‘सरकारी सुविधा लिनेबाहेक सबै नेपाली दुःखी छन्’

‘सरकारी सुविधा लिनेबाहेक सबै नेपाली दुःखी छन्’


नेता या स्वनामधारी विश्लेषकले झैँ केवल गफै मात्र चुटेर जीवन बिताउँदै गरेका भए यतिबेला शशि पौडेलको चर्चा घर–घरमा भइरहन सक्थ्यो । उनी लेख्न र बोल्न राम्रोसँग सक्छन्, कुनै समय शिक्षण र पत्रकारितामा पनि संलग्न उनी अहिले आफूलाई किसान भन्न रुचाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर र कमर्शमा स्नातक शशि अहिले लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरका मालिक हुन् र उनले पाँच सयभन्दा बढी गाई पालेका छन् । शशिको गाईफार्ममा प्रतिदिन दुई हजारदेखि बाइस सय लिटर दूध उत्पादन हुने गर्दछ । उनै शशिले युरो स्टार गु्रपको नाममा पास्ता र कर्नफ्लेक्स उत्पादन गर्ने कारखानामा पनि लगानी गरेका छन्, जनता टेलिभिजनका ‘प्रमोटर’मध्ये शशि एक हुन् । वि.सं. ०२४ असोजमा पर्वतको कुर्घामा जन्मिएका शशि पौडेल विद्यार्थीकालमा राजनीतितिर पनि आकर्षित भएका थिए । राजनीतिमा प्रत्यक्ष संलग्न नभए पनि शशि राम्रोसँग राजनीति बुझ्छन् र कम्तीमा नेताहरूले भन्दा राम्ररी देश बुझेका छन् । भन्छन्– देशको अवस्था यस्तै रह्यो भने हामी असफल राष्ट्रमा रूपान्तरित हुनेछौँ ।

० तपाईं विद्यार्थीकालमा राजनीतिक क्रियाकलापमा पनि सामेल हुनुहुन्थ्यो, अहिले पूर्ण रूपले उद्यम–व्यवसायमा संलग्न हुनुहुन्छ । राजनीति र उद्यमशीलताबीचको अन्तर कसरी महसूस गर्नुभएको छ ?

– अहिले राजनीति बेरोजगारहरूको कामजस्तो भएको छ । जबसम्म रोजगारहरूको हातमा राजनीति आउँदैन, तबसम्म राजनीतिले देशलाई कुनै योगदान पुऱ्याउन सक्ने म ठान्दिनँ । राजनीतिकर्मीहरू उद्यमी–व्यवसायीहरूसँग सहयोगचाहिँ लिइरहन्छन्, तर कुनै बेला उद्यमी–व्यवसायीले जिम्मेवारी लिनुपर्ने अवसर आउन लाग्यो भने गैरराजनीतिक व्यक्ति भन्दै पन्छाउने गरिन्छ । रोजगारहरू राजनीतिमा नलाग्ने या लाग्न खोजे पनि अवसर नमिल्ने भएकोले अहिलेको राजनीति बेरोजगारहरूको रोजगारीजस्तो मात्र भएको छ । राजनीति आफैँमा रोजगारी नभई सेवा हो, तर यहाँ शिक्षक, वकिल, व्यापारी, उद्यमी आदिलाई पेसागत व्यवसायी भनेर बुझिएझैँ राजनीतिलाई पनि एउटा पेसाका रूपमा बुझ्न मिल्ने स्थिति छ ।

