उदयपुरमा ठूलो परिमाणको हतियारसहित प्रतिबन्धित नेकपाका १४ जना पक्राउ

उदयपुरमा ठूलो परिमाणको हतियारसहित प्रतिबन्धित नेकपाका १४ जना पक्राउ


उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट प्रहरीले ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले बिहीबार (२९ फागुन) उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा प्रहरीले सो जङ्गलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो ।

पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् ।

यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।

जिल्ला इन्चार्ज पक्राउ

प्रतिबन्धित नेकपाका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो ।

प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालय तनहुँमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र पुस २६ गते भीमाद नगरपालिका–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोषी देखाइएको छ ।

पुनसँगै पक्राउ परेका प्रतिबन्धित नेकपासम्बद्ध विद्यार्थी नेता पर्वत सेढाईँ भने जिल्ला प्रशासनको आदेशपछि पाँच हजार धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाटै पक्राउ परेका पुनलाई गोरखा पठाइने प्रहरीले जनाएको छ ।