कमल थापाद्वारा ‘गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने’ प्रतिबद्धता

कमल थापाद्वारा ‘गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने’ प्रतिबद्धता


पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आज (२९ फागुन) पदबहाली गरेका छन् । थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एकीकरण भएपछि आज नेतात्रयले पदबहाली गरेका हुन् ।

चाबहिलस्थित पार्टी कार्यालयमा भएको पदबहालीका अवसरमाा अध्यक्ष राणाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देश र जनताको हितमा काम गर्न नसकेका कारण राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिको खाँचो भइरहेको तर्क गरे । यस्तै, अर्का अध्यक्ष लोहनीले मुलुकमा विधिको शासन कायम हुन नसक्दा दण्डहीनता बढेको र भष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै देशमा अहिले राजसंस्थासहितको प्रजातन्त्र आवश्यक भएको दाबी गरे ।

यस्तै, अध्यक्ष कमल थापाले निजी स्वार्थभन्दा माथि देश र पार्टी रहनुपर्ने बताउँदै कार्यकर्ताको दबाबमा एकता सम्भव भएकाले विगतका गल्तीबाट पाठ सिक्दै अब पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपा (संयुक्त) र राप्रपाबीच एकीकरण गर्ने सहमतिका साथ गत शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । एकीकरणसम्बन्धी आधारपत्रमा, संविधानमा रहेका असहमतिमा कायम राख्दै पार्टीको आदर्शलाई अगाडि बढाउने उल्लेख छ । हिन्दू राष्ट्र कायम गर्नेलगायतलाई राप्रपाको मूल सैद्धान्तिक आधारको रुपमा स्वीकार गरिएको छ भने महाधिवेशन नभएसम्म पार्टीमा तीन अध्यक्ष नै कायम रहने बताइएको छ ।