कालो झण्डा मात्र होइन जनताले धेरै कुरा देखाउन सक्छन्-रामबहादुर थापा बादल (महासचिव, एकीकृत नेकपा माओवादी)

कालो झण्डा मात्र होइन जनताले धेरै कुरा देखाउन सक्छन्-रामबहादुर थापा बादल (महासचिव, एकीकृत नेकपा माओवादी)


० तपाईंको पार्टीका कारण शान्तिप्रक्रियाको हलो अड्केको भनिन्छ, वास्तवमा शान्तिप्रक्रिया कहाँ पुगेको देख्नुहुन्छ तपाईं ?
– ठूला पार्टीहरूको भनाइअनुसार यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ, मैले यस्तै सुनेको छु, निकट भविष्यमै एउटा ‘बे्रक थु्र’ हुँदै छ भन्ने पनि सुनिएको छ । तर, मेरो दृष्टिकोणमा चाहिँ शान्तिप्रक्रिया यसरी हल्ला गरिएअनुसार अघि बढेको छैन, बरु जहाँबाट सुरु भएको थियो त्योभन्दा पनि पछि धकेलिएको मैले अनुभूति गरेको छु ।
० कसरी ?
– बृहत् शान्तिसम्झौताअनुसार शान्तिप्रक्रिया अगाडि बढाइनुपर्नेमा त्यसरी अघि बढाइएको छैन । बृहत् शान्तिसम्झौताले निर्धारित गरेका मान्यताभन्दा फरक ढङ्गले आ-आफ्नै चाहनाअनुसार अघि बढ्न खोज्दा झन् खल्बलिएको मेरो अनुभूति हो । उक्त शान्तिसम्झौताले पुरानो सुरक्षा संयन्त्रको लोकतान्त्रीकरण गर्ने र जनमुक्ति सेनाको व्यवसायीकरण गर्ने अनि त्यसलाई सम्मानजनक रूपमा समायोजन गरेर दुवै सेनालाई एउटा नयाँ राष्ट्रिय नीति बनाएर नयाँ राष्ट्रिय सेनाका रूपमा त्यसलाई रूपान्तरण गर्ने भन्ने मर्म बोकेको छ । तर, यसविपरीत क्रियाकलाप भइरहेको छ । अर्को कुरा, यो प्रक्रिया अभिन्न रूपमा संविधान निर्माण प्रक्रियासँग पनि जोडिएको छ । द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति तथा राहत दिने, बेपत्ताहरूको खोजी गर्ने, सत्य निरूपण आयोग बनाउनेजस्ता मान्यतालाई आत्मसात् गर्दै सेना समायोजन कार्य अघि बढाउनुपर्नेमा यी सबै नभएकोले शान्तिप्रक्रिया पछि परेको हो ।
० यी मान्यतालाई अङ्गीकार गर्न नसकेकोचाहिँ कुन पक्षले हो त ?
– हामी सबैले यतिबेला बुझेको कुरा यही हो कि माओवादीइतर शक्ति, विशेषगरी नेपाली काङ्ग्रेस र एमालेले बृहत् शान्तिसम्झौताभन्दा बाहिर गएर विभिन्न सर्तहरू थोपर्न खोजिरहेका छन् । यसले गर्दा अघि बढ्नुको साटो शान्तिप्रक्रिया पछाडि धकेलिएको छ ।
० तपाईंले आरोप लगाएका दलहरूले त माओवादीकै कारण सबै प्रक्रिया अवरुद्ध भएकोले माओवादीले नै यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भनेका छन् नि !
– खै ! के भनेका हुन् । सबै राजनीतिक मुद्दाहरू फिर्ता लिने भनिएको थियो तर नेपाली काङ्ग्रेसले यतिबेला आएर कुनै पनि मुद्दा फिर्ता हुँदैन भन्ने सर्त अघि सारिरहेको छ । वाईसीएलको अर्धसैनिक संरचना खारेज गर्नुपर्छ भनेको छ जब कि वाईसीएलको अहिले कुनै गतिविधि नै छैन । सम्पत्ति फिर्ताको कुरा गरेका छन् जब कि फिर्ता हुनुपर्ने सम्पत्ति फिर्ता भइसकेको छ । हाम्रो जनस्वयम्सेवक संस्था खारेज हुनुपर्छ भिन्ने नयाँ सर्त पनि अघि सारिएको छ । यस्ता अनावश्यक सर्तहरू सबै शान्तिप्रक्रिया अवरुद्ध पार्ने षड्यन्त्र हुन् । अब कसले शान्तिप्रक्रिया अघि बढायो या पछि धकेल्यो स्वयम्सिद्ध नै छ नि !
