आशङ्का र कामना

■ आईपी लामिछाने

कालो रात गयो उज्यालो दिन भो भनेर देख्नेहरू
युगीन दासताका साङ्लाहरू चुँडिए भनेर लेख्नेहरू
दुःखका कहर काटियो अब भनी दीप जलाउनेहरू
आँधी–अनिष्टको टऱ्यो अब भनी ढुक्क निदाउनेहरू

सूर्यै छेक्छुसरी मुस्लिएर कालो बादल उठेको छ कि ?
धर्ती ठुँग्न कहीँ सिकारी बाजले चुचो खोलेको छ कि ?
स्वाधीनता सुनको अलंकार सरी रोई बसेको छ कि ?
सेतो शुभ्र आँचलमा जननीको आँसु झरेको छ कि ?

सेता हिमालबाट बग्ने यी नदीको पानी धमिलो किन ?
प्रिय दुन्दुभीभित्रबाट गुञ्जने यो सङ्गीत बेसुरो किन ?
कर्म, धर्म, मन र वचनको मृदु साइनो फाटेको किन ?
पानी, माटो, जीवन र मनको यो धागो काटेको किन ?



न्यानो घाम हिमाल ढाकी उदाओस् पहाड र फाँटमा
शीतल चन्द्रमा सर्वत्र शीतल बनोस् यो देशका पाटामा
सलल सलिल हिमाली सरिता भिजुन् यी धराका तन
थरी–थरी फूलबारीका फूलसरी फक्रिउन् जनका मन ।

प्रतिक्रिया