० देश अघि बढाउने कुरा सधैँ हुन्छन् र सबै राजनीतिकर्मी जो सत्तामा पुगेका हुन्छन्, तिनले देश अघि बढिरहेको दाबी गर्छन्, तर देश झन्झन् पछि परेको अनुभूति हुँदै छ, किन यस्तो भएको होला ?
– बालुवाटार र सिंहदरबारभित्र पसेपछि दृष्टिभ्रम हुने हो कि जस्तो मलाई लाग्छ । देश बनाउने काम शुरु भएकै छैन, शुरु नै नभएको काम सम्पन्न हुने आशा गर्नुहुँदैन । सिंहदरबारमा बस्नेहरूका दाबी हास्यास्पद छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र सडकको अवस्थाले नै देशको वास्तविक तस्बिर झल्काउँछ । कसैले सञ्चारमाध्यम या सभामा दाबी गरेजस्तो अवस्था देशमा छैन । नभएको कुरा भन्ने गरेकैले राजनीतिकर्मी र राजनीतिप्रतिको विश्वास र भरोसामा व्यापक ह्रास आएको छ ।

० नेपालमा सबैभन्दा धेरै आशा राखिएका पार्टी र नेताको सत्ता यतिबेला छ, कार्यपरिणामका आधारमा तपाईं कम्युनिस्ट सरकारको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
– सरकारको नेतृत्वमा रहनुभएका केपी शर्मा ओलीजस्ता नेता न हिजो थिए, न भोलि चाँडै नै मिल्न सक्ला । तर उहाँलाई भुत्ते बनाइएको छ । राज्य कोषबाट मासिक तलब–भत्ता बुझ्नेबाहेक सबै नागरिक पीडित र दुःखी छन् । केपीजस्ता नेतालाई समेत दिग्भ्रमित बनाइएको छ । केपीमा केही गर्ने क्षमता र अठोट अहिले पनि छ, तर गलत प्रवृत्ति र पात्रको घेराबन्दीले उहाँको क्षमता सदुपयोग गर्न दिइरहेको छैन । प्रधानमन्त्रीको वरिपरि रहेकाहरूमध्ये बालुवाटारभित्र प्रधानमन्त्रीको भलो चाहने असली हितैषीचाहिँ राजेश बज्राचार्य मात्र भएको महसूस मैले गरेको छु । तर उनीभन्दा अरूहरू नै हावी भएको पाउँछु । गलत घेराबाट मुक्त हुन सक्नुभएमा बाँकी तीन वर्षको कार्यकाललाई उच्चतम सदुपयोग गर्न उहाँ सफल हुनुहुनेछ ।

० आर्थिक दृष्टिले नेपाल पछिल्लो समयमा निकै माथि उठ्दै गरेको दाबी वर्तमान अर्थमन्त्रीबाट भइरहेको छ, तपाईं यसमा सहमत हुनुहुन्छ ?
– म पटक्कै सहमत छैन । बाहिर छरिएर रहेको कुरा एउटा भाँडोमा सङ्कलन गरेर प्रगति भएको देखाउनु एउटा कुरा हो । न बाह्य र आन्तरिक लगानी बढेको छ, न लगानीमैत्री वातावरण नै छ । मानिसमा काम गर्ने उत्साह र वातावरण छैन । उत्पादन ह्रासोन्मुख छ । कागजमा के–के भयो म जान्दिनँ, यहाँ समाजमा र जनजीवनमा देखिने कुनै पनि प्रगति छैन । जनतामा छ त निराशा छ । सिंहदरबारभित्र बस्नेहरूको आर्थिक वृद्धि होला, अरूको छैन ।

० नेपालमा उद्यमी–व्यवसायीहरूका निम्ति यो समय कत्तिको अनुकूल हो ?
– उद्यमी–व्यवसायीका निम्ति सबैभन्दा कष्टकर समय यो हो । माओवादीको हिंसाकालमा पनि उद्यमी–व्यवसायीले यति ठूलो प्रताडना व्यहोर्नुपरेको थिएन । मैले भनेको कुरालाई मात्र आधार नबनाउनुहोस्, यो देशमा काम गरिखान खोज्ने हरेकलाई सोध्नुहोस्, मलाई लाग्छ यो समयमा राम्रो कसैले पनि भन्ने छैन ।