० अब यी सर्त पूरा गर्न के गर्ने त ?
– यस्ता औचित्यहीन सर्त पूरा गर्नु हामी उचित र आवश्यक ठान्दैनौँ । माओवादी जनसेनालाई सम्मानजनक किसिमले समायोजन गर्नतिर नलागी यसलाई विघटन गर्ने, विसर्जन गरिदिने र आत्मर्समर्पण गराउने भन्ने सोच यतिबेला हावी भइरहेको देख्छु म ।
० तपाईं यसो भन्नुहुन्छ तर तपाईंकै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले त काङ्ग्रेसका यी सर्तहरूलाई सकारात्मक रूपमा लिइएको अभिव्यक्ति दिएका छन्, के भन्नुहुन्छ –
– अनौपचारिक रूपमा त्यस्तो कसैले भनेको छ भने थाहा छैन, त्यस्तो त हामीलाई थाहा छैन । मैले अघि भनेका कुराहरूलाई पार्टीले स्पष्ट रूपमा निर्णय गरेको छ । पार्टी निर्णयभन्दा माथि त कोही पनि जान सक्दैन ।
० तपाईंले यसो भनेर के गर्ने, प्रचण्ड र बाबुरामले चाहेअनुसार नै पार्टी र सरकारमा काम भइरहेको छ, होइन र ?
– त्यस्तो त होइन । कैयन मामलामा हामीबीच छलफल र विवाद चलिरहेको छ, त्यसलाई केन्द्रीय समितिमा छलफल गरेर टुङ्ग्याउने कुरा भएको छ । जसले जे चाह्यो त्यो गर्ने अवस्था छैन ।
० सेना समायोजनका लागि संस्था, दर्जा, पुनर्स्थापनाका मुद्दामा कुरा मिलिरहेको छैन, राहत प्याकेज कति गर्ने भन्नेमा विवाद चर्किएको छ, यस्तो अवस्थामा माओवादी पार्टी लचिलो बनेन भनिन्छ नि ?
– हामी हदैसम्म लचिलो भइसकेका छौँ, अब पनि लच्किने भनेकोचाहिँ आत्मर्समर्पण गर्नु मात्र हो । सङ्ख्याको सवालमा पनि हामीले आफ्नो अडान छोडेर पछि हटिसकेका छौँ भने अन्य मुद्दामा पनि लचकता देखाइसकेका छौँ । अन्य पक्षले हाम्रो अपमान गर्नका लागि मात्र हामीलाई अर्घे देखाएर दुष्प्रचार गरिरहेका छन् ।
० नेपाली सेनामा जानका लागि तपाईंका लडाकाहरूले आवश्यक मापदण्ड पूरा त गर्नुपर्ला नि, कि पर्दैन ?
– यस विषयमा सामान्य सहमति त भइसकेकै छ । सेनामा प्रवेश गर्नका लागि परम्परागत रूपमा तोकिएको मापदण्डअनुसार होइन कि समायोजनकै लागि विशेष मापदण्ड बनाइनुपर्छ र त्यसअनुसारको योग्यता भएका जनसेनालाई मात्र नेपाली सेनामा समायोजन गरिनुपर्छ भन्नेमा करिबकरिब सहमति भइसकेको छ ।
० समायोजनका लागि मोडालिटी कस्तो हुनुपर्छ त, बताइदिनुस् ?
– समूहगत समायोजन हुनुपर्छ भन्ने हाम्रो कुरा हो । काङ्ग्रेसलगायतका अन्य पक्षले चाहेको व्यक्तिगत समायोजन हो तर हामी भनिरहेका छौँ कि जनमुक्ति सेना एक सशस्त्र सङ्गठन भएकोले समूहगत रूपमा समायोजन गरिनुपर्छ । यसो नगरी नयाँ भर्तीका रूपमा गर्न खोजिए हामी यसलाई अपमानका रूपमा बुझछौँ ।
० ठ्याक्कै सङ्ख्या तोक्नुपर्दा कति लडाकालाई समायोजन गर्नुपर्छ भन्ने हो तपाईंहरूको ?
