पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, थप एकको अवस्था गम्भीर

पोर्चुगलमा तीन नेपाली क्वारेन्टाइनमा, थप एकको अवस्था गम्भीर


छविलाल बगाले, यूरोप

केही दिनअघि पोर्चुगलको फारोस्थित एक कृषि कम्पनीमा कार्यरत ७४ नेपालीमा कोरोनाको संक्रमण भई क्वारेन्टाइनमा राखिएको खबर बाहिरिएपछि नेपाली समुदायमा त्रास फैलियो । ढिलागरी पोर्चुगल छिरेको कोरोनाबाट सजग नभएकाहरु पनि यो खबरले थप चनाखो बने । ७४ जना नेपाली संक्रमित भएको खबर पोर्चुगलमा मात्रै नभई नेपालसँगै यूरोपका हरेक देशमा रहेका नेपाली अनलाइनदेखि पत्रपत्रिका र टेलिभिजनमा पनि प्रकाशित भए । यति मात्रै होइन् पोर्चुगलका आधिकारिक संचारमाध्यमले पनि ७४ नेपाली नै क्वारेन्टाइनमा रहेको भन्दै एकोहोरो रुपमा समाचारहरु सम्प्रेषण गरे ।

घटना घटेको थाहा पाएपछि व्यवसायी एवं समाजसेवी कमलमान गुरुङ र दोभासे कमल भट्टराई घटनास्थलमा पुगे । दुवैजनाले घटनास्थलमा ७४ जना नेपाली नभई तीनजना क्वारेन्टाइनमा रहेको र एक जनाको अस्पतालमा उपचार भइरहेको भन्दै आफ्नो फेसबुकमार्फत लाइभ गरे । तर उनिहरुको यो कुरा कसैले मान्न तयार भएनन् र घटनाको विषयमा उल्टै राजनीति गरेको आरोप घटनास्थल पुगेका गुरुङ र भट्टराईले खेप्नुपऱ्यो ।

वास्तविकता बुझ्न हामीलाई निकै गाह्रो पऱ्यो । पोर्चुगल सरकारले आपतकालिन घोषणा गरेपछि हामी पनि घटनास्थलसम्म पुग्न सकेनौं । फोन र सामाजिक संजालमार्फत घटनाको वास्तविकता बुझ्ने प्रयास गऱ्यौँ । फारो पुगेर फर्किएका व्यवसायी गुरुङले तीन नेपाली क्वारेन्टाइन र एकजना अस्पतालमा उपचारको क्रममा रहेको जानकारी दिए । ‘क्वारेन्टाइनमा रहेका तीनको अवस्था सामान्य नै छ भने अस्पतालमा भर्ना भएका एकको अवस्था केही जटिल छ ।’ उनले भने, ‘अस्पतालमा कोही जान नपाउने भएकोले उपचारमा संलग्न चिकित्सकहरुसँग नियमित रुपमा जानकारी लिने काम भइरहेको छ ।’

यता, नेपालीमा संक्रमण फैलिएपछि लिस्वनस्थित नेपाली वाणिज्य दूतावासले पनि विरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, चेकजाँच र सुरक्षामा आवश्यक ध्यान पुऱ्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कुटनितिक पहल गरिरहेको छ । बाणिज्यदूत मकर बहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए । उनले पोर्तुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपतमा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कसरी आयो ७४ नेपालीको हल्ला ?

केही दिनअघि मात्रै फारोस्थित ‘केयरफुल’ नामक कृषि कम्पनीमा कार्यरत एक नेपाली सामान्य घाँटी दुखेपछि साथीको सहायतमा नजिकैको अस्पताल पुगे । अस्पतालका चिकित्सकले दुवै जनालाई जाँच गर्नेपर्ने बताएपछि बिरामीको साथी बनेर गएका एक नेपाली युवा भागेका थिए । अस्पताल र स्थानीय प्रशासन उनको खोजी गर्दा ‘केयरफुल’ कम्पनीका कामदार बस्ने क्याम्पमा पुगेपछि सबैलाई क्वारेन्टाइनमा लगेको एक नेपालीले फोनमार्फत हामीलाई जानकारी दिए । ती नेपाली युवाकाअनुसार अहिले क्वारेन्टाइनमा तीन नेपाली, सात पाकितानी, तीन बंगलादेशी र अन्य ३९ जना भारतिय नागरिक छन् । यस्तै एक नेपाली र अन्य केही विदेशीमुलका नागरिकहरुलाई छुट्टै राखेर उपचार गराइएको बुझिएको छ । अहिले नेपालीसहित ५७ जना नागरिक क्वारेन्टाइनमा छन् ।

