निर्णय सच्याउन पत्रमार्फत देउवालाई शशांकको आग्रह

निर्णय सच्याउन पत्रमार्फत देउवालाई शशांकको आग्रह


नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवाको पछिल्लो कदमका कारण पार्टीभित्र एकताको वातावरण थप बिथोलिने परिस्थिति सिर्जना भएको धारणा राखेका छन् । पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति देउवालाई पत्रमार्फत आग्रह गर्दै महामन्त्रीले नेतृत्वबाट एकाङ्की रुपमा जथाभावी निर्णयहरु गर्न नहुने धारणा अघिसारेका हुन् ।

सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सभापतिलाई पत्र लेखेका हुन् । मौखिक रुपमा गरिएका आग्रहको सुनुवाई नभएपछि पत्रमार्फत् सभापतिलाई महामन्त्रीले झक्झक्याउने प्रयत्न गरेको सन्दर्भ यतिबेला कांग्रेसवृत्तमा चर्चाको विषय बनेको छ ।

मुलुकको सङ्घीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा कांग्रेसले नवलपरासी (पश्चिम)मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो । सभापति देउवाले यही गत फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम)को जिल्ला सभापति पोखरेललाई हठात् हटाएर विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेका थिए ।

पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधानप्रतिकूल रहेको महामन्त्री कोइरालाले आफ्नो पत्रमा उल्लेख गरेका छन् । उनले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोध गरेका छन् ।

साथै, महामन्त्री कोइरालाले सहमतिबिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन् । नेतृत्वबाट एकाङ्की रुपमा हुने यस्ता निर्णयले पार्टीको १४ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीर रुपमा प्रभावित हुने महामन्त्री कोइरालाले पत्रमा उल्लेख गरेका छन् ।