भारतबाट आएका पच्चीस युवा ‘बैरेनी-क्वारेन्टाइन’मा

भारतबाट आएका पच्चीस युवा ‘बैरेनी-क्वारेन्टाइन’मा


रोजगारीका क्रममा भारतबाट आएका गोगनपानी (धादिङ)का १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीका अनुसा उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ ।

क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिए । यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी स्थानीय बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो । उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ ।

यसैगरी, गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा (होम क्वारेनटाइन) मा राखिएको छ । उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाको भनाई छ ।

भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको र उनीहरु सबैको अवस्था सामान्य रहेको गल्छी गाउँपालिकाले जनाएको छ ।