नेपालदेखि क्वारेन्टाइनसम्म

उपचारका क्रममा रहेका एक र क्वारेन्टाइनमा रहेका तीन नेपाली एक महिना अघिमात्रै नेपालबाट आएको बुझिएको छ । उनिहरु माल्टाबाट पोर्चुगल छिरेका थिए । ति युवाहरु फारोस्थित ‘केयरफुल’ नामको कृषि कम्पनीमा काम गर्दै आएका हुन् । आफुहरुलाई भेट्नका लागि  दुई नेपालीबाहेक अन्य कोही पनि नआएको उनिहरुको गुनासो छ । यता, एनआरएनए पोर्चुगल भने आफ्ना प्रतिनिधी पठाएको दावी गर्छ । एनआरएनएले कोरोनाको संक्रमणमा परेका नेपालीका लागि भन्दै ‘छुट्टै हेल्प डेस्क’ को स्थापना गरेपनि आफूहरुलाई वेवास्ता गरेको गुनासो गरेका छन् ।

कमलको कमलो मन

पोर्चुगलका आधिकारिक संचारमाध्यमहरुमा फारोको एक कृषि कम्पनीमा कार्यरत नेपाली युवामा कोरोनाको संक्रमण भएको थाहा पाएपछि युवा व्यवसायी गुरुङ घटनास्थल पुगेका थिए । धेरै नेपाली संक्रमित भएको थाहा पाएपछि गुरुङले आवश्यक खाद्यान्न लिएर उनिहरु बसेको ठाउँमा पुगेका थिए । गुरुङले नेपालीका लागि दाल, चामल, चाउचाउ, तरकारीजस्ता खाद्यान्न ल्याइदिएको नेपालीहरुले बताएका छन् । ‘म उनिहरुको सम्पर्क मै छु । उनिहरुलाई केही समस्या परे आफूले सकेको सहयोग गर्छु ।’ गुरुङ भन्छन्, ‘उनिहरु सबै सुरक्षित भएकोले चाँडैं क्वारेन्टाइनबाट फर्किन्छन् ।’ क्वारेन्टाइनमा राखिएका कसैमा पनि कोरोना संक्रमण नदेखिएको उनले बताए ।

एनआरएनए पोर्चुगल किन बेखबर ?

फारोमा नेपाली कामदारलाई भएको कोरोना संक्रमणप्रति एनआरएनए पोर्चुगल बेखबर बनेको आरोप छ । एनआरएनए पोर्चुगलले कोषाध्यक्ष बिक्रमजंग कुंवरको संयोजकत्वमा सहयोग समन्वय समिति (हेल्प डेस्क) को गठन गरेपनि क्वारेन्टाइन र अस्पतालमा रहेका नेपालीलाई सहयोग नगरेकोप्रति नेपाली समुदाय आक्रोशित छन् । अहिले एनआरएनएले गर्नुपर्ने काम व्यक्ति विशेषले गर्र्दै आएकोले पनि विरोध हुनु स्वभाविक पनि हो । यता, सहयोग समन्वय समितिका संयोजक कुंवर भने अलगावको अध्यक्ष अनिल शर्मा, उपाध्यक्ष देवेन्द्र पुन, केन्द्रका उपाध्यक्ष मक्षिन्द्र अर्याल लगायतले अस्पतालमा पुगेर आएको दावी गर्छन् । उनका अनुुसार एकैपटक धेरै जना जान नमिलका कारण त्यस क्षेत्रका प्रतिनिधीलाई पठाइएको हो । कुंवरले कोरोनाका कारण अत्यावश्यक खाद्यान्न लगायतका वस्तुहरुको अभाव भएको ठाउँमा राहत वितरण गर्ने तयारी भएको उनको भनाई छ ।

पोर्चुगलमा कोरोनाका संक्रमित बढे

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा पनि बढ्दो छ । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १२ जनाको ज्यान गएको छ भने एक हजार २ सय ८० जनामा संक्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । संक्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपतकालिन’ घोषणा पनि गरिसकेको छ । एक तथ्यांकअनुसार पछिल्लो चौविस घण्टामा २ सय ६० जना नागरिकमा नयाँ संक्रमण देखिएको छ । यस्तै, २६ जनामा कोरोनाको जटिल संक्रमण देखिएको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।

फारोस्थित क्वारेन्टाइनमा रहेका नेपालीलाई भेटेर फर्किएका व्यवसायी कमलमान गुरुङसँग गरिएको कुराकानी-