बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया ६ महिनाको लागि जेलमुक्त

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया ६ महिनाको लागि जेलमुक्त


बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई रिहा गरिएको छ । दुई बर्षदेखि कारागारमा रहेकी खालिदालाई बंगलादेश सरकारले घरमै बस्ने र देशवाट बाहिरिन नपाउने शर्तमा बुधबार (२५ मार्च) ६ महिनाका लागि जेलमुक्त गरेको हो ।

खालिदालाई बङ्गाबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयको कैदी कक्षमा राखिएको थियो । उनका परिवार, शुभेच्छुक र पार्टीका वरिष्ठ नेतासहितका हजारौँले जेलबाट रिहा हुँदै गर्दा उनको भब्य स्वागत गरेका एपीले जनाएको छ ।

कोरोना भाइरसका कारण धेरै मानिस जम्मा हुन सरकारले लगाएको निषेधका बावजुद उनीहरू जियालाई स्वागत गर्न पुगेका थिए ।

ह्विलचियरमा थुनावाट बाहिर निस्कँदा नेतृ जियाले मुखमा मास्क लगाएकी थिइन् । कानुनमन्त्री अनिशुल हकले मानवियताका कारण उनलाई जेलमुक्त गर्ने तयारी भएको मंगलबार नै बताएका थिए । नेतृ जियाले घरमै बसेर उपचार गर्ने विश्वास लिइएको पनि उनले बताएका छन् ।

लामो समयदेखि विभिन्न रोगवाट ग्रसित ७४ वर्षीय जियालाई जेलमुक्त गर्न त्यहाँको सरकारमाथि दबाब पर्दै आएको थियो ।

पूर्वप्रधानमन्त्री जियालाई भष्ट्राचारको आरोपमा अदालतले १७ बर्ष जेल सजायको फैसला गरेको छ । जिया र उनका समर्थकहरूले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।

वर्तमान प्रधानमन्त्री शेख हसिना र जियाका बीचमा लामो समयदेखि राजनीतिक तथा व्यक्तिगत टकराव चल्दै आएको छ । जियाका समर्थकहरूले कारागारमा जियाका लागि सरकारले राम्रो व्यबस्था नगरेकाले उहाँको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन् ।

बङ्गलादेशको एक उच्च अदालतले उपचारका लागि जेलमुक्त गर्न जियाले गरेको अपिललाई गत फेबुअरीमा अस्वीकृत गरेको थियो । सन् २०१८ को फेबुअरीमा राज्यशक्ति र स्रोतको दुरुपयोग गरेको ठहर गर्दै अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो ।