अमेरिकी दूतावास र नेपाल सरकार

अमेरिकी दूतावास र नेपाल सरकार


■ प्राडा दुर्गा दाहाल

म अमेरिकी नागरिक पनि हुँ, तर मन सधैँ नेपाली नै छ । अमेरिकी नागरिक र नेपाली मन भएका हैसियतले चित्त नबुझेको कुरा लेख्ने जमर्को गरेको हुँ ।

नेपाल नेतृत्वहीन देश हो भन्दा मलाई पनि दुःख लाग्छ, तर यथार्थ हो यो मेरो भनाइ ।

उतिखेर आसामको विश्वविद्यालयमा पढ्दा मेरो एउटा असमिया साथीले ‘नेपाल तस्करहरू, लुटेराहरू गएर बस्ने देश हो’ भन्दा मलाई नमिठो महसुस भएको थियो, तर मलाई आज त्यो साथीले सत्य कुराको उद्घाटन गरेको रहेछ भन्ने महसुस भइरहेको छ ।

नेपाल एउटा सुन्दर देश भए तापनि असल नेतृत्वको कमीले गर्दा काकाकुलको जीवन बाँचिरहेको स्थिति विद्यमान छ । हरेक दिन नेपाली बिदेसिन पाए हुन्थ्यो भन्ने मनस्थितिमा छन् र विभिन्न देशका दूतावासमा आफ्नो निवेदन दर्ता गराउँछन् । तर, दुर्भाग्यवश नेपालीहरूले अमेरिकाको प्रवेशाज्ञा सहजै पाउँदैनन्, किनभने दरिद्र देशका नेपाल नागरिक निरीह छन् । नेपालीका पक्षमा नेपाल सरकार नै बोल्ने क्षमता राख्दैन ।

हरेक दिन अमेरिकी दूतावासले नेपाली नागरिकहरूबाट ठूलो रकम असुल्ने गर्छ र आफ्नो पञ्जामा लिने गर्छ, तर भिजा दिँदैन ।

किन भिजा दिएन भन्ने कुराको कुनै कारण नखुलाई एउटा कागज, एउटै किसिमको व्यहोरा भएको, सबैलाई थमाइदिने गर्छ । भिजा दिने अथवा नदिने उसको तजबिजको कुरा हो, तर कारण खुलाएर कागज दिए आवेदकलाई ढुक्क हुने थियो, तर यथार्थमा त्यसो हुँदैन । अतएव, झिनो आशा बोकेर त्यही आवेदकले दोस्रो अथवा तेस्रोपटक आवेदन दिन्छ, तर अधिकांशलाई हात लाग्छ शून्य । तसर्थ, यो अमेरिकाको ‘दादागिरी’ हो । यसको शीघ्रातिशीघ्र अन्त्य हुनुपर्छ ।

आवेदकले बुझ्न पाउनुपर्छ कि उसको निवेदन किन अस्वीकृत भयो । ‘हाम्रो अध्यागमन नीतिले (Our immigration policy denies you) यहाँलाई प्रवेशाज्ञा (Visa) दिएन भनेर उम्किन पाउनुहुन्न अमेरिकी दूतावासले । हामी हरेक देशको अध्यागमन नीतिको सम्मान गर्छौँ, तर कानूनसम्मत र व्यावहारिक हुनु आवश्यक छ ।

लाछी नेपाल सरकार

नेपाल सरकार लाछीहरूको सङ्गठन हो भन्दा अत्युक्ति नहोला । नेपालका कुनै पनि सरकारहरू जनताप्रति कहिल्यै संवेदनशील भएनन् । जो जहिले जसरी पनि नेपाल आएर नेपाल र नेपाली जनतालाई चुसे पनि यो लाछी सरकारलाई आपत्ति छैन ।

अतः यहाँको लोकप्रिय पत्रिकामार्फत यो विषयप्रति अमेरिकी दूतावास, नेपाल सरकार र निर्दोष नेपाली जनताको ध्यानाकर्षण गराउन चाहन्छु । यो अत्यन्त संवेदनशील विषय पनि हो ।