जनकपुर-जयनगर रेल सञ्चालन यही आर्थिक वर्षभित्र

जनकपुर-जयनगर रेल सञ्चालन यही आर्थिक वर्षभित्र


■ अजयकुमार साह, धनुषा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताउनुभएको छ । नेपाल रेल्वेको निरीक्षण गर्न शुक्रबार (३० फागुन) जनकपुरधाम आउनुभएका मन्त्री नेम्वाङले जसरी पनि आगामी तीन–चार महिनाभित्र रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री नेवाङले रेलको चालकदेखि करिब तीन सय प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र अब नीतिगत कुराहरू गर्न बाँकी रहेको बताउनुभयो । जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल गुड्ने मन्त्री नेम्वाङले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेलमार्ग तयार भइसकेकाले विदेशबाट दक्ष कर्मचारी मगाएर पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिबाससम्म र पछि निजगढसम्म रेल गुड्नेछ ।’ मन्त्री नेम्वाङका अनुसार रेल गुडाउन पाँच–सातजनाको प्राविधिक टोलीमात्र भारतबाट ल्याइनेछ । उहाँले यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोलीलाई फिर्ता गरिने बताउनुभयो ।

यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउँदै मन्त्री नेम्वाङले आवश्यकताका आधारमा मालवाहक रेलसमेत सञ्चालनका लागि पहल हुने जानकारी दिनुभयो । नेपाल रेल्वेले गरेको कर्मचारी विज्ञापनको मापदण्डअनुसार एकजना पनि दक्ष जनशक्ति नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री नेम्वाङले नेपालमा उपलब्ध नभए विदेशबाट करारमा नियुक्त गर्ने बताउनुभयो ।

मन्त्री नेम्वाङसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्रलगायतका समेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्थ्यो । टोलीले रेल्वेको अवलोकनपछि जनकपुरधाम–जटहीसम्मको ६ लेन सडकको समेत निरीक्षण गरेको थियो ।

pict: rss