प्राइममा गाभियो कैलाश, एकीकृत कारोबार शुरु

प्राइममा गाभियो कैलाश, एकीकृत कारोबार शुरु


प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक गाभिएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको हो ।

दुई बैंक मर्ज हुने गत असार २० गते भएको सम्झौताअनुसार आजबाट एकीकृत कारोबार शुरु भएको हो । सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो । दुई बैंक गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पुँजी अब करिब १४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बिहीबार एकीकृत कारोबारको औपचारिक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पुँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्न मर्जरलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरे ।

मर्जरपछि बैंकको शाखा एक सय ९९ पुगेको छ । त्यस्तै, बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको बताइएको छ ।