कोरोनाबाट बच्न एनआरएनए पोर्चुगलको आग्रह, सहयोगका लागि ‘हेल्प डेस्क’

कोरोनाबाट बच्न एनआरएनए पोर्चुगलको आग्रह, सहयोगका लागि ‘हेल्प डेस्क’


  • छविलाल बगाले, यूरोप

कोरोनाको संक्रमणबाट जोगिन गैह्र आवासिय नेपाली संघ पोर्चुगलले नेपाली समुदायलाई आग्रह गरेको छ । चीनपछि यूरोपका विभिन्न देश हुँदै पोर्चुगलमा कोरोनाको संक्रमण बढेसँगै संघले यस्तो आग्रह गरेको हो ।

संघले एक सूचना जारी गर्दै पोर्चुगलमा बस्दै आएका नेपाली समुदायलाई सावधानी अपनाउन अनुरोध गरेको छ । सूचनामार्फत सबै नेपालीलाई कुनैपनि सभा, सम्मेलन, कार्यक्रम, रेस्टुरेन्ट, बार, डिस्को, सपिङ महल लगायत अत्याधिक जमघट हुने क्षेत्रमा नजान आग्रह गरेको छ । संघले सकभर मेट्रो, ट्रेन, बस लगायतका सार्वजनिक यातायातका साधनहरु प्रयोग नगर्न सूचनामार्फत सबै नेपाली समुदायमा अनुरोध गरेको छ । उसले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।

यसैबीच, संघले कोषाध्यक्ष बिक्रमजंग कुंवरको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ । संघले कोरोनाको संक्रमणबारे नेपाली समुदायलाई जानकारी गराउने र आवश्यक सहयोग उपलब्ध गराउने गरी ‘हेल्प डेस्क’ को स्थापना गरेको छ । गठित समितिको उपसंयोजकमा दिनेश भण्डारी र सदस्यहरुमा राजन ढुंगाना, सुमन शर्मा चौलागाई, सम्झना अधिकारी, अनिल शर्मा, शिव वाग्ले रहेका छन् । संघका अध्यक्ष तिलक गैह्रेले कोरोनाबाट जोगिनका लागि सबैमा अनुरोध गरेका छन् । उनले आवश्यक सल्लाह र सहयोगका लागि संघको कार्यालयमा स्थापना गरिएको ‘हेल्प डेस्क’ र निशुल्क हटलाइन नम्बर ८०८२४२४२४ मा सम्पर्क गर्न सबै नेपाली समुदायसमक्ष अपिल गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म पोर्चुगलमा ४ सय ४८ जना संक्रमित भएका छन् भने एक बृद्धको मृत्यु भइसकेको छ । पोर्चुगलमा हालसम्म एक नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भने अन्य ७४ जना क्वारेन्टाइनमा छन् ।