– आठदेखि १० हजार भन्ने हाम्रो केन्द्रीय समितिको निर्णय हो । यसमा २-४ सय यताउता हुन सक्ला तर अरूले भनेजस्तो ३-४ हजारमा त कुनै हालतमा कुरा मिल्दैन । साढे उन्नाइस हजारबाट हामी त्यति धेरैमा ओर्लिसकेपछि अब किचकिच गर्नु भनेको बखेडा गर्नु नै हो, शान्तिप्रक्रिया टुङ्गोमा पुग्न नदिने खेल नै हो भन्नुपर्ने हुन्छ ।
० पुनर्स्थापनाको बारेमा चाहिँ तपाईंको पार्टीको धारणा के हो नि ?
– र्‍याङ्किङका आधारमा सातदेखि १० लाखसम्म नगद उपलब्ध गराउनुपर्छ भन्ने बटमलाइन किटान गरेका छौँ हामीले । तहअनुसार न्यूनतम सात र अधिकतम १० लाख हुनुपर्छ ।
० दर्जामा पनि त बटमलाइन निर्धारण गर्नुभएको होला त्यसो भए ?
– महानिर्देशनालयको मोडालिटीमा जाने भनेका छौँ, यसमा नेपाली सेनाकै अन्तर्गत तर अलग्गै विभाग बनाएर जनमुक्ति सेनालाई समायोजन गर्ने हो । तसर्थ नेपाली सेनाको समग्र नेतृत्व र महानिर्देशनालयको नेतृत्वचाहिँ जनमुक्ति सेनाको कमान्डरले गर्न पाउनुपर्छ भन्ने हाम्रो दाबी छ ।
० यसरी त शान्तिप्रक्रिया लथालिङ्ग हुने देखियो नि त !
– होला । तर, यसको दोषी हामी होइनौँ । जसले जनमुक्ति सेनाको अपमान गर्न चाहन्छ, जो हाम्रो जनसेनाको समायोजन होइन विसर्जन गर्न चाहन्छ दोषी उनीहरू नै हुन्छन् ।
० तपाईंलगायत मोहन वैद्यहरू शान्तिको पक्षमा हुनुहुन्न भन्ने आरोप किन लागेको होला ?
– आरोप लगाउनेहरूको स्वतन्त्रताको कुरा हो । बोल्न र आरोप लगाउन त पाउँछन्, आ-आफ्नो विवेक, बुद्धि र सोचाइको धरातलअनुसार बोल्ने हो मानिसले । आरोप लगाउनेहरूको स्वतन्त्रतामाथि बलजफ्ती गर्न हामी सक्दैनौँ, उनीहरूले लगाएको आरोप निराधार हो, बेठीक छ भन्नचाहिँ सक्छौँ हामी ।
० तपाईं त पार्टीभित्रै पनि पुरातनवादी कित्तामा पर्नुभएको रहेछ नि !
– जो जनता र राष्ट्रको हित हुनुपर्छ भनेर अग्रगामी सोच राख्छ ऊ नै पुरातनवादी र पश्चगामी हुन्छ भने त मेरो भन्नु केही छैन ।
० माओवादीभित्रका यथास्थितिवादीहरूको आरोप मात्र हो त यो ?
– हाम्रो पार्टीभित्र यथास्थितिवादी कोही पनि छैनन् । यथास्थितिवादीसँग त एकै ठाउँमा बस्नै सकिन्न नि ? हाम्रो विचार आधारभूत रूपमा एउटै या समान भएकैले त एउटै पार्टीमा छौँ । जब विचारमा आधारभूत रूपले नै भिन्नता आउँछ तब त हामी एक ठाउँमा रहन्नौँ । पार्टी भनेको मानिसहरूको झुण्ड मात्र होइन एउटा विचार पो हो त ।
० यतिबेला माओवादी पार्टी त प्रचण्डको विचारबाट चलिरहेको छ, होइन त ?
– अहिले कुनै व्यक्तिको विचार मानिरहेका छैनौँ हामीले । हाम्रो पार्टीमा सामूहिक निर्णय हुन्छ । अहिले हाम्रो पार्टीका निर्णयहरू सबै सामूहिकताकै उपज हो न कि कोही व्यक्तिविशेषको आदेश । पार्टीको निर्णय उल्लङ्घन गर्नेलाई अनुशासन तोडेको रूपमा लिएर सच्याउने कारबाही गर्छ पार्टीले ।
० यतिबेला माओवादीमा अनुशासन उल्लङ्घन भएको छ कि छैन त ?
