धादिङ जिल्ला अस्पतालमा जम्मा १४ सेट पीपीई

धादिङ जिल्ला अस्पतालमा जम्मा १४ सेट पीपीई


■ विकास रौनियार, गजुरी (धादिङ)

कोरोना भाइरस संक्रमणको त्रासका बीच कर्तव्यमा डटिरहेका धादिङबेसी स्वास्थ्यकर्मीको सुरक्षाका लागि धादिङ अस्पतालका लागि १४ सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इकुमेन्ट) प्राप्त भएको छ । सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा १० सेट पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) आएको धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

कोभिड–१९ संक्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पीपीई यसअघि धादिङ अस्पतालमा ४ सेट मात्र रहेको थियो । विश्व नै जोखिममा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वस्थ्यकर्मीलाई नभई नहुने पीपीई मंगलबार (१२ चैत) १० सेट आएपछि अब १४ सेट भएको धमलाले बताए ।

पीपीई नहुँदा स्वास्थ्यकर्मीहरु जोखिमका काम गर्न वाध्य थिए । उपचारमा संलग्न डाक्टर नै संक्रमित बने भने उनीहरुमार्फत संक्रमण फैलने सम्भावना बढी हुने भएकोले डाक्टरहरुले पीपीईको माग गर्दै आएका थिए । धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष धमलाले यस अस्पतालको लागि पर्याप्त नभएको भन्दै थप मगाइने र प्राप्त हुँदै जाने विश्वास प्रकट गरे ।

कोभिड या यस्तै कडा संक्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पीपीईबिना सुरक्षित नहुने चिकित्सकहरु बताउछन् । पीपीईले कपालदेखि पैतालासम्म छेक्ने र भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोक्ने हुँदा मानव शरीरभित्र पस्न पाउँदैन र संक्रमण हुनबाट जोगाउँछ ।