नेता शेखरले भने- ‘मेरा खुट्टा परालका होइनन्’

नेता शेखरले भने- ‘मेरा खुट्टा परालका होइनन्’


पछिल्लो चरणमा पार्टी नेतृत्वको तिक्ष्ण आलोचना गर्दै आएका आनेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको धारणा राखेका छन् ।

नेपाल प्रेस युनियनले शनिबार (१ चैत) गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका हुन् ।

‘संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो’– नेता डा. कोइरालाको भनाई छ ।

केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको उनले बताए । ‘पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?’ नेता कोइरालाले प्रश्न गरे ।

तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता कोइरालाले भने– ‘मेरो खुट्टा परालको होइन भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।’