खुर्सानीको धुलो छरी चेलीहरू नेपाल फर्के

खुर्सानीको धुलो छरी चेलीहरू नेपाल फर्के


काठमाडौं/ भारतको मुम्बई, कलकत्ता र दिल्लीका शहरहरूमा नेपालका विभिन्न जिल्लाका चेलिबेटीहरू जघन्य अपराधीहरूद्वारा वेश्यालयमा बेचिएका र उनीहरू नारकीय जीवन बिताउन बाध्य पारिएको कुरा अब हाम्रा लागि सामान्य हुन थालेको छ ।

प्राप्त विवरणअनुसार नवलपरासी सुनवल गा.वि.स. वडा नं. ३ की कुमारी सुनार्नी, त्यसै वडाकी देवी कमिनी, वडा नं. २ की कान्छी कुमाल्नी र माया कमिनीलगायत वडा नं. ४ की माया गुरुङसमेत दिल्लीको वेश्यालयको कोठीमा बेचिएको र यिनीहरूलाई दिल्ली लगेर बेच्ने गिरोह बुटवलको बेसक्याम्पमा डेरा गरी बस्ने मुन्नी सर्किनीलाई केही दिन पहिले नवलपरासीको प्रहरीले पक्रिएपछि सो कुराको रहस्य खुलेको छ ।

परासी प्रहरीको पक्राउमा परेकी मुन्नी सर्किनीले बर्दघाटबजारकी पवित्रा मुसहरलाई दिल्ली लगी बेच्नको लागि भारत इटैयाको हरिलाल कुर्मीलाई सुम्पिएको कुरा प्रहरीसमक्ष बताएकी छिन् । मुन्नीले यो धन्धा गर्नको लागि हरिलाल कुर्मीलाई आफ्नो श्रीमान् बनाएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय परासीको प्रहरीसमक्ष मुन्नीले आफ्नो बयान दिँदा उल्लिखित नामका युवतीलाई परासीबजारमा साइकिल बनाउने मिस्त्री राजु मुसलमान नाम गरेको व्यक्तिलाई भारतको ठुटीबारीमा लगी बुझाइदिएको भनी बताएको कुरो ई. कृष्णप्रसाद चालिसेद्वारा जानकारी हुन आएको छ र मुसलमानले भने यो कुरोलाई अस्वीकार गरेको छ ।

अन्य जघन्य अपराधीहरूलाई खोजी गर्ने काम प्रहरीले गरिरहेको छ । अपराधी मुन्नीलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्यमा प्रहरी जुटेको छ ।

अपराधी मुन्नीको माइती सुनवलमै हो । यिनीले कमजोर घरका चेलिबेटीलाई ललाइफकाई अपराधीको हातमा सुम्पिने काम पेसेवर रूपमै गर्दै आएको कुरालाई पनि आफ्नो बयान दिँदा प्रहरीसमक्ष स्वीकारेकी छिन् । मुम्बई र कलकत्तामा बेचिएका नेपालका नौवटी चेलिबेटी जेठको पहिलो साताभित्र भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् ।

यसरी भित्रिएका युवती १४ देखि २६ वर्षसम्मका छन् । केही दिनअघि ती युवतीले भैरहवामा प्रवेश गरेपछि भैरहवाका प्रहरीसमक्ष आफूहरू मुम्बई र कलकत्ताको वेश्यालयको कोठीबाट भागेर यहाँ आइपुग्न सफल भएका हौँ भनी बताए । ती बेचिएका युवतीहरू आफूलाई बिक्री गर्ने अपराधीहरूलाई खोजी गर्ने कार्यक्रममा पनि जुटेका छन् ।

तीमध्येकी सरिता भण्डारीले आफ्नो दर्दनाक चित्रण प्रकट गर्दा मायापिरतीदेखि मुम्बईको कोठी र त्यहाँबाट भागेर आउँदाका विवरण सुन्दा नेपालबाट भारतको विभिन्न शहरमा बेचिएका नेपालका चेलीको स्थितिको एउटा डरलाग्दो चित्र प्रकट हुन्छ ।

भण्डारी भन्छिन्, ‘म आफ्नै श्रीमान्बाट ३५ हजारमा मुम्बईको गल्ली नं. १३ को कोठीमा बेचिएकी थिएँ ।’ भण्डारीको बयानअनुसार मुम्बईस्थित गल्ली नं. १३ को वेश्यालयको कोठीहरू सबै नेपाली वाईले चलाएका छन् ।

‘यहाँ उमेरअनुसारका युवतीहरूको मूल्य तोकिएको छ । सातवटी चेलीहरू गल्ली नं. १३ मा बेचिएका थियौँ,’ सरिता भण्डारी भन्छिन्, ‘बेलुका ६ बजेदेखि राति २–३ बजेसम्म वेश्यावृत्ति गर्नुपर्ने बाध्यता नै थियो । एकरातमा १० जनासम्म ग्राहकलाई खुसी पार्नुपर्ने हुन्थ्यो । कुनै–कुनै रात ग्राहकको सङ्ख्याको पनि ख्याल हुँदैन थियो । गल्ली नं. १३ को वाईको कोठीहरूमा करिब ६० जनाभन्दा बढी युवती नेपालका नै थियौं ।’

भाग्ने योजना

युवतीहरूको बयानअनुसार, ‘एक दिन दिउँसोको समयमा नसुती सातवटीले भाग्ने योजना बनायौँ । दिउँसो तास खेल्ने निहुँमा बसेर योजना बनाउँदै गयौँ र समाचार आदान–प्रदान पनि गर्दै गयौँ । योजनाअनुरूप कोठीको वाईलाई आँखामा खोर्सानीको धुलो छरेर कोठीबाट भाग्न सफल भयौँ ।’ कलकत्ताको वेश्यालयबाट त्यस्तै नाटकीय रूपबाट फर्किएका दुई युवतीको कथा पनि त्यस्तै दुःखद छ ।

नौवटी चेलीलाई वेश्यालयको कोठीका वाईलाई बेच्ने अपराधी गिरोहहरूमध्ये थालुमान तामाङ र नसल तामाङ प्रहरीको फन्दामा परिसकेको भैरहवाका प्रहरीले जानकारी गराएको छ ।

(घटना र विचार साप्ताहिक, २०५३ जेठ १६)