‘सीमा विवाद समाधान गर्न भारत पनि चाहन्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

‘सीमा विवाद समाधान गर्न भारत पनि चाहन्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् । भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको उनको भनाई छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा मन्त्री ज्ञवालीले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराए ।

‘धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कत्ति पनि झुकेको छैन’, मन्त्री ज्ञवालीले भनेका छन्, ‘वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो ।’ राससले सम्प्रेषण गरेअनुसार इतिहासमै पहिलोपटक सरकार निडरताका साथ प्रस्तुत भएकाले भारत पनि सीमा विवाद समाधानको पक्षमा भएको ज्ञवालीको भनाइ छ ।