भारतले ‘जेड प्लस’ सुरक्षा दिँदा नेपालमा गम्भीर चिन्ता

भारतले ‘जेड प्लस’ सुरक्षा दिँदा नेपालमा गम्भीर चिन्ता


नेपालको संस्थापन ‘कोरोना भाइरस’ भन्दा बढी चिन्तित ‘राजनीतिक’ कारणले भएको पाइएको छ ।

पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रले केही दिनअघि भारतको भ्रमणमा रहनुहुँदा उहाँलाई अति उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका हुन् ।

खासगरी ‘माओवादी नेता’ प्रचण्डले भारतमा पूर्व श्री ५ लाई दिइएको ‘महत्व’प्रति आफ्ना निकटस्थहरुसँग व्यापक चिन्ता प्रकट गर्ने गर्नुभएको बुझिएको छ ।

त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा र विमलेन्द्र निधि पनि भारतमा पूर्व श्री ५ लाई दिएको विशेष सम्मानलाई लिएर चिन्तित हुनुभएको बताइन्छ ।

स्मरणीय छ, गत फागुनको पहिलो साता भारत भ्रमणमा जानुभएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र सोही महिनाको १८ गते स्वदेश फर्कनुभएको थियो । उहाँलाई नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिने वित्तिकै ‘जेट प्लस’ सुरक्षा दिइएको थियो ।

उहाँ बस्नुभएको प्रिन्सेस होटलको बाहिर ‘जेट प्लस’ सुरक्षा टोली अहोरात्र खटिएको थियो भने दिल्लीबाट पञ्जाबको अमृतसर पुग्दा र फर्कनु हुँदा पनि उहाँलाई सोही सुरक्षाको व्यवस्था गरिएको थियो ।

भारतमा रहनुहुँदा उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागी हुनुभएका पूर्व श्री ५ बाट भारतीय संस्थापनका प्रभावकारी एवम् अति उच्च तहका नेताहरुसँग छलफल भएको बताइन्छ । कतिपय बैठक त सँगै दिल्ली पुगेका नीजि सचिव सागर तिमिल्सिनालाई समेत सुईँको नदिइकन भएको थियो ।

दिल्लीबाट फर्कनुभएको दुई साता नबित्दै पूर्व श्री ५ महाराजधिराज गत साता (चैत्र २ गते) काठमाडौंबाट झापा प्रस्थान गर्नुभएको छ ।

झापामा उहाँ कति समय रहनुहुने भन्ने यकिन भइसकेको छैन । झापामा रहँदा पूर्व श्री ५ बाट विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल भइरहेको बुझिएको छ । उहाँसँग काङ्ग्रेस नेता विपिन कोइरालाको पनि गम्भीर वार्तालाप भएको जानकारी प्राप्त भएको छ ।