यूरोपमा ‘भुसको आगो’झैँ फैलिँदै कोरोना, अर्थतन्त्रमा झड्का

यूरोपमा ‘भुसको आगो’झैँ फैलिँदै कोरोना, अर्थतन्त्रमा झड्का


  • छविलाल बगाले,  यूरोप

यतिबेला कोभिड–१९ को सङ्क्रमणका कारण विश्व समुदाय त्रसित छ । चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमण विश्वका विभिन्न मुलुकमा तिव्र गतिमा फैलिएको हो । यो समाचार तयार पार्दासम्म विश्वभरका एक लाख ६९ हजार ३५७ जना नागरिक प्रभावित बनेका छन् । जबकि अहिलेसम्म भएको मृत्युदरको पारो निकै माथि छ । संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५०० जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय युरोपमा पनि कोरोनाको संक्रमण दिन दुगुना रात चौगुनाले वृद्धि भइरहेको छ । सबैभन्दा धेरै यूरोपको इटाली प्र्रभावित बनेको छ । इटालीमा मात्रै एक हजार ८०९ जनाले ज्यान गुमाएका छन् । जुन चीन पछिको धेरै हो । चीनमा अहिलेसम्म मृत्युवरण गर्ने नागरिकको संख्या तीन हजार १९९ पुगेको छ । अहिले यहाँको मृत्यु रोकिएको छ ।

चीनपछि युरोपमा अधिपत्य जमाउँदै कोरोना

चीनको वुहानमा एक्कासि देखा परेको कोरोनाले महामारीको रुप लिएपछि विश्व समुदायको ध्यान चीनमा मात्रै केन्द्रीत थियो । तर पछिल्लो समययता कोरोनाको संक्रमण चीनसँगै विश्वका अन्य १५६ मुलुकमा पनि फैलिएको छ । जसका कारण युरोपका सबैजसो मुलुकको स्थिती निकै भयावह बन्न पुगेको छ । युरोपियन युनियनका धेरेजसो मुलुकमा संक्रमणको दर बढेकोले सबै युरोपियन युनियनदेखि सम्बन्धित देशका प्रमुखहरुले संयमित बन्न नागरिकलाई आग्रह पनि गरिसकेका छन् । इटालीपछि स्पेनको जनजिवन थप त्रास बनेको अन्तरारष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । वल्र्डओमिटर्सका अनुसार स्पेनमा अहिलेसम्म २९२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, फ्रान्समा १२७, नेदरल्याडमा २०, स्विजरलैण्मा १४, जर्मनीमा ११, बेल्जियममा ४, पोल्याण्डमा ३, डेनमार्कमा २, अस्ट्रियामा १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या हेर्दा युरोपलाई नराम्ररी प्रभावित बनाएको पाइन्छ । संक्रमित र ज्यान गुमाउनेको संख्या क्रमिक रुपमा बढ्दो छ । 

नागरिक जोगाउन आपतकालको घोषणा

महामारीबाट आफ्ना नागरिकलाई जोगाउन युरोपियन युनियन र सेन्जेनभित्रका केही मुलुकले आपतकालको घोषणा गरेका छन् । भाइरसको संक्रमण रोक्नका लागि भन्दै इटाली, स्पेन लगायतका मुलुकका सरकारले आपतकालिन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान नागरिकसमक्ष आग्रह गरेका छन् । ‘नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो तवरले गर्न सरकारले राज्यका सबै उपकरण परिचालन गर्ने तयारीमा छौं ।’ उनले भने, ‘यो विपत्तिमा सबैको सहयोग आवश्यक छ ।’ यस्तै इटाली, पोर्चुगल, बेल्जियम, जर्मनी लगायतका मुलुकहरुमा संक्रमणबाट नागरिकलाई जोगाउन ठूलै कसरत गरेको अन्तारष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । इटालीमा यो समाचार तयार पार्दासम्म कुल २४ हजार ७४७ जना नागरिक संक्रमित भएका छन् भने एक हजार ८०९ जनाले ज्यान गुमाउनु परेको छ । प्रधानमन्त्री ज्युसेपे कोन्टेले देशको बुढो जनसंख्याको सुरक्षा र स्वास्थ्य प्रणालीलाई ध्वस्त हुनबाट बचाउन साझा बलिदानको लागि बिन्ती गरेका छन् । अहिले यहाँका व्यावसायिक गतिविधि र सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प छ ।

पोर्चुगलमा ‘भुसको आगो झैं’ फैलिदैं कोरोना

युरोपियन मुलुकहरुमध्ये सबैभन्दा धेरै गर्मी हुने मुलुक पोर्चुगलमा पनि कोरोनाको संक्रमण फैलिन थालेको छ । प्र्रत्येक दिन बढ्दै गएको नयाँ संक्रमितको सख्या अहिले २ सय ४५ पुगेको छ । संख्या बढ्दै गएपछि पोर्चुगल सरकार सावधानी अपनाउन र संक्रमितको उपचारका लागि लागिपरेको छ । धेरै मुलुकका नागरिकहरु काम र कागजका लागि पोर्चुगल आउने भएकोले पनि संक्रमणले भयावह स्थिती आउन सक्ने आशंका गरिएको छ । यसप्रति चनाखो भएर पोर्चुगल सरकारले विशेष सावधानी अपनाएको छ । नागरिकहरुले पनि बिरामीहरुको उपचारमा संलग्न चिकित्सकहरुको मनोवल उच्च बनाउन सचेतना फैलाउन थालेका छन् ।

त्रासमा नेपाली, ७४ कृषि मजदुर संक्रमित !

