कोरोना युद्ध !

दीपेन्द्र पाण्डे



महाभारत युद्धलाई (कौरव र पाण्डवको) धर्मयुद्ध भनिन्थ्यो । यस युद्धमा कुनै मानिस निष्पक्ष थिएनन् । महाभारत युद्धमा दुवैतर्फले विश्वास गर्न सक्ने तटस्थ व्यक्तिमा बलराम र उडुपी राज्यको राजा मात्र थिए । भगवान् कृष्णले युद्ध नलड्ने (दुवैतर्फबाट) यी दुई पात्रलाई भोजन र पानी इन्तजाम गर्न सक्ने इजाजत दिएका थिए । उडुपी राजा दुवैतर्फका सैनिकको निम्ति भोजन बनाउँथे । हरेक दिन असङ्ख्य सैनिक मर्दा पनि खाना खेर नजाओस् भन्ने हेतुले राजा एवम् भान्से उडुपीले भगवान् कृष्ण सुत्ने ठाउँमा बदाम राख्ने गर्दथे । भान्से उडुपीले गनेर राखेका बदाम हरेक दिन भगवान् कृष्णले केही मात्रामा खाने गर्दथे । कृष्णले खाएर छाडेका बदामबाट भोलिपल्ट पकाउने खानाको हिसाब निकाल्थे ।

यतिबेला विश्व विचित्रको धर्मयुद्धमा फसेको छ । विश्व स्वास्थ्य सङ्गठनले महामारीको रूपमा घोषणा गरेको यस युद्धमा विश्व एकातर्फ छ भने कोरोना भाइरस उर्फ कोभिड–१९ अर्कोतर्फ । गत मार्च ११ तारिखमा विश्व स्वास्थ्य सङ्गठनले तीव्र रूपमा फैलिने कोरोना भाइरसको महामारीको घोषणा गऱ्यो । डब्ल्यूएचओको आँकलन सही हुन पुगेमा यो भाइरस सम्भवतः विश्वका सबै देशमा चाँडै नै फैलिनेछ । यस भाइरसको असरलाई गम्भीर ढङ्गले बुझेका डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रेयससले भनेको अवस्था अझ नराम्रो हुनेछ । उनी भन्छन्, ‘हामी घटनाको संख्या, मृत्युको सङ्ख्या र प्रभावित देशहरूको संख्या अझ बढी हुने सङ्केत देखिरहेका छौँ ।’

राज्यनियन्त्रित चिनियाँ मिडिया शुरुका दिनमा विश्वलाई भाइरसबारे जानकारी दिन अनिच्छुक थियो । जब परिस्थिति काबुबाहिर जाने आकलन गरियो । उनीहरू यसको भयावह रूप उजागर गर्न बाध्य भए । अथाह मिहिनेत र अतुलनीय कुर्वानीको मिसाल कायम गर्दै युद्धकै शैलीमा कोरोना भाइरसलाई पराजित गर्न सफल चिनियाँ चिकित्सक र त्यस अभियानमा संलग्न तमाम पदाधिकारीले राष्ट्रपति सी’लाई वुहान भ्रमण गराउन सफल हुँदा बाँकी विश्वसमेत हैरान छ ।

कोरोना भाइरसले शक्तिशाली राष्ट्रलाई नमिठो पाठ पढाएको छ । आर्थिक र मनोवैज्ञानिक युद्धमा सम्पूर्ण विश्वलाई रूपले पराजित गर्न सफल ‘कोरोना युद्ध’ले विश्वलाई लकडाउनतर्फ मोड्दै छ । विशेषगरी हवाई क्षेत्र र पर्यटनलाई लामो समयसम्म थला पार्न सफल यस भाइरसले अमेरिका र चीनलाई भूमिका परिवर्तन गर्न बाध्य पार्ने खतरा अकस्मात् चुलिएको छ ।

राष्ट्रपति सी र सचिव टिलरसनका भाषणले चीन र अमेरिकाको हैसियत र भविष्यबारे बताएको छ । रेनमिन विश्वविद्यालयका प्राध्यापक झाँग मिङ्ले भनेका छन्, ‘यो स्पष्ट छ कि सीले पहिले वुहान भ्रमण गर्न सकेनन् किनभने त्यहाँ उनलाई भाइरस हुने खतराको सङ्केत शुरुमा भएको थियो,’ उनले थपे, ‘उहाँ अब बाली काट्न त्यहाँ हुनुहुन्छ ।’ हो, राष्ट्रपति सी गत मार्च १० मा वुहानमा बाली काट्न पुगे । कोरोना भाइरस महामारीको थालनीपछि वुहानको पहिलो भ्रमणमा राष्ट्रपति सीले वुहान यात्राको क्रममा महामारीविरुद्ध लड्दै आएका चिकित्साकर्मी, सैन्य अधिकारीहरू र सैनिकहरू, सामुदायिक कार्यकर्ता, अधिकारी र स्वयम्सेवकको साथै बिरामी र त्यहाँका बासिन्दालाई भेट गरे । आदर व्यक्त गरे । गत वर्षको अन्तमा हुबेई प्रान्तको राजधानी वुहानमा पहिलोपटक देखापरेको कोरोना भाइरस हाल उनीहरूको नियन्त्रणमा आएको जनाइएको छ, तर भाइरसको फैलावट इटाली, इरान र दक्षिण कोरियातिर महामारीको रूपमा बसाइँ सरेको छ । जसको कारण डब्ल्यूएचओले कोरोना भाइरसको असली तागतलाई गम्भीर रूपमा महसुस गर्दै भनेको छ– यो आधिकारिक रूपमा महामारी हो । तर, हामी यसको मार्ग परिवर्तन गर्न सक्छौँ ।

कोरोना भाइरसको प्रभाव अमेरिकी चुनावमा !

