खेतीपातीउपरको वानर–आतङ्क

खेतीपातीउपरको वानर–आतङ्क


तिलक पौडेल

‘वा’ माने अथवा, ‘नर’ माने मान्छे ! डार्बिनले मान्छे बाँदरको विकसित रूप हो भनेर व्याख्या गर्नु पहिल्यै आदिभाषा संस्कृतमा वानरलाई ‘अथवा मान्छे’ भनेर अर्थ्याइसकेको प्रतीत हुन्छ । सामान्यतः १३५ दिनदेखि १९४ दिनसम्मको गर्भधारण अवधि भएका, १५ देखि २५ वर्षको आयु भएका र २० देखि १८० वटा सम्मको जमातमा हिँड्ने यस धरामा पाइने वानरहरूलाई जीवविज्ञानले MACACA परिवारअन्तर्गत त्जThe Japaneqme Macaque, The Moor Macaque (लोपोन्मुख),The Rheqmuqm Macaque, The Tibetan Macaque, The Toque वर्गमा विभाजन गरेको पाइन्छ । हालमा यिनै मान्छेजस्ता वानरले के पूर्व, के पश्चिम जताकतैका गाउँगाउँमा लगाइएको खेतीउपर धावा बोलिरहेको पाइँदा सरोकारी निकाय तथा व्यक्तिहरूबाट समाधानतर्फ समीचीन पहलका लागि स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा आधारित भई यो आलेख तयार पारिएको छ ।

‘चे, चे, लहै, लहै’… जोरजोरले चिच्याइएका आवाजहरू ध्वनित एवम् प्रतिध्वनित भइरहेछ ।

‘ऊ… हर्जामुनिको वरको रूखमा बगालै ग’र बसे’ ।

‘धपाएर पारितिर कटाम्न पाए !’ जस्ता मनमा उठेका व्यहोराहरू पनि अरूहरूलाई सुनाउन जस्तै ठूलो आवाजमा पोखिएका छन् ।

बिहान ४ बजेदेखि साँझको ७ बजेसम्म हारी पस्न लागेका मकैलाई जोगाउन घरघरबाट लट्ठी लिएर बाँदर धपाउन आ–आफ्नो जग्गामा धर्ना बसेका छन् । समयमा खानु छैन, घामपानीको वास्ता छैन, लगाएको बाली पाक्ने बेलामा बाँदरको आतङ्कपीडित हुनुपर्दा सबैमा ‘आपका कमाइ’को अपनत्व पलाएको छ ।

हुन पनि कामविशेष धनकुटा पुग्दा, भेडेटार बस्दा, भनौँ विराटनगरमा रहँदा पनि कृषिबालीको चर्चा गर्दा बाँदरको आक्रमणलाई शून्य नपारेसम्म कुनै पनि खेती गर्नुको औचित्य छैन भन्ने सुझावहरू प्राप्त भएथे । स्याङ्जाकै भिरकोट नगरपालिकामा जाँदा होस् वा पुतलीबजारको सतौँ जाँदा बाँदरको बिगबिगी नरहेको भन्ने कुरा कतै सुन्न पाइएन ।

वास्तवमा साबिकमा जङ्गलको छेउछेउसम्म खेती गरिन्थ्यो, परिणाम बाँदरलाई आहाराको खोजीमा गाउँ पस्न पर्दैनथ्यो । कदाचित गाउँ पसेमा एक–दुईवटा बाँदरलाई दश–पन्ध्र जनाले घेरा हाल्दथे । सके पक्रिन्थे, नभए सातो जाने गरेर भगाउँथे । ‘मैले जान्दा कालीखोलाको छेउमा घामपानीबाट जोगिन सानो छाप्रो बनाएर, हाफटिन काटेर भित्रपट्टि काठको रालो हालेर बजाई बाँदर धपाएकोबाहेक गाउँमा पसेको जानिएन’ आमाले मामासँग सेयरिङ गर्दै हुनुहुन्थ्यो भने मामाले गुलेली किनेर ल्याइएको रहेछ, मट्याङ्ग्राहरू जम्मा पारेर आँपका रूखतिर ढुङ्गा हान्दै ‘तेरा बाउका काट्टा’ भनेर गाली गरेको सुन्दा मलाई नौलो लागिरहेको थियो ।

आखिर उल्लिखित जानकारहरूको अभिव्यक्तिले निम्न प्रसङ्गलाई प्रमाणित गरिदिएको महसुस भयो–

