कोरोना भाइरस सन्दर्भ : खतर्नाक हुन्छ विज्ञानविनाको ज्ञान

कोरोना भाइरस सन्दर्भ : खतर्नाक हुन्छ विज्ञानविनाको ज्ञान


■ प्राध्यापक डा. युवराज सङ्ग्रौला

जोहन पोलिनी, जेम्स कारोके–वेब्सटर, डर्क रोहमेन तथा क्याथरिन निक्सेले प्राचीन रोमको बारेमा लेखेका विवरणहरू नेपालमा मानिसको अहिलेको मानसिकतासँग मिल्दोजुल्दो छ । कोरोना भाइरसका सन्दर्भमा मानिसको प्रवृत्तिलाई देखेर डर लागेको छ, कोरना भाइरससँग होइन । कथा सुनौँ ।

१. यी किताबमा लेखिएका छन् । दोस्रो र तेस्रो शताब्दीको कुरा हो । रोम र अलेसजेन्ड्रिया क्रिश्चियन रिलिजन (धर्म र रिलिजन एउटै होइन) धमाधम बढिरहेको थियो । रोममा शास्त्रीय पुजापाठ र बलिदिने चलन थियो । जेयस, अप्फ्रोडाइट, ओलम्पस जता देउताहरूको पुजा हुन्थ्यो । क्रिस्चियनहरू मुर्तीपूजाको विरोध गर्थे । उनीहरूले भने, ‘देवतामा सैतान बसेका छन् । जताततै सैतानहरू छन् । सैतानले मासुको गन्ध मन पराउँछन् । यी पुजारीको दिमागमा सैतान बसेका छन् । ‘क्रिश्चियन धर्मगुरुले भने, ‘भगवानले भन्नुभएको छ, यी अधर्मीहरूलाई समाप्त गर्न मैले तरबारमा धार लगाएको छु । मेरा बाणले यिनीहरूका रगतमा पौडी खेल्ने छन् ।’

२. रोमन शास्त्रीय दार्शनिक गलान, सेल्सस र प्रोफ्रेरीले भने– ‘यी मानिसलाई तथ्य र तर्कको अर्थ छैन । यिनीहरू के हो सत्य के हो तथ्य खोज्दैनन् । यिनीहरूलाई आज बाँच र खुसी होउ होइन कि आज मर र स्वर्गलाई सुरक्षित पार भन्न सिकाएको छ । उनीहरू रिलिजन लागि मर्नु भगवानको सेवा गर्नु हो भन्ने ठान्छन् । यो पागलपन हो ।’

३. यसै समयमा सम्राट कन्सटेस्टाइनले आफ्नो रिलिजन परिवर्तन गरे । तब के चाहियो । सैतानको उन्मुलनका नाममा यिनले सबै मुर्तिहरू तिडे । सेल्सस र प्रोफ्रेरीले पिटाइ खाए । यी नयाँ रिलिजन बोकेका मानिसका दिमागमा कुनै विचार थिएन । यी जत्था बनाएर बस्थे । यिनीहरू हल्ला सुन्थे र त्यसकै भरमा गर्नु–नगर्नु सबै थोक गर्थे । जति दुःख दियो शरीरलाई त्यति नै भगवान खुसी हुन्छन् भन्दै आफैलाई पीडा दिन्थे ।

४. साइरोस्ट्रोम र अगस्टाइन नामका गुरुले आदेश दिए । कविता लेख्ने, दर्शन लेख्ने, पढ्ने सबै सैतानका शिकार भएका छन् । उनीहरूको उद्धार गर्न भगवानले तिमीहरूलाई पठाएको हो । सबै नष्ट गर । तब के चाहियो । रोम समाप्त भयो ।

५. उता पाँचौँ शताब्दीमा अलेजेन्ड्रिया एउटा सुन्दर शहर थियो । इजिप्टका राका टोलोमी दोस्रोले एउटा पुस्तकालय बनाए । यो भब्य भवन अनुपम थियो । संसारभरबाट दार्शनिक, लेखक, गणितशास्त्री बोलाएर सबै देशका ज्ञानका किताब लेख्न लगाए । ल्याटिन भाषामा अनुवाद गर्न लगाए । विश्वका दार्शनिकहरू यहाँ आए । त्यो पुस्तकालयमा सात लाख पुस्तक थिए ।

६.परावलियन नामका नयाँ रिलिजनको फौज थियो । यो पुस्ताकालय सैतान र डिमोन बस्ने घर हो । यसले भगवानलाई चुनौती दिन्छ । सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भनेर सिकाउँछ । त्यसलाई मास । जब गुरुको यो आदेश पाए । आठ सय पराबलियन वा भगवानका भक्त पुस्तकालयमा बन्चरा खुँडा लिएर पसे । एथेनाको मुर्ती लडाए । पुस्तक जलाए । भगवानका नाममा जयजयकार गरे । सैतानको नास भएकोमा उनीहरू खुसी भए ।

