उद्यमशीलताका लागि नगरपालिका र नेपाल बैंकबीच सम्झौता

उद्यमशीलताका लागि नगरपालिका र नेपाल बैंकबीच सम्झौता


नेपाल बैंक लिमिटेड र नीलकण्ठ नगरपालिका (धादिङ)बीच मेयर विकास उद्यमशीलता कार्यक्रमअन्तर्गत ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाहसम्बन्धी सम्झौता गरिएको छ ।

नगरपालिकाका तर्फबाट प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकका तर्फबाट नेपाल बैंक वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बताइएअनुसार सम्झौता लागू भएपछि यस वर्ष २ सय ८० जनाले लाभ लिनेछन् । लाभ लिनेलाई नगरपालिकाले तालीमसमेत दिइसकेको जनाएको छ ।

यो सम्झौता लागू भएपछि उद्यमीलाई नगरपालिकाको सिफारिसमा कर्जा प्रवाह गरिनेछ भने ब्याजमा अनुदान पाउनेछन् । असल ऋणीमध्ये महिलालाई ६ र पुरुषलाई पाँच प्रतिशत ब्याजमा छुट दिने गरी सम्झौता भएको हो ।

सम्झौता तथा घोषणासभामा नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारी र नगरपालिकाका प्रमुख ढुङ्गानाले उद्यमीले फाइदा लिने बताए । अनुदान दिइने कर्जामा सेवा शुल्क नलिने बैंकले जनाएको छ । नगरपालिकाले एक उद्यमशीलता कोष स्थापना गरेर कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

यसरी विनाधितो ऋण लिएका उद्यमीले ऋण नतिरेमा त्यस्ता उद्यमीलाई कालोसूचीमा राखिने र नगरपालिकाको सेवा उपलब्ध नगराउने प्रावधान राखिएको छ । यो योजना दुई वर्षका लागि सञ्चालन हुने बताइएको छ ।