– कुनै पनि पार्टीमा अनुशासन उल्लङ्घनका घटना हुनसक्छ, तर त्यसलाई पार्टीले सच्याउँछ, ठीक ठाउँमा ल्याउँछ ।
० पार्टीका नेता प्रधानमन्त्री हुनुहुन्छ तर उहाँकै विरुद्ध तपाईंहरू सडकमा प्रदर्शन गर्नुहुन्छ, कालो झण्डा देखाउनुहुन्छ, यो अनुशासन उल्लङ्घन हो कि होइन ?
– त्यसरी कालो झण्डा हामीले देखाएका होइनौँ, जनताले विरोध गरेका हुन् । पार्टीको नीति-नियमविपरीत चल्ने काम हामीबाट भएको छैन । अनुशासनको रक्षा गर्नु सबै पार्टी सदस्यको कर्तव्य हो ।
० भारतबाट प्रधानमन्त्री र्फकँदा कालो झण्डा देखाएर विरोध गर्ने नीति थियो त तपाईंको पार्टीको ? यो अनुशासनविपरीत भयो कि भएन ?
– त्यस्तो नीति या निर्णय हाम्रो पार्टीको थिएन, त्यो जनताले देखाएका हुन् । जनताले कालो झण्डा मात्र होइन धेरै चिज देखाउन सक्छन् ।
० प्रधानमन्त्रीले भारतमा गएर गरेको बिप्पा सम्झौतालाई तपाईंले कसरी हेर्नुभएको छ, यो राष्ट्रघाती सम्झौता हो ?
– यसबारेमा हामी बहसमै छौँ, भर्खरै हाम्रो स्थायी समिति बैठकले यसलाई केन्द्रीय समितिमा लगेर टुङ्ग्याउने निर्णय गरेको छ । अहिले हामी विवादास्पद अभिव्यक्ति नदिने निर्णयबमोजिम हामी चलिरहेकोले यसबारे मेरो व्यक्तिगत मत हुँदाहुँदै पनि सार्वजनिक गर्न सक्दिनँ, हाम्रो केन्द्रीय समितिको बैठकमै म आफ्नो मत राख्नेछु ।
० प्रधानमन्त्रीलाई त्यसो गर्ने म्यान्डेट दिइएको थियो कि थिएन पार्टीले ?
– विवादास्पद निर्णय केही नगर्ने, विशुद्ध ‘गुडविल भिजिट’का रूपमा मात्रै यस भ्रमणलाई सीमित गरिनुपर्छ भन्ने राजनीतिक सहमति र पार्टीको पनि निर्णय थियो । तर, यो गुडविल भिजिट भएन, विवादास्पद सम्झौता गरियो भनी जनताले पनि भनेका छन् र हाम्रो पार्टीको केन्द्रीय समिति बैठकमा पनि यो मुद्दा उठ्नेछ ।
० मुद्दा या एजेण्डा त थुपै्र हुने भए अबको बैठकमा, सबै टुङ्गो लगाउला त केन्द्रीय बैठकले ?
– केन्द्रीय बैठक विवाद सिर्जनाका लागि नभई विवाद टुङ्ग्याउनकै लागि गरिने भएकोले मलाई विश्वास छ, केन्द्रीय समितिको बैठकले सबै मुद्दा र एजेण्डाहरूको समुचित हल निकाल्नेछ ।
० माओवादी पार्टी फुट्छ भन्छन् नि ?
– होइन किन फुट्नुपर्‍यो हाम्रो पार्टी !- फुटोस् भन्ने चाहना राख्नेहरू पार्टीविरोधी हुन्, शान्तिविरोधी हुन्, संविधानविरोधी हुन्, पुनरोत्थावादी हुन् । यस्ताहरूको चाहना पूरा हुँदैन । विगतमा पनि यस्ता बहसहरू भएका हुन् र विगतमा जस्तै अहिले पनि हल निकालिन्छ ।
० त्यसो भए पार्टी अध्यक्षको लाइनलाई तपाईंहरूले पनि समर्थन गर्नुहुनेछ भनेर बुझनुपर्‍यो, होइन ?
