यस वर्ष रोकियो सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि

यस वर्ष रोकियो सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि


कोरोनाको सङ्क्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा ‘क्षमा माग्दै’ रथयात्रा नगर्ने निर्णय गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यलाई उद्धृत गर्दै राससले दिएको जानकारीअनुसार विश्वभर कोरोनाको सङ्क्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको हो । वडाध्यक्ष शाक्य रथयात्रा व्यवस्थापन समितिको संयोजकसमेत हुन् ।

वर्षा र सहकालका देवताका रुपमा प्रत्येक वर्ष निश्चित अवधिमा पुजिने सेतो मच्छेन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने जात्रा त्यस दिन असनसम्म पुऱ्याउने परम्परा प्राचीनकालदेखि छ । नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीमा कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनटोलसम्म रथयात्रा चलाइन्थ्यो । एकादशीका दिन लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथको आमाका रुपमा पुजिने पीपलको बोटमा तीनपटक घुमाइन्छ ।

द्वादशीका दिन सानो खटमा आर्यावलोकीतेश्वरलाई राखी बहालमा पुऱ्याइन्छ । त्यसै दिन सिन्दुर जात्रा गरेपछि जात्रा सकिने परम्परा थियो । तर, यस वर्ष जात्रा गर्न नसकिने भएकाले चैत १९ गते चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको अध्यक्ष शाक्यले जानकारी गराएका छन् ।

क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ । कोरोनाको सङ्क्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकोमा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिने बताइएको छ ।