यसै वर्षको नोभेम्बरमा हुने संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा कोरोना भाइरसको जबर्जस्त प्रभाव पर्ने आकलन अमेरिकी मिडिया र राजनीतिक विश्लेषकहरू गर्दै छन् । जनवरी र फेब्रुअरीमा अमेरिकी सत्ताले बेवास्ता गरेको स्वास्थ्यसेवाको मुद्दा पछिल्लो समयमा गम्भीर ध्यानाकर्षण गर्न सफल हुँदै छ । स्थिति परिवर्तन भएको छ । अमेरिकाले एक प्रमुख सार्वजनिक स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ । वर्तमान समयमा अमेरिकी राजनीतिमा कोरोना भाइरस पहिलो प्रश्न र प्रमुख मुद्दा बन्दै छ । भाइरसको प्रकोपले चुनावलाई गम्भीर असर गर्न सक्ने मिडियाले उल्लेख गरेका छन् ।

संयुक्त राज्य अमेरिकामा भाइरसको फैलावटपछि ट्रम्प प्रशासनको असली क्षमता जनताले देख्नेछन् । राष्ट्रपति ट्रम्पको हल्का कमेन्ट सुन्न विवश जनताको ध्यान खिच्दै न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोनोले सीएनएनमा भने, ‘यो विशाल सरकार परिचालन हो, जुन तपाईंलाई व्यवहार गर्न वास्तविक सरकार चाहिन्छ । यो राजनीतिक होइन । तपाईंले यो कुरा ट्विटरमा गर्नुहुन्न । यो सरकारी बच्चा हो, यो यस्तै हो ।’

भाइरसको प्रभाव जनताको मनमा डेरा जमाउन सफल भएको छ । अन्ततः राष्ट्रपति ट्रम्प योजनाबद्ध कार्यक्रम स्थगित गर्न बाध्य भएका छन् । उत्साहजनक समर्थक हस्ताक्षर र भाषणले अभियानलाई गति दिन्छ भन्ने मान्यतामा विश्वास गर्छन्, तर कुनै जुलुस छैन । चुनावी अभियान भर्चुअल बन्दै छन् । नोभेम्बरमा परिस्थिति कस्तो देखिन्छ भनेर कसैलाई थाहा छैन । भाइरस समाहित हुन सक्छ वा हुन सक्दैन । तर, यसको परिणाम, सामाजिक र आर्थिक, गहिरा चोट छोड्ने करिब निश्चित बन्दै छ । नेतृत्व, इमानदारी र समानुभूतिको खाँचो रहेको विषम परिस्थितिमा हुने राष्ट्रपति निर्वाचन अमेरिकी राजनीति र जनताको निम्ति नयाँ सङ्कट बनेर उदाएको छ ।

सी प्रशासनले जितेको युद्ध !

जनताको सुरक्षा र स्वास्थ्य सधैँ पहिलो हुन्छ भन्ने राष्ट्रपति सीको धारणा वुहानबाट पुष्टि भएको छ । चीनले आफ्ना सबै स्रोत भाइरसको फैलावट रोक्न परिचालन गरिरहेको छ । चिनियाँले साझा खतराको सामना गर्न सामूहिक प्रतिबद्धता देखाए । उनीहरूको रोकथाम र नियन्त्रण प्रयासले महामारीविरुद्धको लडाइँको मोडलाई बदलिदिएको छ । तर, मुलुकले पूर्ण विजय प्राप्त नगरेसम्म लडाइँ जारी राख्न प्रतिबद्ध छ ।

प्रकोपको प्रारम्भिक दिनमा रोगको फैलावटलाई नियन्त्रण गर्न सहर लकडाउनमा राखियो । ‘चिनियाँ जनताले महामारीविरुद्ध गम्भीर लडाइँ लडेका छन्,’ चिनियाँ राष्ट्रपति सीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियससलाई भेटेर भने । जनताको सुरक्षा र स्वास्थ्य जहिले पनि पहिले नै आउँछन् । भाइरसको रोकथाम र नियन्त्रण देशको सबैभन्दा महत्वपूर्ण काम हो । राष्ट्रपति सीको आदेशलाई देशले सम्मान गर्दा आज चीन विश्वको ध्यान खिच्न सफल भएको छ । चीनको सफलताले विश्वव्यापी ध्यान आकर्षित गर्दै छ ।

अमेरिकी सेनाले नोबेल कोरोना भाइरसलाई मध्यसहर वुहानमा ल्याए जहाँबाट यो प्रकोप शुरु भयो । गत अक्टोबरमा वुहानमा आयोजित अन्तर्राष्ट्रिय सैन्य विश्व खेलमा अमेरिकी सेना सहभागी भएको थियो । प्रवक्ता झाओले आफ्नो आरोप स्पष्ट रूपमा अमेरिकी सेनासँग जोडेका छन् ।

कोरोना भाइरसको जन्मदाता अमेरिकी सेना !