१) हाम्रो खेती प्रणालीमा मेसिनको प्रयोग नहुँदा अर्थात् यान्त्रीकीकरण नहुँदा जोतखन–रोपणलगायतका काममा लाग्ने कृषि मजदुरहरूलाई दिइने ज्यालाभन्दा त्यो जमिनबाट हुने उत्पादन कम हुन्छ । यातायातको सुविधा गाउँगाउँमा पुगेको हकमा बाहिर देशहरूमा मेसिनको प्रयोगबाट फलाएको फसल सस्तो मूल्यमा घरछेउमै उपलब्ध छ । प्रायः घरबाट स्वदेशी वा विदेशी रोजगारीमा संलग्न छन् । यसले दाम पैसालाई हलुङ्गो बनाएको छ । फलस्वरूप खेतीमा दुःख गरेर घाटामा पर्नुभन्दा सस्तो खाद्यान्न खरिद गर्न थालिएको छ । परिणाम वनजङ्लवरिपरिका बञ्जर पाखा पखेराहरूमा खेती गर्न छाडिएको हुँदा बाँझै छन् । त्यसकारण बाँदरहरू आफ्नो जीविकाका लागि घरवरिपरि लगाइएको खेतीबाली खान आउन बाध्य भएका हुन् ।

२) बाँदरको सङ्ख्या वृद्धिदर बढ्यो, गाउँमा बस्ने मानिसको सङ्ख्या घट्यो । पहिले–पहिले हाम्रो घेराबन्दीमा पर्ने बाँदर अहिले हाम्रा घर कुरेर बसेका बुढा बाउआमाहरूलाई घेराबन्दी गर्न सफल भएको पाइयो । हिजो पल्तिर आमाले भन्नुहुन्थ्यो, ‘आँपका बुटा आ’को बाँदर लखेट्न ढुङ्गो फालेकी त उल्टै हिँ–हिँ अरेर गिज्याम्च ए’ । हुन पनि बाँदरले आमा, दिदी, बहिनीहरूलाई अटेरी गरेको अनुभव गाउँमा सबैले गरिएको रहेछ । यसरी बाँदरको सङ्ख्या धेरै भएपछि ‘बाँदर नीति’ आफूले खेती पनि नगर्ने अनि अरूले लगाएको पनि बिमाख पर्ने रूपमा लागू भएको महसुस भयो ।

अस्ति फप्रेटा माइजूले ‘चार–पान्दिन त सबै शरीर दुखुञ्जेल ढुङ्गा हान्ने, बिहान सूचीनिची पनि नगरी लट्ठी लिएर खेतमा मकै कुर्न जाने गरियो । बेलुकापख ३०–४० वटाको बथान पसेर हारीसमेत नपसेका मकैहरू भाँच्ने, कोपर्ने, भुत्ल्याउने गरेर सखापै पारेपछि हिजो’ट जानै छाडेँ बाबु ! अब अरू खेती पनि किन लाम्नी हो र ! बाँदर पल्किहाले ।’ भन्नुहुन्थ्यो । यो व्यहोरामा समर्थन जनाउने अरू गाउँलेहरू पनि भेटिनुभयो ।

एक दिन बेलुका हाम्रै फूलबारीमा ४०–५० वटाको बथान आएर वास बसे । आमाले ‘७ बजेपछि त खेतबारीमा जाँदैनन्, वास बस्न आएका हुन्– धपाउनुपर्दैन’ भन्नुभयो । मामाले पनि समर्थन जनाउनुभयो । तर, भोलिपल्ट बिहान नित्यकर्मका क्रममा सूचीनिची गरी योगादि गर्न थाल्दा (५ नबज्दै) रूखका हाँगामा कुर्लेसी (हाँगाहरू हल्लाएर खेलिने खेल विशेष) खेल्न थालिहाले । म पनि योग गर्न छाडेर बाँदर धपाउन गुलेलीले ढुङ्गा हान्न थालेँ । गुलेली ताकेको देखेपछि बाँदरहरू डराउँदा रहेछन् ! यो पनि सँगालिएको अनुभव हो रहेछ ।

डोकाभरि बाँदरले च्यातेका मकैका भुत्ला र डाँठ बोकेर आएका हरिबाबुले भारी देखाउँदै भने, ‘काका ! यस्तो भएपछि अब हामीले के खाने हो ? बाँदरले सक्यो सबै । अब भोलिदेखि त खेतमा जानुको अर्थ छैन । कताकति २–४ बोट झुक्किएर रहेका छन् ।’ मैले ‘त्यसो भए यी डाँठ पनि नकाटेको भए, फेरि आउँदा पनि झुक्किन सक्थे होला बरु !’ थपेँ । ‘अँ त नि !’ यस्तै वार्ता भए । वासुदेवले भन्दै थिए, ‘कस्ता भएछन् त मकै भनेर हिजो ल्याएर उसिनेको त उही बाँदरले झैँ चिथोरेर, कोपरेर खान पनि नमिल्ने अवस्थाका रहेछन् । अब १०–१५ दिन जोगाउन पाए त थन्क्याइदिँँदा पनि हुने थियो ।’ गाउँका सबै घरबाट कम्तीमा कुरियाको एकजनाका दरले आ–आफ्नो जग्गाको डिलमा बिहान सबेरै बाँदर लखेट्न भनेर ड्युटी गरिरहेछन् बिचरा गाउँलेहरू ! घाटा व्यवसायको संरक्षणका खातिर ।

