार (२५ मार्च) मात्रै टोकियोमा ४१ जना थप संक्रमित भेटिएपछि सोही दिन अपरान्ह भएको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर कोइकेले स्थिति थप गम्भीर बन्दै गइरहेको बताइन्। पुष्टि भएका नयाँ संक्रमितमध्य १० जना ताइतो वार्डको एउटा अस्पतालसँग सम्बन्धित छन् । जहाँ एक जना नर्स र एक बिरामी कोरोना भाइरसबाट संक्रमित थिए ।

गभर्नर कोइकेले कोरोना संक्रमणको उच्च जोखिमलाई कम गर्न र फैलिन नदिन महानगरवासीहरुलाई सहकार्य गर्न अपिल गरिन् । उनले सकेसम्म घरबाहिर नजाने, सम्भवभएसम्म घरबाटै काम गर्ने, रेष्टुरेन्ट तथा मानिसहरुको भिडभाड हुने स्थानमा नजाने जस्ता महत्वपूर्ण मापदण्ड अनिवार्य पालना गर्न पनि नगरवासीलाई अनुरोध गरेकी छिन् ।

जनसंख्याका दृष्टिले बाक्लो जनघनत्व भएको राजधानी टोकियोमा स्थिति थप गम्भीर हुँदै गएको तर्फ संकेत गर्दै गभर्नर कोइकेले यो स्थितिमा संक्रमणकालिन अवस्थाकै रुपमा बुझिदिन र स्ववविवेकपूर्ण कदम चाल्न महानगरबासीलाई अपिल गरेकी छन् ।

पुष्टि भएको पछिल्लो संख्या थपिएपछि कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय १२ पुगेको र जापानको कोरोना भाइरसको केन्द्रबिन्दु अहिले टोकियो भएको छ । यसअघिसम्म कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित हुनेमा होक्काइदो रहेको थियो ।

पछिल्लो जानकारीअनुसार हाल जापानमा संक्रमितहरुको संख्या १ हजार २ सय ७१ र मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यसबाहेक डायमण्ड प्रिन्सेस पानीजहाजबाट योकोहामा आएका यात्रुहरु मध्य ७ सय १२ जनामा संक्रमण भेटिएको थियो भने १० जनाको मृत्यु भएको थियो ।

टोकियोमा संक्रमितहरुको संख्या थपिएसँगै यो क्रम जारी रहे टोकियोमा पनि ‘लक डाउन’ हुनसक्ने सम्भावना बढेर गएको गभर्नर केइकोले बताइन् ।

होक्काइदोमा संक्रमितहरुको संख्या अघिल्लो सातासम्म १ सय ६७ पुगेपछि त्यहाँ आपतकालिन अवस्थाको घोषणा गरिएको थियो ।

विश्वभरिका १ सय ९६ राष्ट्रबाट हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख २० हजार पुगेको छ भने १९ हजार भन्दा बढिले ज्यान गुमाइसकेको छन् ।