गत १३ मार्चमा सारा सेङले साउथ चाइना मर्निङ पोस्टमा एउटा लेखमार्फत चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस ल्याएको दाबी प्रकाशित गरेसँगै विश्व नराम्रोसँग झस्किन बाध्य भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूले कोरोना भाइरसलाई एक ‘विदेशी भाइरस’को रूपमा वर्णन गर्न खोजेको समयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले ट्विटरमा लेखेका छन् । ‘यो आश्चर्यजनक छ कि यसले मैले विश्वास गर्ने थुप्रै चिजहरू परिवर्तन गरेँ,’ प्रवक्ता झाओले शुक्रबार (१३ मार्चमा) आफ्नो आधिकारिक खातामा लेखे । अमेरिकी सेनाले नोबेल कोरोना भाइरसलाई मध्यसहर वुहानमा ल्याए जहाँबाट यो प्रकोप शुरु भयो । गत अक्टोबरमा वुहानमा आयोजित अन्तर्राष्ट्रिय सैन्य विश्व खेलमा अमेरिकी सेना सहभागी भएको थियो । प्रवक्ता झाओले आफ्नो आरोप स्पष्ट रूपमा अमेरिकी सेनासँग जोडेका छन् । सयभन्दा बढी देशका प्रतिस्पर्धीले भाग लिएको उक्त खेलपछि अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस छोडेको उनको धारणाको अमेरिकी दूतावासका प्रवक्ताले टिप्पणी गर्न अस्वीकार गरे ।

अमेरिकी विदेशसचिव माइक पोम्पिओले ‘वुहान भाइरस’ भन्ने शब्द प्रयोग गरेसँगै रुष्ट भएको चीनले प्रवक्ता झाओको ट्विटपछि कुनै प्रतिक्रिया जनाएको छैन । पोम्पिओले वासिङ्टनमा गत हप्ता तर्क गरे कि ‘हामीलाई थाहा छ, यो कहाँबाट शुरु भयो ।’ चिनियाँ कम्युनिस्ट पार्टीले यो वुहानबाट आएको भन्यो भन्दै माइक पोम्पिओले उक्त कुरा उल्लेख गरेका थिए । सचिव माइकको दाबीलाई प्रवक्ता झाओको ट्विटले जवाफ दिएको बुझ्नेहरू गत हप्ता झाओले पत्रकारहरूलाई गरेको ब्रिफिङमा भनेको कुरा उल्लेख गरेका छन् । चीन ‘भाइरसको उत्पत्तिबारे कुनै निष्कर्षमा पुगेको छैन’ र चीनमा यसको उत्पत्ति भएको भन्ने लेबल लगाउने ‘बाहिरी मनसाय’लाई स्वीकार गर्दैन । वास्तवमा कोरोना भाइरसको उत्पत्ति चीनमा भएको थिएन ।

अन्तमा,

कोरोना भाइरसले शक्तिशाली राष्ट्रलाई नमिठो पाठ पढाएको छ । आर्थिक र मनोवैज्ञानिक युद्धमा सम्पूर्ण विश्वलाई रूपले पराजित गर्न सफल ‘कोरोना युद्ध’ले विश्वलाई लकडाउनतर्फ मोड्दै छ । विशेषगरी हवाई क्षेत्र र पर्यटनलाई लामो समयसम्म थला पार्न सफल यस भाइरसले अमेरिका र चीनलाई भूमिका परिवर्तन गर्न बाध्य पार्ने खतरा अकस्मात् चुलिएको छ । वर्तमान समयमा आफूलाई भगवान् कृष्ण सम्झने अमेरिका सन् १९८७ पछिको आर्थिक दबाब महसुस गर्दै छ । यस युद्धमा उडुपी राजाको भूमिका सफलतापूर्वक निभाएको चीनले पहिलो चरणको बाजी मारिसकेको छ भने विश्वको शयनकक्षमा ‘बदाम’ राख्ने हैसियतको अमेरिका विचित्रको उल्झनमा फसेको छ । ‘कोरोना युद्ध’ केही समय लम्बिए विश्वको अर्थ–व्यवस्था धर्मराउनेछ । ततपश्चात् डरलाग्दो बेरोजगारीले जन्म लिन जाँदा आममानिसको क्रयशक्ति झनै घट्नेछ । चर्को आर्थिक असन्तुलनको बीचमा चीनले निम्न र मध्यम वर्गलक्षित आक्रामक व्यापार–नीति लिने निश्चितजस्तै छ । त्यस्तो अवस्थामा युरोप र अमेरिका ’कोरोना युद्ध’ जितेर पनि हार्नेछन् ।

प्रतिक्रिया