यस्ता पनि दिन आए

यस्ता पनि दिन आए


■ बबिता बस्नेत

एक महिनाअघिसम्म विदेश यात्रा गर्नुलाई एउटा राम्रो अवसरको रूपमा लिइन्थ्यो । विदेश जाने या विदेशबाट आएको भनेंपछि मानिसहरू प्रसङ्गै बिना पनि म त विदेश गा’थेँ या बाहिर जानुछ… भनेर सुनाउने गर्थे । कुनै नयाँ ठाउँ जाँदा कतिपल्ट आफैले पनि सुनाइयो होला । विदेश यात्रालाई सफलताको सूचकझैँ गरी मानिसहरू चर्चा गर्थे । ‘ए… उसका लागि विदेश त पानीको पधेँरो’ भन्नुलाई राम्रो कुरा मानिन्थ्यो ।

तर हेर्दाहेर्दै हिजो खुशीको यो विषय आज एकाएक डरलाग्दो विषयमा परिणत भएको छ । मानिसले गरेको यात्राका कारण पूरै विश्व आक्रान्त छ । विभिन्न मुलुक आफूले आफैलाई ‘लकडाउन’ गरेर सुनसान छन् । विदेश यात्राबाट फर्कनुलाई अहिले त्रासका रुपमा हेर्न थालिएको छ र फर्किएका मानिसहरू शंकाको घेरामा रहेका छन् ।

मृत्यु मानिसको जीवनमा सबै भन्दा ठु्लो त्रास हो । त्यही त्रासका बीच अहिले विश्वका मानिसहरू मरिएला कि बाँचिएलाको स्थितिमा छन् । सन् २०२० को सुरुवातसँगै चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मानिसलाई यो अवस्थामा पुर्‍याएको हो ।

यही मार्च २०२० को ७ तारिख शनिबार साँझ यो पङ्क्तिकार र पत्रकार अनिता बिन्दु न्युयोर्कतर्फ जाने तयारीमा थियौँ । साँझको फ्लाइट थियो, काठमाडौं–दुबई–न्युयोर्क । संयुक्त राष्ट्रसंघमा हुने कार्यक्रमका ‘साइड इभेन्ट’हरूमा प्रस्तुतिका लागि विषय र समय तय भएका थिए । अनिताले मिडिया र यो पङ्क्तिकारले सूचना तथा प्रविधि एवम् सामाजिक सञ्जालसम्बन्धी कार्यक्रममा आफ्नो देशको कुरा राख्नु थियो । जसमा हाम्रो सूचना तथा प्रविधि विधेयकलगायतका कुराहरू पर्थे । आयोजकहरूसँग कति मिनेट बोल्ने, बुँदाहरू के–के हुन सक्छन् भन्ने विषयमा इमेल आदानप्रदान भइरहेको थियो ।

हामीमध्ये कतिका छोराछोरी बाहिर छन्, कतिका बाबुआमा, पति–पत्नी र नातेदारहरू छन् । मुलुकहरू ‘लकडाउन’मा जाँदा यताको यतै उताको उतै भइएला कि भन्ने पनि छ । प्रकृति, महामारी र प्रकोपका अगाडि मानिस कति लाचार, असहाय र निरीह हुने रहेछ भन्ने कुरा आँखैअगाडि देखिएको छ ।

चौथो विश्व सम्मेलनको २५ वर्षको पुनरावलोकन भएकाले नेपालबाट अरु पनि धेरै सम्बन्धित ब्यक्तिहरू न्युयोर्क जाँदै थिए । जाने मध्ये धेरैको आ–आफ्नो क्षेत्रमा गरेको कामको अनुभव बाँड्ने योजना हुनु स्वभाविकै थियो । उडान नजिकिँदै जाँदा हाम्रो दुई प्रकारको तयारी एकैपल्ट चलिरहेको थियो, औपचारिक र अनौपचारिक । कार्यक्रममा प्रस्तुतिको तयारी एकातिर थियो भने अर्को फुर्सदको समयमा किनमेलदेखि घुमघाम, साथीभाइ आफन्त भेटघाटसम्मको कुरा । न्युयोर्कमा रहेकी भदै खुशी राई, बहिनी मच्छे गुरुङ, भाइ दिवाकर बागचन्दसँगका यसो र उसो गर्ने योजनासहितका कुराकानीले तयारीलाई थप आत्मिय बनाएको थियो ।