यस्तो प्रकारले बाँदरले बाली बिमाख पार्ने आतङ्क मच्चाएपछि समाधान क्रसरी गर्ने होला त भनेर मैले जिज्ञासा राख्दा प्राप्त स्वच्छन्द सुझाव, प्रतिक्रियाहरू निम्नानुसार रहे –

१) बाँदर मार्न छुट हुनुपर्ने : एउटा बाँदरलाई मारेर खेतबारीको छेउमा झुन्ड्याइदिने हो भने त्यो ठाउँमा बाँदर आउँदैनन् रे ! तर यी पशुपक्षीका अधिकारवादीहरूले मारेको थाहा पाई उजुर गरेमा हत्याराको हिसाबले सजाय हुन्छ रे ! हत्यारा हुनुभन्दा त भोकै बस्नु ठीक !! जस्तो व्यहोराको सुझाव प्राप्त भयो ।

२) बन्ध्याकरण गर्नुपर्ने : पुरुष बाँदरहरूलाई पक्रेर नसबन्दी गरिदिनुपर्ने । यसो गरेमा बाँदरको सन्तानोत्पादन नहुँदा सङ्ख्या वृद्धि रोकिने थियो । अनि अहिलेका बाँदरहरू १०–१५ वर्षमा बुढा भएर मर्दै जाने थिए, नयाँ जन्मने थिएनन् । बाँदरै सकिएपछि आतङ्क हुने त कुरै भएन ।

३) वासस्थान हटाउनुपर्ने : मूलतः बस्ती र खेतीपाती भएका ठाउँवरिपरिको रूख बिरुवाहरू फाँडेर उघारो बनाइदिने हो भने बाँदरले या त खोच, दुला खोजेर बस्नुपथ्र्यो नत्र वनमै फक्रनुपर्दथ्यो । यसो हुँदा वनबाट आएर फेरि वनमै फर्कंदा बाँदरलाई अहिलेजस्तो खेती बिमाख पार्ने समयकै अभाव हुने हुँदा बाली जोगिने थियो । तर, भइरहेको हरियाली मास्नु पनि उचित होइन नै ।

४) बाँदरपालन : गाउँका परिवारको जग्गाअनुसारको औकातलाई मध्यनजर गरी कम्तीमा एउटादेखि आवश्यकताअनुसारका बाँदरहरूलाई कुनै हिसाबले पक्रने र घरघरमै पाल्ने । यसो गर्दा बालीनाली जोगिने थियो एकातिर भने पालेका बाँदरलाई सीमित मात्रामा खान दिँदा भइहाल्थ्यो । बरु यसरी बाँदरपालन गर्दा भाले–भाले वा पोथी–पोथी वर्गलाई एकाघरमा पाल्न लगाउनु उपयुक्त हुन्छ । यसो गर्दा सन्तानोत्पादन नहुने हुँदा पालिएका बुढिएर मर्दै जाँदा बाँदरै मासिन सक्थे ।

५) अन्न तथा फलफूल खेती नगर्ने : बाँदरले खाने प्रकृतिको खेती नगरी पशुपालन, पक्षीपालन, कीटपालन गर्ने र जग्गामा घाँसखेती, फूलखेती लगाउने हो भने पनि बाँदरले खेतीबाली नष्ट गरेर आतङ्क मच्चायो भनिरहनु नपर्ने देखिन्छ । यसो गर्दा आवश्यक खाद्यान्न आपूर्तिको व्यवस्था सरकारले मिलाउनुपर्छ भने उत्पादनको बजार व्यवस्था पनि मिलाइदिनुपर्ने हुन्छ ।

यी त भए स्थानीय व्यक्तिसँगको कुराकानी हुँदा पर्यावरणीय प्रतिकूलताप्रति वास्ताहीन बन्दै प्राप्त हुन आएका स्वच्छन्द सुझावहरू । यथार्थतः बाँदरहरूको आतङ्कलाई रोक्नैपर्ने अवस्था यत्रतत्र सर्वत्र देखिएर नै संसद्मा पनि विषय प्रवेश भएको छ । तसर्थ समयमै सरोकारी सबै पक्षबाट अहिलेको खाँटी आवश्यकता पूर्तितर्फ समुचित पाइला चालिहालौँ ।

‘सके सपारौँ, नसके नबिगारौँ’

यी पनि पढ्नुहोस्-

नारीशक्ति पूजन र रेड एरिया
नासाविके, मदन राई र नौलो प्राङ्गारिक खेती प्रणाली
छाउपडी गोठ नभत्काई सुधार गरे राम्रो होला कि !
अश्लीलता, विकृति र इन्टरनेट सेवा