अर्घाखाँचीबाट बुटवल रिफर गरिएका बिरामी डिस्चार्ज

अर्घाखाँचीबाट बुटवल रिफर गरिएका बिरामी डिस्चार्ज


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

कोरोना भाइरस संक्रमणको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका अर्घाखाँचीका दुई जना बिरामीमध्ये एक जनालाई ज्वरो टाइफाइड भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको छ ।

शीतगंगा नगरपालिका–२ सीतापुरका ३५ वर्षीय युवकलाई मंगलबार (११ चैत) राति कोभिड–१९ संक्रमणको आशंकामा नमुना परीक्षणको लागि प्रादेशिक अस्पताल पठाइएको थियो । प्रादेशिक अस्पताल बुटवलमा ती युवकको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बिरामीलाई डिस्चार्ज गरी घर पठाइएको, तर घर पठाइए पनि युवकलाई अस्पतालको निगरानीमै राखिएको बुटवल प्रादेशिक अस्पतालले जनाएको छ ।

कोभिड–१९ संक्रमणको आशंकामा जिल्लाबाट प्रादेशिक अस्पताल बुटवल रिफर गरिएका मालारानी खनहका अर्का बिरामीको चाहिँ लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको अस्पतालले जनाएको छ । बिरामीको नमुना परीक्षणका लागि दुवै शंकास्पद बिरामी केही दिनअघि भारतबाट फर्किएका थिए ।

कोरोनाको जोखिमलाई न्युनीकरण गर्न पूर्ण रूपमा लकडाउनको पालना गर्नुपर्ने, प्रशस्त झोलिलो पौष्टिक खानेकुरा खाने, घरबाहिर ननिस्कने, भीडभाडमा नजाने, ब्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, साबुनपानीले नियमित हात धुने, बढि मात्रामा घाममा बस्ने चिकित्सकले सुझाव दिएका छन् ।