कोरोनालाई लिएर पूर्व श्री ५ को चिन्ता

कोरोनालाई लिएर पूर्व श्री ५ को चिन्ता


पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले कोरोना भाइरसविरुद्ध सार्क मुलुकहरू एक भएर सामना गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही २०७६ साल चैत २ गते आइतबार दक्षिण एसियाली सबै राष्ट्र तथा सरकारप्रमुखहरूबीच भिडियो सम्मेलनको आयोजना गर्नुभएको थियो ।

ट्विटरमा मोदीलाई ‘मेन्सन’ गर्दै पूर्वमहाराजाधिराजले ‘हामीबीचको एकताले अदृश्य शत्रुको रूपमा रहेको कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुग्नेछ’ भन्नुभएको छ । यसअघि सार्क राष्ट्रप्रमुखहरूबीच भिडियो सम्मेलन हुने कुरा सार्वजनिक भएपछि पूर्वराजा ज्ञानेन्द्रले ‘दक्षिण एसियाली मुलुकबीच कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीति बनाउने कुरा सराहनीय छ । कार्यगत एकताबिना कुनै पनि काम सम्भव नरहेको वर्तमान परिस्थितिमा छिमेकी मुलुकहरू एक हुनु अनिवार्य आवश्यकता नै थियो, जसलाई समयमा नै बुझ्न सफल हुनु सकारात्मक पक्ष हो’ भनी ट्विट गर्नुभएको थियो ।

अहिले कोरोना भाइरसबारे पूर्व श्री ५का शृङ्खलाबद्ध ट्विटहरू आइरहेका छन् । उहाँले भन्नुभएको छ, ‘कोरोना भाइरसको प्रकोपभन्दा दैनिक उपभोग्य सामानको कालोबजारीले गर्दा देशमा हाहाकारको स्थिति आउने सङ्केत देखिएको छ । यस्तो अवस्थामा सरकारले स्थितिलाई सामान्यीकरण गर्नेतर्फ खासै कदम चालेको देखिएन । बेलैमा सचेत भई देशमा अकल्पनीय स्थिति आउन नदिनेतर्फ सरकार र नागरिक सचेत हुनुपर्छ ।’

यसअघि गत हप्ता उहाँले लेख्नुभएको थियो, ‘प्रविधि र आर्थिक रूपमा हामीभन्दा धेरै सम्पन्न राष्ट्रहरूले समेत कोरोना भाइरसको प्रकोपलाई चिन्ताजनक रूपमा लिएको अवस्थामा हाम्रो देशमा यसलाई हल्का रूपमा नलिई सरकारले आफ्ना आमनागरिकप्रतिको कर्तव्य निर्वाह गर्नबाट चुक्नुहुँदैन ।’ कोरोनको सन्त्रासले पूरा विश्व आक्रान्त भएका बेला सरकारको जवाफदेहिता अत्यन्त कमजोर देखिएको भन्ने आमनागरिकको गुनासो रहेको उल्लेख गर्दै उहाँले सुरक्षा सरकारको पहिलो प्राथमिकता हुनैपर्छ भन्नुभएको छ ।

कोरोना भाइरसविरुद्धका विभिन्न सूचना सामग्रीहरू उहाँले सेयर गर्ने गर्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठनका सूचना अपडेटदेखि कोरोनाको जोखिम र सावधानीलाई लिएर तयार गरिएका सीएनएनका समाचारसम्मलाई ट्विटमार्फत सेयर गरिएको छ । सरकारको ध्यान आकृष्ट गराउँदै उहाँले लेख्नुभएको छ, ‘कोरोना भाइरसको जोखिम उच्च अवस्थामा रहेका बेला सरकारको ध्यान अन्यत्र मोडिनुहुन्न । दैनिक उपभोग्य वस्तु तथा सेवाको सहजताका लागि सरकारका संयन्त्र चनाखो भएको देखिएन । समस्याका समयमा भएको सानो असावधानीले पनि ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आउन नदिन बेलैमा सचेत हुनु जरुरी छ ।’ उहाँको पछिल्लो ट्विटमा विपद्का बेला कालोबजारी भाइरसको जोखिम ठूलो रहेको उल्लेख छ ।

अङ्ग्रेजी र नेपालीमा उहाँका ट्विटहरू आउने गरेका छन् । पूर्व श्री ५ का नाममा दुईवटा ट्विटर अकाउन्ट देखिएका छन् । जीबीबी शाह र किङ जीबीबीएस, दुवै आईडी फेक होइनन् । उहाँको आफ्ना नजिककै फरकफरक मानिसले खोलिदिएकाले दुईवटा आईडी भएको बुझिएको छ । एउटामा पाँच हजार नौ सय ९४ फलोअर छन् भने एकजनालाई मात्र यो आईडीबाट फलो गरिएको छ, त्यो हो– बेलायतको राजदरबार जसको आईडी ‘द रोयल फेमिली’ रहेको छ । यो ट्विटरमा बेलायतका राजपरिवारसम्बद्ध सूचना, जानकारी तथा अभिव्यक्तिहरू सार्वजनिक गरिन्छन् ।

पूर्वराजाको अर्को आईडी जीबीबी शाह गत महिना मात्र खोलिएको हो । जुन आईडीबाट अहिले शृङ्खलाबद्ध सन्देशहरू सार्वजनिक भइरहेका छन् । एक हजार एक सय ७७ फलोअर भएको उक्त आईडीबाट ७६ जनालाई फलो गरिएको छ । जसमा सार्क राष्ट्रप्रमुख र सरकारप्रमुखहरू, अरबिन्द केजरिवाल, योगी आदित्यनाथ, राहुल गान्धी, संयुक्त राष्ट्रसङ्घका सबै निकाय, माल्दिभ्सका पूर्वराष्ट्रपति मैमुन अब्दुल गैयुम, महिन्द्रा राजपक्षे, बिल क्लिन्टन, हिलारी क्लिन्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जाफिर मिर्जालगायत रहेका छन् ।