‘चिसोका कारण आउने ज्वरो ८० प्रतिशतमा आफैं निको हुन्छ’

‘चिसोका कारण आउने ज्वरो ८० प्रतिशतमा आफैं निको हुन्छ’


झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आफैं निको हुन सक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले बताएका छन् ।

भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भने, ‘बिरामीको अवस्था बुझ्नु जरूरी छ । कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आँफै निको हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २० प्रतिशत बिरामीमा रूघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ ।’

‘अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत कोरोना सङ्क्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय बिरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने हो,’ उनले थपेका छन् । एएनआईले जनाएअनुसार भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार बिरामीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र अहिलेसम्म भारतमा ३४१ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको आइसीएमआर महानिर्देशकले बताएका छन् ।

भारतमा एक दिनमा १० हजार व्यक्तिमा सङ्क्रमण परीक्षण गर्ने क्षमता रहेको र एक सातामा ५० देखि ७० हजार व्यक्तिको सङ्क्रमण परीक्षण गर्न सकिने दाबी गरिएको छ ।

कोभिड–१९को सङ्क्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक सङ्क्रमित व्यक्ति र सङ्क्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको भार्गवले बताए । कोभिड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा साना साना पानी वा पसिनाका कणबाट सर्ने जानकारी उनले दिए ।