७. हकिपोसिया नाम गरेकी एक महिला दार्शनिक थिइन् । उनको ज्ञानबाट दुनियाँ प्रभावित थियो । उनकै दर्शनले सैतान अहिले पनि ज्युँदै छ तेसलाई खत्तम गर, गुरुले आदेश दिए । तब उनलाई समातेर ल्याइयो । कपडा खोलेर नाङ्गै बनाइयो । मार्बलका टुक्राले छाल काडियो । औंला हालेर आँखा निकालियो । तब जयजयकार गरियो । भगवानको आदेशमा सैतानको बध गरियो, उनीहरू उफ्रिए ।

उनीहरूलाई के हो दर्शन थाहा थिएन । के हो ज्ञान थाह थिएन । बस, उनीहरूको दिमागमा एउटा कुरा थियो हामीले जे गरेका छौँ त्यही सत्य हो । उनीहरूका दिमागमा जे थियो त्यही ठिक हो, अरु सबै गलत । उनीहरूले गरे भन्दा फरक अर्को सत्य पनि हुन सक्छ, त्यो मान्न उनीहरू तयार थिएनन् । त्यसैले मानिसका अनुभव र अनुसन्धानले बनाएको ज्ञान उनीहरूले समाप्त पारिदिए । केही दार्शनिक थिए । डामिसियस सबै भन्दा महत्वपूर्ण थिए । उनी प्लेटोको सिद्धान्त पढाउँथे । अरिस्टोटलको सिलिजिजम पढाउँथे । डामिसियसको दिमागमा डिमोन घुसेको ठहर गरियो । अगस्टाइनले भने प्लेटो सैतान हो । सत्य प्रभु मात्र हुन् । डामुसियस र उनका साथीहरू भाहेर पर्सिया गए । सबै पुस्तकहरू खोजी खोजी जलाइयो । युरोपमा अन्धकारको युग शुरु भयो ।

जब विवेक, तथ्य र अनुभव र परीक्षणबाट सत्यको खोजी हुन छोड्छ, समाज बस्नलायकको हुँदैन । आत्मावादी चेतनाले मानिसको सर्वनास गर्छ । जब मानिसले धर्ती नहेरेर अकाशमा हेर्छ सत्य खोज्न, जब मानिसले घटनामा होइन दिमागमा सत्य खोच्छ, दुनियाँ बर्बाद हुन्छ ।

अहिले नेपाली समाज यस्तै छ । फेसबुकमा कोरोना भाइरसका कुरा गरौँ, मानिसका छलफलका कुरा गरौँ, भागाभाग र दौडधुपका गतिविधि हेरौँ, आतङ्क हेरौँ । गर्नुपर्ने के हो मानिसलाई चिन्ता छैन । कसरी जोगिने हो सोच छैन । मात्र छ अल्पज्ञान । मानिस हावामा बतासिएको छ । नजान्ने कोही छैन । कोही गाइको गहुँतको कुरा गर्छ कोही अदुवाको । अनलाइनमा समाचार आउँछ– ‘चीनमा दबाइ बन्यो’, ‘ट्रम्पले गरे खतर्नाक घोषणा’, ‘ओली र प्रचण्डको दूरी बढ्यो’, आदि–आदि । हामी कुन युगमा छौँ ? हाम्रो जनमत कसले बनाउँछ ? सरकार जनमतको जानकारी कसरी लिन्छ ? हामी सत्यको खोजी कसरी गर्छौं ? हामी भावनावादी, अर्काको नाश गर्ने, हल्लामा कुद्ने परावलियन नै रहेछौँ । हाम्रो दुर्भाग्य यही छ ।

सरकार आफू मात्र ठिक छु भन्ने ठान्छ, प्रतिपक्ष आफू मात्र ठिक छु भन्छ, बौद्धिक फेसबुकका सुचनालाई आधार बनाएर तर्क गर्छ, हरेक मानिस जानकारी जति मलाई मात्र थाहा छ भन्ने ठान्छ । तर सत्य र तथ्य के हो कोही खोज्दैन । मेरो भनाई ठिक छ, किनभने मेरा आफ्नै मामाले भनेको हो, किनभने मेरा पार्टीका पत्रकारले लेखेको हो, किनभने मेरा नेताले भनेको, किनभने मेरा जातका, धर्मका, ठाउँका, गुटका मानिसले भनेको, किनभने मलाई चित्त बुझ्यो । यिनै होइनन् हाम्रा सत्यका आधार ? तेसैले हामीसँग डिग्री र मोबाइल भए पनि हामी ज्ञानि हुन सकेका रहेनछौँ । यस्तो समाज ध्वस्त हुन समय लाग्दैन । त्यसैले यथार्थ खोज्न सिकौँ । विज्ञानविनाको ज्ञान खतर्नाक हुन्छ ।