यात्राको सुरुदेखि अन्तिमसम्मको खाका मस्तिष्क र कागज दुवैमा बनिसकेपछि हिँड्नु भन्दा ६ दिन अगाडि कोरोना भाइरसका कारण संयुक्त राष्ट्रसंघले कार्यक्रम स्थगित गरेको सूचना जारी गर्‍यो । ‘साइड इभेन्ट’हरू नहुने र सामान्य प्रक्रियामा गएर विभिन्न राष्ट्रका न्युयोर्कस्थित मिसनबाट प्रतिनिधिहरूले प्रतिवेदन प्रस्तुत गर्ने भनी गरिएको निर्णयसँगै हाम्रा योजनाहरू पनि स्थगित भए । बडो उत्साहका साथ तयारी गरेको कार्यक्रम एकाएक स्थगित हुँदा अमेरिका जस्तो देशमा बसेर पनि मानिसहरू के डराएका होलान् भन्ने लागेको थियो । त्यतिबेला कोरोनाले अमेरिकामा आक्रमण गरिसकेको थिएन । यात्राबाट फर्किएका केही मानिसमा देखिनासाथ भिडभाडयुक्त कार्यक्रम नगर्ने निर्णय लिइएको थियो ।

तथापि, सीड कमिटीकी उपाध्यक्ष साथी वन्दना राणा सीड कमिटीसम्बद्ध विशेष मिटिङ र विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीहरूसँगको भेटघाटको सिलसिलामा न्युयोर्क पुगिन् । उनी फर्कंदाको दिन र अहिले कोरोना भाइरस देखिएको फ्रान्समा अभ्ययनरत विद्यार्थी फर्कने दिन तथा एयरलाइन्स एउटै परेकाले परिवारका सदस्य, आफन्त र निकटवर्तीहरूलाई केहीबेर तनाव पनि भएको थियो । तर, उनीहरूको उडान समय फरक रहेछ । वन्दना कडा अनुशासनका साथ आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेकी छन् । यात्राका कारण यस प्रकारको तनाव भोग्नेहरूको संख्या अहिले ठूलो छ । अहिलेको अवस्थाले यात्रा अब कुनै रोमाञ्चकारी कुरा रहेन । यसबीचमा यो वर्षका लागि विभिन्न मुलुकमा तय भएका यात्राहरू स्थगित हुने क्रम जारी छ ।

कोराना महामारीले पृथ्वीमा कुनै पनि बेला जे पनि हुन सक्छ भनी मानिसलाई आत्मसात गर्ने अवसर दिएको छ । अहिले मानिसबाट मानिसमा सर्ने रोग आउँदा यस्तो छ, भोली हावाबाट सर्ने आयो भने के हुन्छ ?

केही दिनअघिसम्म आफ्नै रफ्तारमा अघि बढिरहेका मुलुकहरू अहिले ‘लकडाउन’ मा छन् । बढिभन्दा बढि पर्यटक भित्र्याउने होडबाजीमा रहेका देशहरू अहिले पर्यटक शब्दबाट डराउने मात्र होइन उनीहरूलाई पूर्णतः निषेध गर्न बाध्य छन् । अस्तिसम्म विदेशीहरूले नमस्कार गर्न सिके भनेर दङ्ग पर्दै ‘ट्वाइलेट पेपर सकियो रे अब के गर्छन् ?’ भनी ब्यङ्ग्य गर्दै बसेका हामी अहिले आफै ‘लकडाउन’मा छौँ । थाहा छैन भोली यसले कस्तो रुप लिने हो !

यात्राबिनाको जीवन हामीले कल्पनै गर्न छोडिसकेका थियौँ । अहिले पनि कल्पना गर्न गाह्रो छ । हामीमध्ये कतिका छोराछोरी बाहिर छन्, कतिका बाबुआमा, पति–पत्नी र नातेदारहरू छन् । मुलुकहरू ‘लकडाउन’मा जाँदा यताको यतै उताको उतै भइएला कि भन्ने पनि छ । प्रकृति, महामारी र प्रकोपका अगाडि मानिस कति लाचार, असहाय र निरीह हुने रहेछ भन्ने कुरा आँखैअगाडि देखिएको छ । परिस्थितिले विश्वका अर्बपतिहरू, मैं हुँ भन्ने विद्वानहरू, ठुला–ठुला आविष्कारक वैज्ञानिकहरू सबैलाई एउटै धरातलमा ल्याइपुर्‍याएको छ । जति ठुला कुरा गरे पनि प्रकृतिका अघिल्तिर मानिसको केही लाग्दैन भन्ने कुरा पटक–पटक प्रमाणित हुँदै आएकै हो । प्रकृतिले सहज रुपमा चलिरहने हावाको बहावलाई अलिकति मात्रै तलमाथि पार्‍यो भने मानिसको जीवन समाप्त हुन्छ ।