० त्यसो भए उद्यमी–व्यवसायीहरूले अहिले भोग्नुपरिरहेको समस्या के–के हुन् त ?
– उद्यमी–व्यवसायी भन्नेबित्तिकै तिनको सम्बन्ध बैंक तथा वित्तीय संस्था, ब्याज, बजार र करसँग जोडिएको हुन्छ । यी सबै पक्ष प्रतिकूल छ अहिले । यस्तै अवस्था रहिरहने हो भने निजी क्षेत्र धराशायी हुन्छ । निजी क्षेत्र धराशायी हुनु भनेको अर्थतन्त्र ध्वस्त हुनु हो र अर्थतन्त्र ध्वस्त भएपछि राष्ट्र पूर्ण रूपले असफल हुनेछ । बैंकहरूबाट ऋण लिने प्रक्रिया जटिल बनाइएको छ र क्षमतामा पनि ह्रास आएको छ । करको दर र दायरा बढाइएको छ । उपभोक्ताको क्रयशक्ति क्षय हुँदै गएको छ । त्यसैले अहिले कुनै पनि उद्यमी–व्यवसायीले सर्वत्र समस्याबाहेक अरू केही भोग्नुपरेकै छैन ।

० के अर्थमन्त्री युवराज खतिवडाकै नीति–निर्णयका कारण देश अधोगतिमा गएको हो त ?
– मान्छेलाई काम गर्ने वातावरण नभएकोचाहिँ उहाँकै कारणले हो भन्ने मलाई लाग्छ । उहाँको इमानदारी र लगनशीलतामा कतै शङ्का छैन । तर, बिरुवा लगाउने, हुर्काउने, बढाउने र फल लगाउनेपट्टि उहाँको ध्यान ठ्याम्मै पुगिरहेको छैन । फल लागिसकेको रूखबाट टिपनटापन गर्ने काममा उहाँ सफल, बिरुवा लगाउनेदेखि फल लाग्ने अवस्थासम्म पुऱ्याउनेतिर उहाँको दृष्टि पुगेको छैन र त्यतातिर उहाँको रुचि भएजस्तो पनि लाग्दैन ।

० यस्ता व्यक्तिलाई अर्थमन्त्री बनाइराख्नुपर्ने कारणचाहिँ के होला, अनुमान गर्न सक्नुहुन्छ ?
– म एउटा किसान/गोठालोले त्यति ठूलो विषयमा धारणा प्रकट गर्नु उचित होइन । तर, युवराज खतिवडाजी जुन लगन र योजनाका साथ लागिपर्नुभएको छ त्यसले देशको उन्नति–प्रगतिमा अवरोध पैदा गरेको छ । राजनीतिक नेतृत्वले परिणाम र उद्देश्यमाथि विचार गर्न सक्नुपर्छ । केपी ओलीजस्ता नेतासमेत गुमराहमा पर्नु देशको भविष्यका निम्ति सुखद होइन ।

० नेपालमा लगानीमैत्री वातावरण बनाउन के गर्नुपर्ला ?
– जसले जे काम गर्न चाहेको छ त्यो काम गर्ने सहज वातावरण बनाउनुपऱ्यो । लगानीकर्तालाई प्रक्रियागत झन्झटबाट मुक्त गर्नुपऱ्यो । यही प्रकारको झन्झट जीवित राखेर केही गर्न सकिँदैन । राज्यले कानुनी र प्रशासनिक वातावरण बनाउन सकेको छैन । लगानीकर्ता र व्यवसायीहरूलाई निरुत्साहित गर्ने काम यहाँ भइरहेको छ । आज कोही पनि मानिस कुनै व्यवसाय गर्न नचाहने र गरेकाहरू छोडेर भाग्ने स्थितिमा पुगेका छन् । उद्योगहरू धमाधम बन्द हुँदै छन् । त्यसो हुनुको मूल कारण अहिले अवलम्बन गरिएको अर्थनीति र मन्त्रीको कार्य–व्यवहार नै हो । व्यवसायीसँग पाता कसेर कर उठाउनुलाई नै सफलता ठान्ने, कमाउने वातावरण बनाउन नसक्ने मान्छे नीति–निर्माण तहमा रहेसम्म केही हुने म देख्दिनँ ।