युरोपभित्रका अन्य मुलुकमा भन्दा पोर्चुगलमा अनुमानित २५ देखि ३० हजार नेपाली बसोबास गर्छन् । यस्तै, स्पेनमा १० हजार नेपालीको बसोबास छ भने जर्मनी, डेनमार्क, नर्वे लगायतका मुलुकमा पनि नेपाली काम गर्छन् । प्रवासमा रहेर काम गर्ने नेपालीहरुमा कोरोनाको सोझो असर परेको छ । एकातिर रोजीरोटी खोसिएको छ भने अर्कोतिर संक्रमित हुने त्रास बढेको छ । आइतबार मात्रै पोर्चुगलको फारोमा ७४ नेपाली कृषि मजदुर कोरोनाको संक्रमणमा परेको खुलेको छ । फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले घटनाको पुष्टी गरेपनि लिस्वनस्थित महाबाणिज्य दूतावासले भने आधिकारिक नआइसकेकोले केही भन्न नमिल्ने जनाएको छ । संक्रमित व्यक्तिको परिचय भने गोप्य नै राखिएको छ । अहिले उनिहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

घरमै बस्न र कोरोनाबाट सचेत रहन राजदूतहरुको आग्रह

यूरोपमा कोरोनाको संक्रमण फैलिएपछि सबै देशका बाणिज्य दुतदेखि राजदुतसम्मले चिन्ता प्रकट गरेका छन् । उनिहरुले त्रासमा रहेका नेपाली समुदायलाई घरमै बस्न र कोरोनाबाट सचेत रहन आग्रह गरेका छन् । फ्रान्सका राजदूत दीपक अधिकारी, बेल्जियमका राजदूत लोक बहादुर थापा, स्पेनका राजदूत दावाफुटी शेर्पा, पोर्चुगलका लागि अवैतनिक बाणिज्य दूत मकर हमाल, गैह्र आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त लगायतले संक्रमणबाट जोगिन सल्लाह दिएका छन् । उनिहरुले घरमै बस्न, जमघट नगर्न र भीडमा नजान पनि अनुरोध गरेका छन् ।

अर्थतन्त्रमा झड्का !

कोरोनाभाइरस आफ्नो प्रमुख शक्ति प्रतिस्पर्धाको नयाँ युगको पहिलो ‘विश्वव्यापी स्वास्थ्य आपतकालिन’ हो भन्दै विश्व स्वास्थ्य संगठनले यसलाई आधिकारिक बनाएको छ । यसले ग्लोवल बजार र भू–राजनीतिलाई झड्का दिएको छ । संक्रमणका कारण युरोपको अर्थतन्त्रमाथि झड्का लाग्नु स्वभाविक पनि हो । चिनियाँ र विश्वव्यापी आपूर्ति श्रृंखला, बजार र अर्थव्यवस्थामा कोरोनाले नराम्रोसँग प्रभावित बनाएको अर्थविद्हरुको तर्क छ । युरोपेली आयोगका अध्यक्ष, उर्सुला भोन डर लेनले पनि कोरोनाभाइरस महामारीले हामी सबैको परीक्षण गरिरहेको बताएका छन् । उनले आफूहरुको स्वास्थ्य सेवाहरूको लागि अभूतपूर्व चुनौती मात्र होईन, हाम्रो अर्थव्यवस्थाहरूका लागि पनि ठूलो झटका भएको दावी गरेका छन् । अहिले आयात निर्यात ठप्प छ भने पर्यटकीय होटलदेखि रेष्टुरेन्ट, किराना पसलमा आवागमन खासै छैन् । यता विभिन्न कारणले आर्थिक चपेटामा परेको पोर्चुगलमा पनि कोरोनाको प्रभावले अर्थतन्त्रमा नराम्ररी झड्का लागेको छ ।

सुस्ताउँदै नेपाली व्यवसाय

यूरोपभित्रका मुलुकहरुमा नेपाली समुदायको ठूलो लगानी छ । कोरोनाका कारण शहर सुनसान हुन थालेपछि उनिहरु चिन्तित हुन थालेका छन् । लामो समयदेखि पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका पर्वतका राजकुमार मल्ल, बाग्लुङका प्रेम खड्का लगायत धेरै नेपालीका व्यवसाय संक्रमणका कारण सुस्ताएका छन् । उनिहरु अहिलेसम्म व्यवसाय नै बन्द गरेर बस्नुपर्ने अवस्था नआएको बताउँछन् । यूरोपमा नेपालीले रेष्टुरेन्ट, बार्बर, व्यूटीपार्लर, नेपाली हस्तकला, होस्टल लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

कामबाट विदा, किनमेलमा जटिल

कोरोनाका कारण ग्राहक नआएपछि कामदार निकालिएका छन् । कामको करारनामा अर्थात वर्क कन्ट्रयाक्ट विनै काम गरेका नेपालीदेखि विदेशी कामदारले रोजगारीबाट हात धुनु परेको छ । पोर्चुगलमा अधिकांश नेपाली चिनियाँ लगानीका रेष्टुरेन्टदेखि अन्य व्यवसायमा काम गर्ने गर्दछन् । कामको करारनामा पाएका कामदार पनि यतिवेला खाली नै छन् । संखुवासभा चैनपुरका दीपक खत्री विराटनगरका सुरेश लम्साल, स्याङ्जाका प्रमोद पोखरेल, गोरखाका मनोज देवकोटा कम्पनीले कहिले काम गर्न बोलाउँला र जाउँला भन्दै फोन र इमेलको प्रतिक्षामा छन् । उता, कोरोनाकै कारण पोर्चुगल लगायतका अन्य मुलुकका ठूला डिपार्टमेन्टल स्टोरहरुमा किनमेलको लागि भीड बढेको छ । सबै एकपटक किनमेलका लागि आएपछि अत्यावश्यक खाद्यान्न सामग्रीहरु खरिद गर्न कठिनाई भएको छ ।