गोरखाका मिलन गुरुङको सिड्नीमा रहस्यमय मृत्यु

गोरखाका मिलन गुरुङको सिड्नीमा रहस्यमय मृत्यु


■ राजन घिमिरे

सिड्नी (अष्ट्रेलिया)मा नेपाली–नेपालीबीच भएको झगडामा इमालोल (ललितपुर)का एक युवाको निधन भएको घटना सेलाउन नपाउँदै सिड्नीकै स्टार्थ फिल्ड भन्ने स्थानमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मंगलबार (११ चैत) बिहान ४ बजेतिर स्टार्थ फिल्ड स्टेशनमा गोरखा घर भई हाल सिड्नी बस्दै आएका मिलन गुरुङको रहस्यमय मृत्यु भएको हो ।

सोमबार राति साथीभाइसँग सिड्नीको अबर्नमा रहेका गुरुङ बिहान ४ बजेतिर सुत्नका लागि आफ्नो घरतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जानकारी दिइएको छ । बताइएअनुसार अबर्नमा मिलन गुरुङसहित पाँच जना साथीभाइ अबेरसम्म खानपिन तथा रमाइलो गरी बसेका थिए ।

ट्रेनको लिकमा हाम्फालेर उनले आत्महत्या गरेको शंका गरिएको पनि उनका साथीभाइले भने कुनै पनि हालतमा मिलनले आत्महत्या गर्न नसक्ने दाबी गरेका छन् । बिहान उक्त घटना थाहा पाएपछि साथीभाइहरू स्टेशन पुगेका थिए ।

मिलन दुई महिनाअघि मात्र ब्रिसबेनबाट सिड्नी सरेका बताइन्छ ।

मृत्यु भएको स्थानभन्दा टाढा उनको फोन भेटिनु, साथीभाइसँग रमाइलो गरी सुत्नका लागि घर हिँडेका उनी ट्रेनको लिकमा मृत अवस्थामा भेटिएका कारण घटना रहस्यमय बनेको छ । यस विषयमा न्यूसाउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको र ट्रेन स्टेशन तथा रेलको सीसीटीभी बरामद भएको तथा मृतकको फोनको अध्ययनपछि मात्र मृत्युको कारण खुल्न सक्ने बताइएको छ ।