पृथ्वीमा मानिसको अस्तित्व स्थापित भएपछि पनि धेरै लामो समयसम्म एकार्कालाई सहज रूपमा जोड्ने साधनहरू बनेका थिएनन् । पैदल हिँडेरै मानिसहरू लामो यात्रा गर्थे । दुइपाङ्ग्रे, चारपाङ्ग्रे यातायातका साधनहरूको क्रमिक विकाससँगै यात्रा सहज बनेको हो । पैदलयात्रा, सडकयात्रा हुँदै हवाइयात्राको इतिहास १ सय १७ वर्षको मात्रै छ । सन् १९०३ मा राइट ब्रदर्शले पहिलोपटक हवाइजहाजको परीक्षण गरी सुरुवात गरेका थिए । यद्यपि हाम्रा ऋषिमुनीहरूले हवाइजहाजको परिकल्पना हजारौँ वर्षअघि गरेका थिए । हजारौँ वर्षअघिको रामायणमा रावणले सीतालाई हरण गरेर आफ्नो देश लङ्का लाँदा पुष्पक विमानमा चढाएर लगेका थिए । आकाश मार्ग हुँदै लगिएकाले पृथ्वीका बाटाहरूमा राम, लक्ष्मणले खोज्दा सीता–हरणका सङ्केत भेट्न गाह्रो परेको थियो ।

जिन्दगीको सबैभन्दा ठुलो सीमितता के हो भने यस प्रकारका महामारी आए पनि नआए पनि हामी केही समयका लागि मात्रै यो पृथ्वीमा छौँ । पृथ्वीमा हाम्रो उपस्थितिसँगै अनुपस्थिति निश्चित छ ।

अहिले विश्वब्यापी यात्रामा सहज जहाजहरू यसरी ठप्प होलान्, मुलुकहरू यस अवस्थामा पुग्लान् भनेर कल्पना गरिएको थिएन । अन्तर्राष्ट्रिय ट्रान्जिटहरू हेर्दा मानिसहरूको आवतजावतले नै त विश्व चलेको छ जस्तो लाग्थ्यो । कोराना महामारीले पृथ्वीमा कुनै पनि बेला जे पनि हुन सक्छ भनी मानिसलाई आत्मसात गर्ने अवसर दिएको छ । अहिले मानिसबाट मानिसमा सर्ने रोग आउँदा यस्तो छ, भोली हावाबाट सर्ने आयो भनें के हुन्छ ? हामीले गर्ने देश–विदेशवाला यात्रा मात्र यात्रा नभएर मानिसको जीवन स्वयम् यो पृथ्वीमा एउटा यात्रा हो । जो केही समयका लागि छ, रहन्छ । जिन्दगीको सबैभन्दा ठुलो सीमितता के हो भने यस प्रकारका महामारी आए पनि नआए पनि हामी केही समयका लागि मात्रै यो पृथ्वीमा छौँ । पृथ्वीमा हाम्रो उपस्थितिसँगै अनुपस्थिति निश्चित छ । जिन्दगीको यो ‘लिमिटेसन’लाई बुझेर अगाडी बढ्ने हो भने हामी सबैले आ–आफ्नो ठाउँमा गुणात्मक योगदान गर्न सक्छौँ ।

सरकारले ‘लकडाउन’ घोषणा गरेका कारण अहिले हामी सबै घर–घरमा छौँ । हामीले जुन घरलाई आफ्नो ठानेर बसिरहेका छौँ त्यो हिजो अरु नै कसैको थियो । भोलि हामी नभएपछि अरु कसैको हुनेछ । यात्राको ट्रान्जिटमा रहेको कुर्सीजस्तै बसुन्जेल बस्ने र अर्को यात्रा सुरु भएपछि छोडेर हिँड्ने हो । ‘म नहुँदा के होला ?’ भन्ने कुरासँगै ‘म हुँदा के भएको छ ?’ भनेर सोच्ने मौका पनि समयले दिएको छ । आफ्ना कारणले केही राम्रा काम भएका छन् भन्ने लाग्यो भने कम्तीमा त्यसले आत्मसन्तुष्टि दिन्छ । ‘म नभए के होला ?’ भनेर हामी कसैले चिन्ता लिनु पर्दैन । अहिले हामीलाई के–के नै गरिरा’छु म नहुँदा त संसारै ठप्प होला जस्तो लागे पनि वास्तविकता त के हो भने हामी नहुँदा पनि यो संसार यसैगरी चलिरहने छ । त्यसैले पृथ्वीमा आफ्नो अस्तित्व रहुन्जेल जहाँ छौँ त्यहीँबाट सकेको राम्रो काम गरौँ । आपतविपदको बेला एकार्कालाई मद्दत गरौँ ।