कोरोना भाइरसका कारण निगमको उडानमा कटौती

कोरोना भाइरसका कारण निगमको उडानमा कटौती


कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा कमी आएपछि नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ ।

निगमको कटौती तालिकाअनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं–दिल्ली–काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिने छ भने अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

यस्तै बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । काठमाडौं–दोहाबीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको निगमले जनाएको छ ।

उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र टिकटको उडानको मिति एक पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको पनि जानकारी दिइएको छ ।