सुदूरपश्चिममा अभूतपूर्व साहित्य सम्मेलन

सुदूरपश्चिममा अभूतपूर्व साहित्य सम्मेलन


नेपाली भाषा, नेपाली जाति, नेपाली पहिचान !
विश्वलाई जोड्ने कला संस्कृति हो हाम्रो स्वाभिमान !!

श्री स्वाभिमानी नारा बोकी शुरु भएको विश्व नेपाली साहित्य महोत्सव (२०७६ फागुन १४–२०) साहित्य र स्रष्टाहरूका लागि पनि यो महोत्सव सदा स्मरणीय र कोशेढुंंगा सावित भएको छ । एकप्रकारले सन्नाटाजस्तै छाएको थियो, लामो समय साहित्यमा जसको अन्त्य गरी नयाँ तरङ्गको आयाम ल्याई हजारौँ हजार उमङ्ग ल्याएको महसुस गराएको छ । सप्ताहव्यापी साहित्य महोत्सवले । उक्त धनगढीमा सम्पन्न विश्व नेपाली साहित्य महोत्सव साहित्यको स्वर्णिम संयोग हो भन्ने निष्कर्षमा पुगेका छन्, प्रभुत्ववर्ग अनि साहित्यकारहरू ।

सोचअनुुसारको परिणाम, यो पवित्र साहित्य यज्ञलाई सफल बनाउन एक वर्षदेखि दुई सत्पात्र अखण्ड, अविरल र निरन्तर रुपमा लागि परिरहे मदन पुरस्कारविजेता ‘रामलाल जोशी र देउडा संस्कृति बचाउन लागीपरेका प्राज्ञ यज्ञराज उपाध्याय । यी दुई सत्पात्रको सहकार्य सत्कर्म र सतप्रयासले आज सुदुरपश्चिममा देश–विदेशबाट सयौँ साहित्यकार, भाषासेवी, समाजसेवी र बुद्धिजीवीको उपस्थितिले सुदुरपश्चिम सुवासित बनि मगमगाएको छ । यिनको अतुलनीय योगदानको समीक्षा भोलिको इतिहासले गर्ने छ ।

सय वर्ष नाघेका साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि अखण्डका निम्ति लागिपरेका ऐतिहासिक व्यक्तित्वहरू ‘सत्यमोहन जोशी, (वाङमय शताब्दी पुरुष) राष्ट्रकवी माधब प्रसाद घिमिरे, बिलबहादुर क्षेत्री, पवन चामलिङ जस्ता व्यक्तित्वहरूलाई सम्मान गरेर आफैमा कार्यक्रम सम्मानयोग्य बनिदिएको छ । नेपाली साहित्यको मूर्धन्य व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याएर चेतना प्रवाह गर्ने जुन उद्देश्य राखेर इतिहास रच्न सफल भएको देखिन्छ । यस सम्मेलनमा देश तथा विदेशमा रहनुभएका बौद्धिक व्यक्तित्वको शुभआगमन– बहस तथा अनुभव आदानप्रदानले कार्यक्रम धन्य भएको देखिन्छ । विकास, राष्ट्रको समुन्नति, संस्कृतिको सम्बद्र्धन, संरक्षण जस्ता महत्वपूर्ण मुद्दाहरू विभिन्न शीर्षक राखी उठान यसले गरेको छ ।

यस क्षेत्रबाट उद्गम भएको नेपाली भाषा, संस्कृति, सभ्यता र पहिचानलाई बोकेर संसारका विभिन्न देशमा पुगेका नेपालीभाषी वीर जातिले आफ्नो भाषा, संस्कृति र पहिचानलाई विश्व रंगमञ्चमा छुट्टै पहिचान दिलाउन सफल भएका पनि छन् । यीबाहेक बाहिर प्राङ्गणमा सजिएका फुड स्टलहरूमा रैथाने खाना पनि प्रमुख आकर्षण केन्द्र बन्न सफल देखिन्थ्यो । जस्तोः बटुक गतानी, डयब्का, भारे ,माडा, तालेमाँडा, कोदाको बाबरमा रमाउँदै, उनीहरूसित अलिक फरक भाषामा निकै रमाउँदै आतिथ्यताको स्वाद निकै स्वादिलो तरिकाले चाखेको देखिन्थ्यो भने कार्यक्रम बीच–बीचमा स्थानीय नृत्यले हाम्रो संस्कृति र सम्पदामाथि धन्य गराइरहेको आभाष स्वयं राष्ट्रपति र अरुको मुहारमा प्रष्टै झल्किन्थ्यो ।

सुदुरपश्चिम नेपालको एक समृद्ध र सौन्दर्यशाली प्रदेशको रुपमा अलग्गै पहिचान रहेको तथ्य जगजाहेर नै छ । भौगोलिक सम्पदा सुन्दरताको भरिपूर्ण, प्रकृति सांस्कृतिक विविधताले सुसम्पन्न सुदूरपश्चिम कला र संस्कृतिले समेत अत्यन्त उर्वर देखियो । अमर शहिद दशरथ चन्द, भीमदत्त पन्त, वीराङ्गना द्वारिकादेवी ठकुरानी, मानवतावादी विचारक जयपृथ्वीबहादुर सिंह र साहित्यकार पहलमान सिंह स्वार जस्ता राष्ट्रका बिभुतिहरू जन्मस्थलै गौरवमय बनेको यो प्रदेशमा विश्व रंगमंचमा छुट्टै थप ऐतिहासिक गौरवगाथा आत्मसात गर्न सफल भए । नेपाली भाषा–साहित्यको श्री बृद्धीमा जुटेका नेपाली भाषी साधकहरूलाई एकै मंचमा आराधना गर्न सफल बनाए ।

यस विशाल साहित्यिक कुम्भको उद्घाटन गर्न स्वयं विद्यादेवी पुग्नुभएको थियो, समापन भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले गर्नुभएको थियो र महत्वपूर्ण कुरा त के देखियो भने कुनै दिन पनि दर्शक र स्रोताको उपस्थिति कम देखिएन । आउने अतिथि र सहभागीको खुशी र प्रफल्लता देख्दा एक शब्दमा भन्नुपर्दा अभूतपूर्व महोत्सव भएको छ । यो सम्मेलनले विश्वभरका नेपाली भाषीहरूमा जागरुकता र हलचल ल्याइदिएको छ– भाषा, साहित्य र संस्कृति हाम्रो पहिचान !