– पार्टी अध्यक्षको लाइन मँन्ने भन्दा पनि पार्टीको लाइनचाहिँ अध्यक्ष र सबै सदस्यले पनि मान्नुपर्छ ।
० देशको प्रधानमन्त्रीले पनि पार्टीको मात्र कुरा मानेर हिँड्न मिल्छ त ?
– प्रधानमन्त्री हाम्रो पार्टीको उपाध्यक्ष पनि हो, प्रतिनिधि पनि हो । पार्टीको नीतिअनुसार प्रधानमन्त्री चल्नुपर्छ भनेर त मैले भन्न खोजेको होइन तर पार्टी उपाध्यक्ष त पार्टीको नीतिअनुसार नै चल्नुपर्छ । सहमतिको सरकार हुनाले प्रधानमन्त्री साझा कार्यक्रमअनुसार नै चल्नुपर्ने हुन्छ भन्ने हामीलाई हेक्का छ, तर पार्टी उपाध्यक्षका नाताले प्रधानमन्त्रीले पार्टीको उपेक्षा गर्न पनि त मिल्दैन ।
० बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन धोबिघाट बैठक गर्ने तपार्इं र मोहन वैद्यहरूले नै उहाँ प्रधानमन्त्री बनेको दिनदेखि नै प्रतिपक्षीभन्दा पनि एक कदम अघि बढेर विरोध गरेको किन ?
– हामीले त्यसो गरेका छैनौँ बरु सहयोग नै गरिरहेका छौँ । नकारात्मक रूपमा बुझे नकारात्मक हुन्छ सकारात्मक सोचे त्यही सकारात्मक पनि हुन्छ । राम्रो काम-कुराको समर्थन गर्ने हो र गल्ती गर्न लाग्दा खबरदारी गर्नु पनि झन् ठूलो सहयोग हो । गल्ती गर्दा पनि समर्थन गर्‍यो र आलोचना गरिएन भने त व्यक्ति बिग्रन्छ, हामीले असहयोग गरेको ठहरिन्छ, होइन र ? हामीले पार्टीभित्रैबाट रचनात्मक आलोचना गरेर प्रधानमन्त्रीलाई सच्याउन मद्दत गरिरहेका छौँ ।
० प्रधानमन्त्रीको विकल्प खोजेको त होइन ?
– यस्तो कुनै कुरा होइन, विरोधीको प्रचार मात्र हो यो । सरकारको समीक्षा सार्वजनिक रूपमा अहिले हामीले गरिसकेका नै छैनौँ, आवश्यक परे गरौँला ।
० अध्यक्ष प्रचण्डसँग तपाईं एकदम नजिक मानिनुहुन्छ, तर उहाँकै विरुद्ध गम्भीर अभिव्यक्ति दिनुभएको किन ?
– कस्तो अभिव्यक्ति ? उहाँसँग त मेरो निरन्तर भेटघाट, छलफल र सल्लाह चलिरहेको हुन्छ । उहाँ अध्यक्ष र म महासचिव भएकोले पनि जरुरी छ ।
० भारतीय गुप्तचर संस्था रसँग प्रचण्डको साँठगाँठ छ भनेर तपाईंले बोलेको होइन त ?
– मैले बोलेको होइन, बुझाइ उल्टो पर्‍यो । बरु मिडियाले नै त्यो कुरा उठाएको यदि त्यसो हो भने त्यस्ता कुरा पार्टीमा पारदर्शी हुनुपर्छ मात्र मैले भनेको हुँ । यसो भन्नु अध्यक्षलाई ‘र’सँग सम्बन्ध भएको भनी बोलेको ठहरिन्छ र ? मिडियाले यसो भन्यो, यसबारे प्रस्टीकरण नदिए झन् विभिन्न आशङ्का उठ्न सक्छ भनेर मात्र मैले बोलेेको हुँ । तर, यसलाई अतिरञ्जित गरेर मैले अध्यक्षलाई ‘र’को एजेन्ट भनेको भनी प्रचार भयो । म अझै पनि भनिरहेको छु कि यसबारे अध्यक्षले स्पष्ट पार्नुभएमा उहाँको मात्र होइन पार्टीकै लागि पनि अत्यन्त राम्रो हुन्छ ।