कोभिड–१९ सँग जोगिन तरुण दलले गऱ्यो यस्तो अपिल

विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न आवश्यक तयारी गरिरहेको छ । यो परिस्थितिमा सम्बन्धित निकाय, आम नागरिक र सरकारले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भई सङ्क्रमण हुनबाट आफू जोगिई अरूलाई पनि जोगाउन तरुण दलले सबैमा अपिल गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्ति प्रकाशित गर्दै आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेका हुन् ।

विभिन्न कामका लागि मुलुकबाहिर गएका सम्पूर्ण नेपाली नागरिकलाई जो जहाँ हुनुहुन्छ, केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुनसमेत तरुण दलले आग्रह गरेको छ । अध्यक्ष बस्नेतले सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई समेत आग्रह गरेका छन् ।

हाल ठूला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेशनका लागि तयारी अवस्थामा राख्न सकिने तरुण दलको सुझाव छ । अध्यक्ष बस्नेतले धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटल, तालीम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगका लागि सम्बन्धित निकायसँग सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन पनि माग गरेका छन् ।

यस्तै, बजारमा मास्क, औषधि, स्यानिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी देखिन थालेको उल्लेख गर्दै तरुण दलले कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न तथा जनताका न्यूनतम् सेवासुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गर्न माग गरेको छ ।



स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरुप थप सेवासुविधामा प्रबन्ध गर्न र दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक प्रबन्ध गर्न दलले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया