टोकियो ओलम्पिक स्थगित गर्न आईओसीलाई दबाब

टोकियो ओलम्पिक स्थगित गर्न आईओसीलाई दबाब


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान ओलम्पिक कमिटीले निर्धारित समयमै टोकियो ओलम्पिक २०२० को आयोजना हुने बताए पनि विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोेपलाई मध्यनजर गर्दै ओलम्पिक सार्न विभिन्न सहभागी राष्ट्रहरुले माग गरेका छन् ।

नर्वे ओलम्पिक र अमेरिकी ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचलाई पत्राचार गर्दै वर्तमान स्थितिमा टोकियो ओलम्पिकको कुनै पनि गतिविधि अगाडि नबढाउन अनुरोध गरेका छन् । यतिबेला मानिसको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने र खेलकुद गतिविधि स्थगित भएका कारण खेलाडीका लागि समेत टोकियो ओलम्पिक चुनौतीपूर्ण बन्दै गएको ती राष्ट्रहरुले उल्लेख गरेका छन् ।

दुवै राष्ट्रले आफुहरु टोकियो ओलम्पिकको पक्षमा रहेको खुलासा गर्दै विश्वमा कोरोना भाइरसको संक्रमण पूर्ण रूपमा अन्त्य भएपछि मात्र आयोजना गर्न सुझाएका छन् । साथै टोकियो ओलम्पिक एक वर्षपछि सार्दा राम्रो हुने पनि आईओसीलाई सुझाव दिएका छन् ।

यदि ओलम्पिक सिद्धान्त मान्ने हो भने आगामी टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि सार्दा कुनै फरक पर्दैन । यस्तो सुझाव विश्वका विभिन्न पदाधिकारी र खेलाडीले दिँदै आएका छन् । यस्तो अवस्थामा पनि टोकियो ओलम्पिकको आयोजना गरिएका विश्वका थुप्रै राष्ट्रहरुले सहभागिता नरहने पनि ती खेल पदाधिकारीहरूले प्रस्ट पारेका छन् ।

स्मरणीय छ, क्यानडाले अहिलेको अवस्थामा टोकियो ओलम्पिकमा सहभागिता नजनाउने निर्णय गरिसकेको छ । कोरोनाको भाइरसको प्रकोप जारी नै रहे अमेरिका, नर्बे, फ्रान्स, इटाली, बेलायत, स्पेन र इरान लगायतका राष्ट्रहरुले टोकियो ओलम्पिकमा सहभागिता दिने कुरा शंका उत्पन्न भएको छ ।

यसरी कोरोना भाइरसका कारण आउँदोे जुलाई २४ देखि अगष्ट ९ सम्म जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्योलमा परेको छ । जापानका प्रधानमन्त्री र आईओसीले निर्धारित समयमै टोकियो ओलम्पिकको आयोजना हुने बताए पनि कोरोना भाईरस टोकियो ओलम्पिकका लागि भेलेन बन्ने सम्भावना प्रबल बनेको छ ।